इप्रका बिर्तामोडको एकपछि अर्को प्रकरण सार्वजनिक हुँदै : प्रहरीद्वारा हिरासतमा यातना र आर्थिक चलखेल

0
6

झापा, इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतभित्र हुने कथित यातना र आर्थिक अनियमितताबारे थप गम्भीर आरोप सार्वजनिक भएका छन् । प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको नेतृत्वमा रहेको उक्त कार्यालयमा हिरासतभित्रै नागरिकमाथि चरम यातना दिने गरिएको पीडितहरूको दाबी छ ।

अपराध न्यूनीकरण र शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रहरीले नै हिरासतमा राखिएका नागरिकमाथि अमानवीय व्यवहार गर्ने गरेको आरोप पछिल्ला घटनाक्रमसँगै सतहमा आएको हो । डीएसपी श्रेष्ठको प्रत्यक्ष निर्देशनमा कुटपिट हुने गरेको भन्दै पीडितहरू खुलेर बोल्न थालेका छन् ।

यसअघि बिर्तामोडका युवा व्यवसायी कृष्ण अग्रवालमाथि हिरासतभित्र कुटपिट भएको घटना सार्वजनिक भएको थियो । त्यसपछि १४ वर्षीया बालिका आसिना खातुनलाई गैरकानुनी रूपमा पक्राउ गरी यातना दिएको प्रकरणले थप तरंग पैदा गरेको थियो ।

यसैक्रममा बिर्तामोडका अर्का व्यवसायी रमेश कुमार राजवंशीमाथि पनि इलाका प्रहरी कार्यालय अनारमनीभित्रै कुटपिट गरिएको आरोप सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा ‘हेल्लो राजवंशी’ नामक पेजमार्फत उनको अनुहार रगताम्य अवस्थाको तस्वीर सार्वजनिक भएसँगै घटनाले थप चर्चा पाएको हो ।

पूर्वाञ्चल दैनिकसँगको कुराकानीमा राजवंशीले गत पुस ३० गते आफूलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर कुटपिट गर्दै कार्यालय पुर्‍याएको बताएका छन् । “प्रश्न सोधेकै भरमा पक्राउ गरी गाडीभित्रै कुटपिट गरियो,” उनले भने, “हामीले बर्दीको सम्मान गरिरहेका छौं, नत्र चुप लागेर बस्ने अवस्था छैन।”

राजवंशी समाज विकास समिति बिर्तामोडका उपाध्यक्षसमेत रहेका उनले प्रहरीको व्यवहार मानवअधिकारविरुद्ध भएको आरोप लगाए । दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै उनले राज्य संयन्त्रले पीडितको पक्षमा काम नगरेको गुनासो गरे ।

उनले आफ्नो उद्योगमा समेत प्रशासनकै मिलेमतोमा डोजर चलाइएको र त्यस क्रममा करोडौंको क्षति भएको दाबी गरेका छन् । “फर्जी कागजका आधारमा २०८० वैशाख ३० गते उद्योग भत्काइयो,” उनले भने, “राज्यले एकपटक पनि वास्तविकता बुझ्ने प्रयास गरेन।”

यता, इलाका प्रहरी कार्यालयभित्रै मुद्दा मिलाउन आर्थिक लेनदेन हुने गरेको आरोप पनि सार्वजनिक भएको छ । वरिष्ठ प्रहरी नायव निरीक्षक देवराज निरौला र सहायक हवल्दार विनोद तामाङको संलग्नतामा ‘सेटिङ’ मिलाइने र रकम नदिए पीडितलाई दुःख दिने गरिएको स्रोतको दाबी छ ।

एक प्रहरी अधिकृतले नाम नबताउने सर्तमा भने, “डीएसपी श्रेष्ठ आर्थिक लेनदेनमा अत्यधिक संलग्न छन्, जुनसुकै बेला समस्यामा पर्न सक्छन्।”

यसबीच लागूऔषध नियन्त्रणसँग सम्बन्धित निकायसँग समेत मिलेमतो रहेको आशंका गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरी नायव निरीक्षक सोमेश लामिछानेसँगको समन्वयमा बिर्तामोड केन्द्रित गतिविधिमा आर्थिक लेनदेन हुने गरेको स्रोतको दाबी छ ।

नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नुपर्ने निकायमाथि यस्ता गम्भीर आरोप सार्वजनिक भइरहँदा घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग तीव्र बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here