मृगौला फेल भएका चौधरीद्वारा आर्थिक सहयोगको अपिल

0
58

घर बनाउँदा लिएको सहकारीको ऋण, छोरीछोरीको लागि गुणस्तरिय शिक्षा र परिवारको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले दुई वर्ष अघि वैदेशिक रोजगारीमा दुबई पुगेका झापा अर्जुनधारा नगरपालिका–८ निवासी रामेश्वर चौधरी(४१) आफै पीडामा छन् ।

दुबईको सरकारी अस्पतालबाट आफ्नो दुवै मृगौला फेल भएको जानकारी पाएपछि रोजगारदाता कम्पनीले गत जेठमा नै घर फिर्ता पठाएको उनलाई सहकारीको ऋण, वैदेशिक रोजगारीमा जाँदा लिएको ऋण, छोराछोरीको शिक्षा र परिवार सञ्चालन गर्न दैनिकरुपमा आवश्यक कुराले पिरोल्ने गरेको छ ।

सम्पत्तीको नाममा अर्जुनधारा नगरपालिका–८मा १० धुर जमिनमा एक तले घर भए पनि परिवारको मुख्य खम्बाको रुपमा रहेको उनी थलिएपछि उनको परिवार दैनिकरुपमा अभाव र पीडासँग संघर्ष गरिरहेको पाइन्छ । अचानक आफ्नो दुवै खुट्टा सुन्निएपछि गत मे ९ तारिखमा अस्पताल भर्ना भएको उनलाई मृगौला फेल भएको प्रमाणित हुने बित्तिकै कम्पनीले औषधी उपचार खर्च बिना घर पठाएको थियो ।

काठमाण्डौंस्थित अञ्जली ओभरसिज प्रा.लि.मार्फत् बिल्डिङ लेबरको रुपमा दुबई पुगेका उनलाई कम्पनीले कामदार करारनामामा उल्लेख भए अनुसारको तलब र अन्य सुविधा पनि नदिएको उनले गुनासो गरेका छन् । मेनपावर र कामदारबीचको करारनामामा न्यूनतम मासिक तलब आठ सय दिराम तोकिए पनि कम्पनीले उनलाई छ सय दिराम मात्र दिने गरेको र अन्य सुविधा भने नदिएको उनले बताएका छन् ।

दुई वर्षको करार अवधिमा दुबई पुगेपनि करारनामा अनुसारको तलब नपाएर पीडामा रहेको अवस्थामा करार अवधि सकेर घर फर्कने बेलामा स्वास्थ्यमा आएको खराबीले पीडा माथि पीडा थपेको उनले बताएका छन् । उनी भन्छन्–“न कम्पनीले राम्रो तलब दियो न स्वास्थ्यले साथ दियो ।”

श्रीमती, एक छोरी र एक छोरासहित चार जना सदस्य रहेको उनको परिवारको पालनपोषणको मुख्य जिम्मेवारी उनको काँधमा रहेको छ । घरआएपछि अर्जुनधारा–७स्थित शंकर अस्पताल, भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा थप उपचारको लागि पुगेका उनले हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा हप्तामा दुई पटक डाइलासिस गराउँदै आएका छन् ।

आफन्तले गरेको थोरै सहयोग, नेपाल सरकारको नियम अनुसार मृगौला फेल भएकालाई दिइने स्वास्थ्य उपचार भत्ताको लागि सिफारिससँगै वडा कार्यालयले प्रदान गरेको नगद सात हजार सहयोग बाहेक अन्य सहयोग आफूहरुले नपाएको उनकी श्रीमती रीता चौधरीले जानकारी दिइन् । मृगौला दिने दाता भेटिएको खण्डमा अनुमानित नौ लाख रुपैयाँ खर्च लाग्ने आफूलाई मेची प्रादेशिक अस्पतालका डाक्टरले बताएको उनले बताइन् ।

उनलाई आवश्यक आर्थिक सहयोगको लागि इच्छुक महानुभावले सम्पर्क नम्बर ९८०४०६९६७२ वा एनआईसी एसियाको खाता नं.२०४५७५३३५४११३००१मा सहयोग गर्न उनको परिवारले सबैसँग माग गरेका छन् ।

प्रस्तुतीः अमित खम्बू

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here