अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–९स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा अर्जुनधारा नगरपालिका–११ नं. वडा पुग्न सफल भएको छ ।
स्थानीय नमूना खेलमैदानमा सोमबार सम्पन्न भएको खेलमा अर्जुनधारा नगरपालिका–४ नं. वडालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–११ नं. वडा सेमीफाइनलमा पुग्न सफल भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । अर्जुनधारा–४को लागि खेलको १५औं मिनेटमा सुरेन लिम्बूले र अर्जुनधारा–११को लागि खेलको ३३औं मिनेटमा बाबुराम धिमालले गोल गरेका थिए ।

खेलमा विजेता टिमका गोलरक्षक किरण जवेगु उत्कृष्ट खेलाडी भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि एनके नेपाल ट्रेड एण्ड सप्लायर्स प्रा.लि.का सञ्चालक माधव घिमिरे, अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्र इङनाम, दाता एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्धिमान लिम्बूलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार अर्जुनधारा–१का वडाध्यक्ष उपेन्द्र बस्नेतले सौजन्य गरेका थिए ।
भोलि(मंगलबार)को पहिलो सेमीफाइनल खेल दिँउसो ३ बजे अर्जुनधारा नगरपालिका वडा नं. १ र अर्जुनधारा नगरपालिका वडा नं. २बीच हुने आयोजक गोलधाप युवा क्लबका सदस्य अर्जुन भट्टराईले जानकारी दिए ।

























