विश्वव्यापीकरणको तीव्रताका कारण विश्व नै एउटा गाउँ सरह भएको छ । अझ सूचना प्रविधिको विकासले भूगोललाई एकीकृत गर्न सहज बनाएको छ । विश्वमा भएको विकासले विश्वलाई एकीकृत गरे जस्तै समय–समयमा भएका सीमा सम्बन्धी नयाँ व्यवस्थाले एउटा देशबाट अर्को देशमा जाने–आउने अवसर र सुविधा प्राप्त भयो । पहिला–पहिला नेपालीको गन्तव्य खुल्ला सीमाना भएको भारत, तिब्बत र चीनसँग हुने गरेको थियो । तर पछिल्लो चरणमा भएको सूचना, प्रविधि र सम्बन्धको विकास र सहजताले भूगोलको एउटा कुनाबाट अर्को कुनामा जान, बस्न र घुमफिर गर्न सहज बनाइदिएको छ । त्यसमाथि शिक्षा व्यवस्थामा भएको परिवर्तन र विकासले एक–अर्काको भाषा बुझ्न, लेख्न र पढ्न पनि सहज भएपछि विश्व एकीकृत गाउँ बन्न पुगेको छ ।
पछिल्लो कालमा नेपालीहरुमा पढ्नका लागि विदेश जाने प्रवृत्ति बढेको छ । स्वदेशमा पढ्नुको साटो विदेश नै जानुपर्ने प्रमुख कारण नेपालको शिक्षा नीतिले ल्याएको शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन् । नेपालको शिक्षा नीति समय र माग सापेक्ष नभएको, पाठ्यक्रम, मूल्याङ्कन प्रणालीदेखि नतिजा प्रकाशन लगायतका विषय यति पट्यारलाग्दो छ कि नेपालमा पढ्नु उमेर, क्षमता र समय बिताउनु मात्रै हो भन्ने मानसिकता बलियो हुँदै गएको छ । जसका कारण माध्यमिक तहको पढाइ पूरा नगर्दै नेपाली विद्यार्थीहरु त्यसपछिको गन्तव्यका बारेमा चिन्ता गर्न थाल्छन् । विदेशमा ‘कमाउँदै–पढ्दै र पढ्दै–कमाउँदै’ गर्न पाइने शिक्षा प्रणाली छ भने हामीकहाँ पढ्ने र पढ्ने पद्धति छ । त्यसैले बर्सेनि लाखौं विद्यार्थी अनुमति लिएरै विदेशिएका हुन सक्छन् ।
नेपाली विद्यार्थीहरुको विदेशप्रतिको मोहका पछि त्यहाँ उपलब्ध हुने रोजगारका अवसर पनि सहायक छ । त्यहाँको सामाजिक तथा आर्थिक संरचना, खुला समाज र सेवासुविधाको पहुँच जस्ता आकर्षण पनि नेपाली विद्यार्थी बाहिरिने कारण हुन सक्छन् । सरकारबाट अनुमति पत्र लिएर जाने लाखौं विद्यार्थीहरुलाई अध्ययन पूरा गरेपछि स्वदेश फिर्ती गराउने सरकारको न कार्यक्रम छ न त योजना नै । जसले गर्दा पढ्न गएका युवाहरुले बर्सेनि एक अर्बभन्दा बढी रुपैयाँ बाहिरिने गरेको छ । पढ्ने उद्देश्यले विदेश गएका युवा विद्यार्थी अध्ययन पूरा गरेपछि नेपालमा काम नपाइने कारणले त्यसैलाई लक्ष्य बनाउन बाध्य छन् । हाम्रा राजनीतिक दलहरु खासगरी चार दशकदेखि सत्ताको ‘संगीतमय कुर्सी’मा यसरी भुलिएका छन् कि उनीहरु सत्ता बाहेक केही देख्दैनन् । पैसा र सत्ताको मोहमा देशको भविष्यप्रति उदासीन दल र नेताहरुका कारण नेपाल वृद्धवृद्धाको देश हुने आंकलन गरिँदैछ । यस्तोमा आफ्नो र परिवारको भविष्य र सुरक्षाको चिन्ता गर्नेहरुले समय रहँदै लक्ष्य निर्धारण गर्नुपर्छ । सायद नेपाली विद्यार्थी त्यही गर्दैछन् जुन राष्ट्र, राष्ट्रियता, स्वाभिमान र स्वाधीनताको विपक्षमा छ । तर, अभिभावकविहीन नागरिकले यसो गर्नुको विकल्प पनि छैन ।