विर्तामोड ।

विसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८१ वरिष्ठ संगीतकार रञ्जित गजमेर र शिक्षा तथा समाजसेवी जयनारायण ढुंङा्नालाई प्रदान गरिने भएको छ ।
बिर्तामोडको सिटी सेन्टरमा आगामी जेठ ३१ गते एक कार्यक्रम गरी सम्मान गर्न लागिएको आयोजक गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष वीरु दर्नालले जानकारी दिए । गोरखाका राजा पृथ्वीनारायण शाहलाई नेपाल एकिकरण गर्न आर्थिक अभाव भएसँगै युद्द कला र हातहतियार खरिद गर्न आवश्यक सल्लाह दिएर पृथ्वीनारायण शाहको सारथी बन्न सफल उनै ऐतिहासिक ब्यक्तित्वको नाममा स्थापित विसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८० देखि प्रदान गर्न थालिएको अध्यक्ष दर्नालले बताए । यो दोस्रो कार्यक्रम भइको र यसलाई हरेक वर्ष निरन्तरता दिने उनको भनाई छ ।
दलित समुदायका अग्रज प्रेरणाका स्रोत विसे नगर्चीको राष्ट्र निर्माणमा भएको योगदानलाई चीरस्मरण गर्दै वर्तमान युवा पुस्तासम्म पुर्याउन यस्तो कार्यक्रमको परिकल्पना गरिएको फाउण्डेशनाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोशन नेपालीले बताए । समाजमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका ब्यक्तित्वलाई यो सम्मान प्रदान गरिने गरेको संयोजक नेपालीले जानकारी दिए ।
विभिन्न क्षेत्रका एकदेखि ५ जनासम्म विशिष्ट ब्यक्तित्वलाई सम्मान गरिदा एक जना झापाबाटै हुनु पर्ने फाउण्डेशनको अवधारणा भएकोले यस पटक एक जना बाहिर र एक जना झापाबाट छनौट गरिएको महासचिव सुवास तिखत्रीले बताए ।
नेपाली चलचित्र बाँसुरी, कुसुमे रुमाल, लाहुरे, चिनो, दर्पण छायाँलगायत दर्जनौं चलचित्रमा कालजयी संगीत भरेर वरिष्ठ संगीतकार रञ्जित गजमेर नेपाली समाजमा लोकप्रिय छ्न् । दार्जिलिङ निवासी गजमेरले सन् १९७० को दशकमा रेडियो नेपाल काम गर्दै गर्दा भारतीय चलचित्र उधोगमा प्रवेश पाएका थिए । नेपाली मादललाई बलिउडमा उनै गजमेरले पहिलो पटक परिचित गराउँदै स्थापितसमेत गराए । वलिउडका चर्चित संगीतकार आरडी वर्मन (पन्चम दा) को विश्वास पात्र बनेर उनको मृत्युपर्यन्त साथ दिएका थिए ।
यता शिक्षा क्षेत्रमा जयनारायण ढुंङानाले ठूलो योगदान दिएका छन् । नर्सरीदेखि स्नाकोत्तर तहसम्मको पढाई सञ्चालन गर्ने झापा तथा तत्कालिन मेची अञ्चल मात्रै नभएर नेपालकै पहिलो कलेज कनकाई क्याम्पस बिर्तामोडका संस्थापक हुन् ढुंगाना । उनले मन्दिर, पूल, बाटो, आर्यघाट तथा आराम गृह लगायत निर्माण गरेर झापा तथा इलामको शान्तिपुरमा सामाजिक काम गरेका छन् ।































