जनआन्दोलन ०६२/०६३ बाट गणतन्त्र घोषणा भएको दिन जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइन्छ । त्यही आन्दोलनको जगमा घोषणा भएको संघीयता अनुसार देशलाई सात वटा प्रदेशमा विभाजन गरी प्रादेशिक शासनको स्वरुपमा शासन व्यवस्था सञ्चालन गरिएको छ । जनताद्वारा चुनिएका प्रतिनिधिले राष्ट्र प्रमुख भएर सञ्चालन गर्नुपर्ने यो व्यवस्था अनुसार देशमा राष्ट्रपति प्रमुख भएर शासन सञ्चालन हुन थालेको पनि करिब दुई दशक भइसकेको छ । यद्यपि हामी कहाँ राष्ट्रपति जनताद्वारा प्रत्यक्ष निर्वाचित नभई दलका प्रतिनिधि हुने व्यवस्था छ, तर पनि यसैलाई ठूलो बलिदानबाट प्राप्त उपलब्धीका रुमपा लिइन्छ ।

नेपालको संविधान अनुसार आजको दिन देशकै ठूलो उत्सव हो । त्यसैले राजधानी लगायत सबै प्रदेश र स्थानीय तहसम्म विविध कार्यक्रमका साथ यो दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन यसकारण पनि महŒवपूर्ण छ कि यसमा निरंकुशताको गन्ध हुँदैन । पहिलो संविधान सभाबाट वि.सं. २०६५ जेठ १५ गते परम्परागत राजतन्त्रको अन्त्य गरेको दिनको स्मरणमा यो दिवस मनाउन थालियो । त्यसो त संविधानको परिभाषा अनुसार शासन व्यवस्था सञ्चालन नभएको भन्दै गणतन्त्रका बिरुद्ध आवाज पनि प्रखर हुन थालेको छ । यतिका वर्ष बितिसक्दा पनि मूलधारका भनिएका दलहरुले स्थिर शासन सञ्चालन गर्न सकेका छैनन् । उनीहरुको सत्ता स्वार्थ र लिप्साका कारण जनअपेक्षा अनुसार शासन सञ्चालन हुन सकेन । जसका कारण जनता निराश मात्र होइन आक्रोशित हुन थालेका छन् ।
गणतन्त्र दिवसकै मुखमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशक दिएका छन् । संविधान प्रदत्त अधिकार प्रयोग गर्ने बन्देज गर्ने र व्यवस्थाको बिरुद्धका राजसंस्था पक्षधर दलहरुलाई मुठभेड निम्याउने गरी दिएको अभिव्यक्ति यसबेला विवादको उत्कर्षमा छ । गणतन्त्र घोषणापछि देशको कायापलट हुन्छ भन्ने आशा निराशामा परिणत भएका बेला र सत्ता र सरकारको पहुँच हुनेहरुको बोलाबाल भइरहेका बेला प्रधानमन्त्रीको अभिव्यक्तिले आगोमा घ्यू थपेको छ । सत्तामा रहेकै दलका नेताले अझ ठूलो दल कांग्रेसले समेत आपत्तिजनक भनेको अभिव्यक्तिलाई मानवअधिकार आयोगले पनि मर्यादा विपरीत भनेको छ । यस्तो बेला आजको गणतन्त्र दिवसले सबै नेपालीलाई स्वदेशमा रहेर विद्यमान समस्याको समाधान गर्ने वातावरण बनाओस् । भ्रष्टाचारले आक्रान्त देशलाई सुशासनको मार्गमा डो¥याओस् । जनताका इच्छा, आवश्यकता र अपेक्षा पूरा गर्ने आधार तयार गरोस् । कसैको कुनै क्षति नहोस्, सबैको श्रीवृद्धि होस्, संयम, धैर्य, सहनशील, नैतिक रहन सरकारलाई प्रेरणा प्राप्त होस् । शुभकामना ।


























