रत्नबहादुर बस्नेत,
बिर्तामोड ।
कवि देशु वनेमको कृति ‘सम्बोधन नेप्टीलाई’ विमोचन गरिएको छ।
किरात मुन्धुम प्रतिष्ठान तथा यलम्बर टाइम्सद्वारा आयोजनामा बिर्तामोडमा एक कार्यक्रमका विच साहित्यकारहरु केशव आचार्य, पुण्यप्रसाद खरेल, लीला अनमोल, कुमार भट्टराई, शिवशंकर थापा, मुनाराज सेर्मालगायतले देशु वनेमको कृति खण्डकाव्य ‘सम्बोधन नेप्टीलाई’ विमोचन गरेका थिए।
लामो समयदेखि शिक्षण पेशासँगै साहित्य सिर्जना गर्दै आएका कृतिकारको हालै शिक्षण पेशाबाट निवृत भएपछि प्रकाशित यो पाँचौं कृति हो। यसअघि उनका एक उपन्यास ‘अशान्ति’ र तीन वटा कविता संग्रहहरु ‘उज्यालोतिर’, ‘देशुका दु:खाइहरु’ र ‘फेरि अर्को एकलव्यको अवसान’ प्रकाशित भइसकेका छन्।
किरात मुन्धुम प्रतिष्ठानका अध्यक्ष प्राज्ञ मुनाराज सेर्माको अध्यक्षता तथा आख्यानकार कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभागी थेगुवाले स्वागत गरेका थिए।
लेखकको कृतित्व र व्यक्तिको बारेमा साहित्यकार केशव आचार्य, पुण्यप्रसाद खरेल र लीला अनमोलले प्रकाश पारेका थिए। वक्ताहरुले मुख्यरुपमा नेपाली समाजमा व्याप्त आर्थिक,सामाजिक, राजनीतिक विसंगतिलाई काव्यका रुपमा अभिव्यक्त गरिएको र हराउँदै गएको शब्दावली, उत्कृष्ट शिल्प,शैलीको प्रयोगले कृति मार्मिक तथा पठनीय रहेको बताएका छन्।
आख्यानकार कुमार भट्टराई, कवि कृष्ण बराल, गीतकार शिवशंकर थापालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा श्रष्टाहरु भवानी क्षेत्री, जय आचार्य, नेहाङ किराती, विराट किरातीलगायतले कवि वनेमका कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन सामसुहाङ पन्धाकले गरेका थिए।