वैदेशिक रोजगारी र अन्य पेशा व्यवसायबाट अन्य देशबाट हुने आम्दानीलाई रेमिट्यान्स वा विप्रेषण भनिन्छ । यस अर्थमा अन्य देशमा काम गरेर आफ्नो देशमा पैसा पठाउनु र पठाइएको नगद अर्थात् विप्रेषण अहिले हाम्रो देशको अर्थतन्त्रको मूल आधार बनिएको छ । परदेश गएका अर्थात् आप्रवासीका रुपमा काम गर्ने र त्यसबाट आर्जित नगद वा वित्त घरमा रहेका परिवारलाई पठाउने प्रचलनले राष्ट्रिय आयको ठूलो हिस्सा ओगटेको छ । स्वदेशमा विद्यमान राजनीतिक अस्थिरता, अनिश्चय र वेरोजगारीका कारण नेपाली युवाहरु प्रत्येक दिन ठूलो संख्यामा विदेशिने गरेका छन् । जसका कारण विगत केही वर्षदेखि विप्रेषण तीव्र दरले बढेको छ ।

विश्वका हामी जस्ता विकासोन्मुख देशहरुका लागि विदेशी आम्दानीको सबैभन्दा ठूलो स्रोत बनेको छ– विप्रेषण । यही विप्रेषणले नेपालको कूल वैदेशिक मुद्रा आर्जनले सबैभन्दा ठूलो भाग ओगटेको छ । यसले समग्र भुक्तान सन्तुलनलाई देशको पक्षमा राख्न पनि मद्दत गरेको छ । यसले गरिबी निवारणमा त मद्दत गरेकै छ, त्यस बाहेक आमनेपालीको दैनिकीमा समेत सहज बनाएको छ र जीवन स्तरमा सुधार हुँदैछ । प्रतिदिन वैधबाटो प्रयोग गरी वैदेशिक रोजगारीमा जाने युवाको संख्या पच्चीस सयभन्दा बढी छ । अवैध बाटो प्रयोग गरी भारत लगायतका अन्य देशमा जानेहरु पनि उल्लेख्य संख्यामा छन् ।
रोजगारीका लागि भारत जाने नेपालीको संख्या पनि ठूलै छ । कुनै पूर्व स्वीकृति वा अनुमति पत्र लिनु नपर्ने भारतमा परापूर्वकालदेखि नै नेपालीहरु केही श्रम बजारमा त कतिपय व्यापारिक उद्देश्यले जाने गरेका थिए । आज पनि यो क्रम निरन्तर छ, तर केबल श्रम बजारमा जानेहरु बढी छन् । त्यसैगरी भारतबाट रोजगारीकै लागि नेपाल आउनेहरुले मात्रै नेपालबाट साठे तीन खर्ब विप्रेषण वापत लाने गरेको तथ्यांक छ । त्यसो त यहाँ श्रम तथा व्यवसायजन्य सुरक्षाको अनुमति लिएर बस्नेहरु पनि छन् । भारत समेत विश्वका चौहत्तर देशका नागरिकहरु निर्माण तथा व्यवसायजन्य कामका लागि बसेका छन् । त्यस बाहेक ठूलो संख्यामा विभिन्न पेशा र क्षेत्रको श्रम बजारमा क्रियाशील छन् । जसको तथ्यांक सरकारसँग पनि छैन ।
नेपालीको प्रमुख गन्तव्य रहेको खाडी देशहरु र मलेशियामा मात्रै पैंतीस लाखभन्दा बढी नेपाली छन् । त्यस बाहेक युद्धग्रस्त देशहरु रुस, युक्रेन, सिरिया जस्ता देशमा पनि जोखिम बोकेर काम गर्दैछन् । देशमा सरकारले रोजगारको अवसर नदिँदा परिवार पाल्नैका लागि विदेशिने युवाका कारण देशमा श्रमशक्तिको अभाव हुन्छ । बौद्धिक पलायन, आर्थिक परनिर्भरता, परिवार अव्यवस्थित तथा मानवीय मूल्य–मान्यता नष्ट हुने जस्ता समस्या देखिन्छन् । विप्रेषण आम्दानीको भरपर्दो स्रोत होइन, कुनै अवरोध सृजना भए रोजगारी गुम्छ र देशको अर्थतन्त्र नै धराशायी हुन्छ । अहिले नै भारतबाट आउनेभन्दा नेपालबाट जाने विप्रेषण बढी भएको तथ्यलाई दृष्टिगत गरी स्वदेशमै प्रविधिसहितको सिप विस्तार गरी रोजगारको वातावरण निर्माण गर्न राज्य लाग्नु पर्दछ । नत्र विप्रेषणको न्यानो घातक हुन जान्छ ।




























