देखिएन शुभ लक्षण

0
455

खरायोको गतिमा दौडन शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सकसका साथ सोमबार दोस्रोपटक मन्त्रीपरिषद् बिस्तार गरेर कछुवाको चाल देखाएका छन् । कथा अनुसार खरायोको गतिमा दौडदाभन्दा कछुवाको गतिमा दौडदा तोकिएको स्थानमा सहजै पुग्न सकिन्छ ।
जसरी ओलीले प्रधानमन्त्रीमा नियुक्ति पाउन ढीलो भयो भनेर शेरबहादुर देउवालाई पदलोलुपसम्मको संज्ञा दिए अनि देउवाले राजीनामा दिनुअघि नै राष्ट्रपति भवनमा पुगेर कार्यालय बाहिर वेटिङ रुममा बसेर टाइप हुँदै गरेको नियुक्ति पत्रलाई बेला–बेला चियाएर हेरे, त्यस गतिमा उनले मन्त्रीपरिषद् बनाउन भने सकेनन् ।
सबैले आशा गरेका थिए, दोस्रो मन्त्रीपरिषद् बिस्तारबाट सरकार गठनले पूर्णता पाउँछ । तर, त्यति हतारो गरेर ढोका कुरेर नियुक्ति लिने अर्थात् राष्ट्रपतिले बहुमत प्राप्त दलको नेतालाई सरकार गठनका लागि आव्हान गर्नै नभ्याई आफैं नियुक्ति पत्र बुझ्न दौडिएर पुगे त्यस अनुरुप उनका काम देखिएनन् । सुनिएको छ, देउवाले ओलीलाई फोन गरेर भनेका थिए रे म ११ बजेतिर राजिनामा बुझाउँछु अनि नियुक्ति पत्र बुझ्नु होला । देउवाले राजीनामा दिएको समय र ओलीले प्रधानमन्त्री पदको नियुक्ति लिएको बीचको समय मुश्किलले १५ मिनेटको थियो ।
अरु कसैले पो राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति पत्र लिएर पो जान्छ कि भनेर हतारो गर्ने ओली मन्त्री परिषद्लाई पूर्णता दिन भने ढीला भएका छन् । यसबाट के बुझिन्छ भने ओलीलाई प्रधानमन्त्री पद लिन जति सहज भयो त्यति नै असहज प्रधानमन्त्री पद टिकाउन देखिन्छ भन्ने संकेत देखिएको छ । यो शुभ लक्षण होइन ।
बाम गठबन्धनको प्रष्ट बहुमत हुँदाहुँदै पनि ओली, मधेशी मोर्चाको एउटा गठबन्धन जसका नेता बाम बैचारिकताबाट हुर्केका हुनसँग थप सहयोग लिन खोजिरहेका छन् भन्ने कुरामा पनि आशंका गर्ने ठाउँ छ । संघीय समाजवादी फोरमका नेताहरुमा अध्यक्ष उपेन्द्र यादव कुनै बेला एमालेकै टिकटबाट चुनाव लडेका व्यक्ति हुन् भने राजेन्द्र श्रेष्ठ र अशोक राई हिजो अस्तीसम्म कट्टर बामपन्थी नै थिए । अहिले पनि उनीहरु नामले मात्र संघीय समाजवादीका नेता हुन् । बैचारिक धरातल, सोच र काम गर्ने तौरतरिका सबै बाम नेताहरुकै शैलीको छ ।
यसैले ओलीलाई उनीहरु पनि सरकारमा सामेल भए वा गराउन सकियो भने भोलि काम गर्न सजिलो हुन्छ भन्ने एउटा तर्क हो । सँगसँगै अर्का मधेशी मोर्चाका नेता राजेन्द्र महतोको राजपालाई सरकारमा ल्याउन सकिएन भने पनि मधेशी मोर्चाको गठबन्धनमा दरार ल्याउन सकिन्छ र मधेशको राजनीतिमा विभाजन गर अनि राज्य गर (म्ष्खष्मभ बलम च्गभि० को कुटनीतिबाट काम गर्न सकिन्छ भन्ने पनि होला भन्ने पंक्तिकारलाई लाग्छ ।
यो पनि होइन वा त्यो पनि होइन भने भोलि कथम्कदाचित माओवादीका सांसदहरु फुटेर गए भने मधेशीको सहयोगमा सत्ता जोगाउन पनि सकिन्छ भन्ने अर्को झिनो तर अहिलेको सकस हेर्दा यो पनि बलियो तर्क हो जस्तो लाग्छ ।
कुटनीतिका माहिर खेलाडी भएकै कारण आफूलाई धोका दिएर कांग्रेससँग मिलेर सत्तामा जाने माओवादीलाई सुटुक्क भित्रभित्रै फकाएर बामगठबन्धनको नामबाट आफ्नो पछि लगाउन सिपालु ओलीले धेरै कुरा सोच विचार गरेर अहिलेको कदम चालेको हो कि भन्न सकिन्छ । सबै चाल अहिले नै चालेर विपक्षी कांग्रेसलाई खेल्ने वा बिगार्ने मौका नै नदिने अर्को चाल पनि यसमा छ भन्दा फरक नपर्ला । यस कुराको पुष्टि २ नम्बर प्रदेशमा मधेशी मोर्चाको सरकारलाई उसको मञ्जुरी बेगर नै विश्वासको मतमा भोट हालेर एमालेले गरेको छ । यो घटना राजनीतिक विश्लेषकका लागि चकाचौंध हुने खालको छ ।
ओलीलाई मधेशी विरोधीका रुपमा प्रचार गरेर मधेशी जनताको भोट एकोहो¥याउन सफल मधेशी मोर्चाले कल्पना नै नगरेको सहयोग अहिले पायो । यसलाई बाहिर चलन चल्तीको बोलीमा राम्रो भनिरहेपनि यसमा केही चाल छ भनेर उनीहरुले पनि बुझेको हुनुपर्छ । जब कि निर्वाचनताका २ नं. क्षेत्रमा मधेशी मोर्चाका उम्मेदवारलाई कतिपय स्थानमा उम्मेदवारी झिकेर अनि कतिपय स्थानमा नरम भएर सहयोग गर्ने कांग्रेस भने अहिले प्रमुख प्रतिपक्षी भएको छ । यस खेलमा कांग्रेसले गल्ती ग¥यो वा सही ग¥यो त्यो भविश्यले देखाउला । तर, ओली र प्रचण्डको चालबाजीमा भने कांग्रेस पछि परेकै हो ।
जे होस् कछुवाकै गतिमा भए पनि ओलीको गति अघि बढ्दैछ र बढोस् पनि । तर, निर्वाचनताका र निर्वाचनको परिणाम आएका बेला जुन उत्साहका साथ बाम गठबन्धनले सत्ता पाएपछि सबै कुरा दुरुस्त हुन्छन् र कांग्रेसको लोसोपनभन्दा अग्रगतिका हुन्छन् भन्ने आशा बाम र बाम समर्थक आम जनतामा थियो त्यसमा निरन्तर मोहभंग हुँदै गएको हो कि भन्ने पंक्तिकारलाई लागेको छ । देशको हितमा पंक्तिकारलाई लागेको आशंका पूरा नहोस् । तर, परिस्थिति कसरी बदलिन्छ भन्ने कुरा नेपालमा भन्नै सकिन्न । अहिलेको तजा घटनाले यही देखाएको छ । त्यसैले पंक्तिकारले शीर्षक राख्यो ‘देखिएन शुभ लक्षण’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here