वैशाखमा श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा समारोह

0
42

विनोद सापकोटा
झापा,
झापाको शिवसताक्षी नगरपालिका–१०, कन्काई नदीको पश्चिम तटको श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमले निर्माणाधीन श्रीलक्ष्मीनारायण दिव्यदेश मन्दिरको प्रतिष्ठा (महासम्प्रोक्षण) उद्घाटन समारोह आगामी २०८३ वैशाख ११ देखि १८ गतेसम्म गर्ने निर्णय गरेको छ। श्री लक्ष्मीनारायण मन्दिर सञ्चालन समितिले मन्दिर परिसरमा आज पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको हो।

वि.सं. २०२८ मा स्थापना भई वि.सं. २०५१ वैशाखदेखि जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको यस धार्मिक संस्थाले नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मुख्य मठको रूपमा धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ। मन्दिर परिसरमा श्रीलक्ष्मीनारायण मन्दिर, श्रीयोगिराज स्वामीजी महाराजको कुटी मन्दिर, श्रीअनन्तदर्श संस्कृत वेद विद्यालय, गौशाला, वैष्णवालय, छात्रावास, पुस्तकालय र यज्ञमण्डप सञ्चालनमा रहेका छन्।

श्री लक्ष्मीनारायण मन्दिर सञ्चालन समितिले दिएको जानकारी अनुसार जीर्ण अवस्थामा पुगेको मूल मन्दिरलाई पुनर्निर्माण गर्दै दक्षिण भारतीय स्थापत्यशैलीमा ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’ निर्माण कार्य वि.सं. २०७८ वैशाख १६ गते शिलान्याससहित प्रारम्भ गरिएको हो। देश–विदेशका भक्तजन र स्थानीयवासीको दान–चन्दाबाट हालसम्म करिब ९ करोड रुपैयाँ खर्च भई मन्दिरले तस्बिरमा भएजस्तो स्वरूप पाएको छ। बाँकी निर्माण र साजसज्जाका कार्यका लागि करिब २ करोड रुपैयाँ थप आवश्यक रहेको अनुमान गरिएको छ।


दक्षिण भारतीय शैलीमा निर्मित यो मन्दिरमा विमान र गोपुरमसहितको संरचना, स्तम्भयुक्त मण्डप, कलात्मक मूर्तिकला र ढुंगामा गरिएको नक्काशी मुख्य आकर्षण हुने बताइएको छ। पुष्पबाटिका, शालिग्राम र आकर्षक बगैंचाले मन्दिर परिसरलाई धार्मिक तथा प्राकृतिक सुन्दरतामा रूपान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। मन्दिरमा एक दर्जनभन्दा बढी पत्थरका मूर्तिहरू र दुई दर्जनभन्दा बढी धातुका मूर्तिहरू स्थापना भइसकेका छन्।

श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा समारोह समितिका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद तिम्सिनाका अनुसार निर्माणाधीन मन्दिरलाई नेपालकै धार्मिक पर्यटनको नयाँ पहिचानका रूपमा विकास गर्ने लक्ष्य लिएका छौं। ‘दक्षिण भारतीय स्थापत्यशैलीमा बनेको यो मन्दिरमा भगवान् लक्ष्मीनारायणको दिव्य स्वरूप झल्किनेछ,’ उनले भने ।

सचिव हरिनारायण बास्कोटालेले श्रीलक्ष्मीनारायण दिव्यदेशको प्राण प्रतिष्ठा समारोह २०८३ वैशाखमा सम्पन्न गर्न तयारी तीव्र भएको बताएका छन् । नेपाल, भारत, भूटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत नेपाल देशका सयौं धर्माचार्य, सन्त–महन्त, विशिष्ट विद्वान् र हजारौं भक्तजनको उपस्थितिमा यो समारोह सम्पन्न हुने उनले पत्रकार लाई जानकारी दिएका छन्।
कोषाध्यक्ष मोहन प्रसाद रिजालले मन्दिर निर्माणमा अहिलेसम्म ठूला संस्थागत अनुदान नआए पनि देश–विदेशमा रहेका भक्तजनको सानो–सानो सहयोगले ९ करोडभन्दा बढी रकम जुटेको छ। बाँकी काम पूरा गर्न अझै केही आर्थिक स्रोत आवश्यक रहेको उनले बताएका छन्।

पत्रकार सम्मेलनमा १००८ स्वामी भागवताचार्यजी महाराज पनि सहभागी थिए । जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीज्यूको संकल्प पूरा गर्न वर्तमान आश्रम सञ्चालकले निरन्तर प्रयासरत रहेको उनले बताएका छन् ।’प्रथम जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य स्वामीज्यू ११३ वर्षको आयु बाँच्नुभयो। उहाँ नेपालबाट आध्यात्मिक भ्रमणका लागि भुटान जाँदै गर्दा त्यहीँ परमधाम हुनुभएको थियो। आज उहाँकै संकल्प साकार पार्ने अभियानमा आश्रमका साधकहरू समर्पित रूपमा जुटिरहेका छन्,’ भागवतचार्यजी महाराजले भने ।

प्रतिष्ठा समारोहको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहने जनाइएको छ। आयोजकहरूले बाँकी निर्माण पूरा गरी तोकिएको समयमा प्रतिष्ठा समारोह सम्पन्न गर्न आवश्यक सहयोगका लागि तीनै तहका सरकार, उद्योगी–व्यवसायी, पत्रकार, समाजसेवी, स्थानीयवासी तथा विदेशमा रहेका सम्पूर्ण गुरुबन्धु र भगवद्भक्तहरूलाई आग्रह गरेका छन्।
लक्ष्मीनारायण मन्दिर निर्माण भइसकेपछि यसले धार्मिक पर्यटनमा टेवा दिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here