अभिव्यक्ति स्वतन्त्रता बिनापूर्वाग्रह, बिनाप्रतिबन्ध, सूचना प्राप्त गर्ने, व्याख्या–विश्लेषण गर्ने र सम्प्रेषण वा वितरण गर्ने अधिकार हो । नेपालको संविधानले यसलाई मानव अधिकारभित्र पर्ने नैसर्गिक अधिकार सरह स्वीकार गरेको पनि छ । जन्मजात अधिकारमा रुपमा हेरिने अभिव्यक्ति स्वतन्त्रतालाई हाम्रो देश र प्रचलित संविधानमा प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको मान्यतालाई आत्मसात गरिएको छ । आजको युगलाई सूचनाको युग भनिन्छ । त्यसैले सूचना र प्राविधिले ल्याएको परिवर्तनलाई आत्मसात गरेर अघि बढ्न आवश्यक छ । आज नेपालीको समेत हात–हातमा पुगेको सूचनाको पहुँच र त्यसमार्फत विकसित सामाजिक सञ्जाल हाम्रो जीवनशैली र पद्धतिसँग अन्योन्याश्रित भइसकेको छ ।
यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवाका छोराको सन्दर्भको सामग्री प्रशारण गरेको आरोपमा पत्रकार दिलभुषण पाठकमाथि पक्राउ पुर्जी जारी भएको छ । पाठकमाथि साइबर कानून (विद्युतीय कारोबार ऐनको दफा–४७) लगाएर पक्राउ गर्न खोजिएको छ । यसअघि न्यायाधीशका विषयमा आएको एउटा समाचारलाई लिएर सिधाकुरा डटकमका दुई जना पत्रकारमाथि मुद्दा लाग्यो । पेन डटकम, नेपाल खबर र विजमाण्डूलाई लागेको मुद्दापछि पाठक पक्राउ पुर्जीको विषयले अहिले सामाजिक सञ्जाल र सिंगो मिडिया क्षेत्र तरंगित बनेको छ । नेपाली कांग्रेसबाट निर्वाचित सांसद डा. सुनिलकुमार शर्माले पत्रकार पक्राउ पुर्जीलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन् । उनले सत्तासँग प्रश्न गर्ने, खोजमूलक पत्रकारिता गरेर सत्य उद्घाटन गर्ने काम अपराध होइन भन्दै यसलाई गम्भीर हमला भनेका छन् ।
पत्रकार पाठकविरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन सत्तारुढ एमाले र कांग्रेस निकट पत्रकारहरुका संगठनले पनि माग गरेका छन् । एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस घटनाले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित तुल्याएको भन्दै उनीहरुले त्रुटि सच्याउन र स्वतन्त्र प्रेसको मूल्य, मान्यतालाई आत्मसात गर्न सबै पक्षलाई आग्रह समेत गरेको छ । समाचारमा चित्त नबुझे प्रेस काउन्सिल जानुपर्ने कानूनी व्यवस्था पन्छाएर मुद्दा चलाउने कार्य आपत्तिजनक छ । यसले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई कुठाराघात गर्छ । यस्तो उल्टो हिँडाइले न विधिको शासन स्थापित हुन्छ न त कठिन संघर्षबाट प्राप्त मौलिक हकको रक्षा हुन्छ ।