शिवसताक्षीमा एकीकृत पाठ्यक्रम प्रवोधिकरण तथा कस्टमाइज्ड तालिम

0
154

शिवसताक्षी।

झापाको शिवसताक्षी नगरपालिकामा एकीकृत पाठ्यक्रम प्रवोधिकरण तथा कस्टमाइज्ड तालिम कार्यशाला सुरु भएको छ। नगरका प्राथमिक तहका नेपाली, अङ्ग्रेजी, गणित तथा सेरोफेरो विषय अध्यापन गर्ने करिब ३५ जना शिक्षक तालिममा सहभागी छन्।

एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म र त्यसपछिका कक्षा ४ र ५ मा नेपाली विषय पढाउने शिक्षकसमेत तालिममा सहभागी छन्। एकीकृत वा परिमार्जित पाठ्यक्रममा कसरी प्रभावकारी ढंगले अध्यापन गरिने भन्ने विषयमा विषयगत विज्ञ शिक्षक कमल भट्टराईले सहजीकरण गरिरहेका छन्।

शिक्षकलाई प्रवोधिकरण तालिम प्रदान गर्नुको उद्देश्य भनेको पाठ्यक्रम बुझेअनुसार सिकाइ रणनीति अपनाउन सक्ने, कक्षामा नविनतम शिक्षण विधि प्रयोग गर्न सक्ने र विद्यार्थीमा जिज्ञासा र सिर्जनशीलता बढाउन सक्ने क्षमता विकास गर्नु हो। प्रवोधिकरण तालिमबाट शिक्षकहरू समय सापेक्ष, दक्ष र प्रयोगात्मक शिक्षणमा निपुण हुने अपेक्षा राखिएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखा, शिवसताक्षी नगरको आयोजनामा सञ्चालित तालिम असार २ देखि ६ गतेसम्म सञ्चालन हुनेछ। तालिमको दोस्रो दिन मङ्गलबार अङ्ग्रेजी विषयका लागि टीका सुवेदी, सेरोफेरो (सामाजिक विषय) का लागि बद्री कार्की तथा गणितका लागि घनश्याम अधिकारीले सहजीकरण गर्ने कार्यक्रम रहेको शाखाका प्रमुख नगर शिक्षा अधिकारी छवि ढकालले जानकारी दिए।

कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा रोशनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। नगर प्रमुख थोप्राले विद्यालयको पूर्वाधार निर्माणदेखि लिएर शिक्षकलाई दक्ष बनाउन शिवशताक्षी नगरपालिकाले विभिन्न तालिमहरू प्रदान गर्दै आएको बताए ।

“शिक्षक आफैँ अब्बल भए मात्र विद्यार्थी पनि अब्बल हुन्छन्, त्यसैले पहिले आफैँ जिज्ञासु र दक्ष बन्नुहोस्, नगर प्रमुख थोप्राले भने । शिक्षा क्षेत्रको गुणस्तर सुधारमा पालिका कटिबद्ध रहेको उनले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here