भद्रपुर नाकाबाट पटाका भित्राउँदै तस्कर समूह, चार लाखको पटाका र झिलिमिली बत्ती बरामद

0
29

भद्रपुर ।

तिहार तथा छठ नजिकिएसँगै भद्रपुर नाकाबाट प्रतिबन्धित बारुदजन्य पटाका भित्रिन थालिसकेको छ ।

अन्य सरसामान भित्राउनु भन्दा १०० प्रतिशत कमिसन पाउने भन्दै तस्करहरूले अहिले धमाधम सीमा नाकाबाट पटाका भित्राइरहेको पाइएको छ ।

यसैक्रममा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले विशेष सूचनाको आधारमा गएराति ८ बजेको समयमा भद्रपुर- ५ स्थित राई बस्ती (सीमा पिलर ९९) नजिकैबाट भित्राइएको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तस्कर समूहले भित्राएको चार बोरामध्ये दुई बोरा पटाका र दुई बोरा झिलिमिली बत्ती गरी अन्दाजी चार लाख मूल्य बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पटाका नष्ट गरिने र झिलिमिली बत्ती भन्सार बुझाइने जनाइएको छ । तस्कर समूहहरूले भद्रपुरको घोडामारा, दोभान, देबीबस्ती, चाचा बगान, डाँगीवारि, मेचीपारिको झोलुङ्गे पुल आसपास, हिमाली, धिमलधुरा, किचकबध, बैसाबाडी लगायतका क्षेत्रबाट पटाका लगायतका सरसामानहरू भन्सार छलेर भित्राइरहेका छन् ।

जेनजी आन्दोलन पश्चात् सीमाका सुरक्षा निकायले तस्करी नियन्त्रणमा खासै चासो नदेखाउँदा पछिल्लो समयमा तस्करी मौलाउँदै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here