प्रकृति सापेक्ष हुन सिकौं

0
23

संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार हरेक वर्षको अक्टोबर १३ का दिन अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइन्छ । विपद् अर्थात् प्रकृतिजन्य विपद् विश्वको जुन कुनै भूगोल वा क्षेत्रमा आउन सक्ने घटना हो । बाढी, पहिरो, भूकम्प, आँधीबेहरीदेखि समय–समयमा देखिने महामारीले कतै न कतै मानवीय, आर्थिक वा भौतिक क्षति गराइरहेकै हुन्छ । अझ पृथ्वीकै सचेत प्राणी भनिएको मानव जातिकै अविवेकी क्रियाकलाप, प्राकृतिक सम्पदाको दोहन तथा त्यसले उत्पन्न गर्ने जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम बढेको छ ।

प्राकृतिक प्रकोपको जोखिमलाई दृष्टिगत गरी संयुक्त राष्ट्र संघको सन् १९८९ मा भएको साधारणसभाले प्राकृतिक विपत्तिबिरुद्ध पूर्व तयारी र जागरणका लागि यो दिवस मनाउने घोषणा गरेको हो । त्यही घोषणा अनुरुप आज विश्वभर प्राकृतिक विपद्का विषयमा प्रभावकारी ज्ञान, सिप र धारणा प्रवाहका निम्ति सचेतनामूलक विविध कार्यक्रम गरिन्छ । आममानिसमा प्राकृतिक विपद्बाट हुनसक्ने जोखिमप्रति सचेतना जगाउँदै त्यसको न्यूनीकरणका लागि पूर्व तयारी गर्न र ज्ञान समुदाय स्तरमा पु¥याउनु यस दिवसको लक्ष्य रहेको छ । अझ नेपाल जस्तो छोटो दूरीमै फरक–फरक भू–बनोट भएको देशमा प्राकृतिक विपत्तिका घटना प्रत्येक वर्ष भोग्दै आइएकोले सचेतनाको झनै खाँचो छ ।

बिना सूचना आउने प्राकृतिक विपत्ति हाम्रो भौगोलिक विविधता र जटिलताका कारण सधैँ जोखिमयुक्त रहँदै आएको छ । त्यसैले यस्ता कार्यक्रमको नेपालका सन्दर्भमा झनै महŒव छ । सचेतनाका विभिन्न कार्यक्रम गोष्ठी, सेमिनार र सभाका माध्यमबाट जोखिम न्यूनीकरण गर्न प्रकोप जोखिम न्यूनीकरण दिवसको सान्दर्भिकता कायमै छ । भर्खरै मनसुनी प्रकोपले राष्ट्रिय राजमार्ग क्षतिग्रस्त भएका, ठूलो मानवीय क्षति भोगेको र भौतिक संरचनाहरु नष्ट भएको कारण उत्पन्न पीडाका बीच परेको यो दिवसले हामीलाई प्रकृतिबिरुद्ध खेलबाड नगर्ने चेतना जगाओस्, नियमितता जस्तै रहेका यस्ता विपद्का क्षति जोखिमको न्यूनीकरणमा आवश्यक ज्ञान र सिप प्रदान गरोस् । यसले मात्र यस्ता पर्वहरुको औचित्य पुष्टि हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here