पार्थ मण्डल
झापा ।
संघीयता पश्चात् संघीय सरकारबाट प्रदेश सरकारको मातहत ल्याएर खुम्चाइएको साबिक मेची अञ्चलकै सबैभन्दा ठूलो सरकारी अस्पतालको सेवा सुविधा दिनप्रतिदिन खस्किँदै गइरहेको छ ।
साबिक मेची अस्पतालबाट प्रादेशिक अस्पताल भद्रपुर नामकरण गरिएको अस्पतालमा चिकित्सकसहितको आवश्यक जनशक्ति तथा अन्य भौतिक संरचनाको अभावले नाम अनुसारको स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ उत्पन्न भएको भन्दै अस्पताल प्रशासनले कोशी सरकार, भौतिक विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको ध्यानाकर्षण गराएको छ ।
अस्पतालको निरीक्षण तथा अनुगमनमा आएका स्वास्थ्य मन्त्री राईलाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले अस्पतालको वर्तमान अवस्था र भविष्यमा सुधार गर्नुपर्ने विषयवस्तुहरूको बारेमा जानकारी गराउँदै विभिन्न मागसहितको ज्ञापन–पत्र बुझाएका छन् ।
तत्कालीन अञ्चलाधीश छिरिङ्ग लामाको पहलमा वि.सं. २०१५ सालमा १५ शय्याको अस्पताल स्थापना भई विभिन्न चरणमा स्तरोन्नति हुँदै हाल प्रादेशिक अस्पतालको रुपमा परिणत भई अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको व्यवस्थापन समेतमा हाल एक सय २६ शय्याको अस्पताल सञ्चालन भइरहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काले बताए ।
२०७९ असोज ६ गतेबाट प्रादेशिक अस्पतालको रुपमा २०० शय्यामा स्तरोन्नति भए पनि पुरानै ५० शय्याको स्वीकृतिमा १०३ जनाको कर्मचारी दरबन्दी रहेको छ । जसमा २१ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ, जसमा ११ दरबन्दी रिक्त छ ।
कूल दरबन्दी १०३मा विभिन्न पदमा ५८ जना कर्मचारीको पद रिक्त रहेको छ । ५० बेडको दरबन्दी स्वीकृत भए पनि हाल १२६ बेड सञ्चालन भइरहेको छ । हाल छात्रवृत्ति करार सेवामा कार्यरत ६ जना विशेषज्ञ चिकित्सक, ५ जना मेडिकल अधिकृत र सञ्चालक समितिबाट करार सेवामा १० जना मेडिकल अधिकृत नियुक्त गरी सेवा दिइरहेको अवस्था छ ।
छात्रवृत्ति करार सेवामा चिकित्सकको अवधि २ वर्ष हुने र उनीहरूको अवधि समाप्त भए पछि सो सेवा बन्द हुने स्थिति रहेको डा. खड्काको भनाइ छ । समितिको आम्दानीले समितितर्फका १२९ जना कर्मचारीको तलब तथा अन्य खर्च धान्न धौ–धौ परिरहेको बताउँदै डा. खड्काले भने– ‘स्वास्थ्य बिमा कार्यक्रमको कारण दैनिक औसत ५०० जना बिरामी उपचारका लागि आउने र चिकित्सक कमी भई उपचारमा समस्या परिरहेको छ ।’
साबिकको अस्पताल भवन पुरानो भइ जीर्ण बनेको छ । नयाँ भवन निर्माण भए पनि पर्याप्त छैन । सञ्चालनमा आएको नयाँ भवनमा तला थप गर्नुपर्ने देखिन्छ । जसको लागि प्रदेश सरकारमार्फत संघीय मन्त्रालयमा पहल गर्नुपर्ने उनको भनाइ छ ।
अस्पतालमा भवनसहित अन्य विभिन्न संरचनाहरू निर्माण गर्नुपर्ने अवस्था छ । फार्मेसी भवन (फार्मेसी काउन्टर तथा औषधि बिक्री कक्ष एउटै स्थानबाट सञ्चालन हुन सकिरहेको छैन । चार कोठे पोस्टमार्टम घर, चमेना गृह र चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मीहरूको लागि आवास गृह निर्माण गर्नुपर्ने उनले बताए । साथै स्वास्थ्य उपकरणहरूमा पाँच थान हेमोडायलासिस मेसिन, एउटा ब्लड कल्चर सिस्टम, एउटा अटोक्लेभ मेसिन, एउटा इको मेसिन र एउटा इण्डोस्कोपी मेसिन तत्काल आवश्यक देखिएको उनले बताए ।
दरबन्दी अनुसारको सबै विशेषज्ञ चिकित्सक (प्याथोलोजिष्ट सेवा) नहुँदा पनि सेवामा कठिनाइ भइरहेको बताउँदै उनले भने– ‘अस्पताल आउने मुख्य सडक साँघुरो तथा जीर्ण भएको कारणले स्तरोन्नति गरी फराकिलो सडक निर्माण गर्नुपर्ने आवश्यकता छ ।’
यता अस्पतालको मागसहितको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले प्रादेशिक अस्पतालका लागि प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम तत्काल पूरा गर्ने आश्वासन दिए । अस्पतालको अनुगमनमा पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, स्वास्थ्य सचिव राधिका थपलिया, भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।