चिन्तामणि दाहाल,
शीर्षक पुष्टि : शीर्षकमा लेखिएको पछाडि फर्केर हेर्दाका दुईवटा पाटा छन् । एक, पंक्तिकारको भूतकाल र अर्को देशको भूतकाल । पंक्तिकारको भूतकाल २०१५ सालको आम निर्वाचनदेखिको हुनेछ भने देशको भूतकाल आधुनिक नेपालको निर्माणदेखिको हुनेछ ।
किन यसो गर्न खोजिएको हो भने पंक्तिकार २०१० साल बैशाख १ गते जन्मिएकोले उसलाई २०१५ सालको आम निर्वाचनको झ–झल्को छ भने आधुनिक नेपालको जन्म १८२५ मा भएकोले त्यसयताको संक्षिप्त टिप्पणी गर्नुलाई पंक्तिकारले पछाडि फर्केर हेर्नु मान्यो । अहिले के छ पहिले के थियो भन्ने विषयको सामान्य झलक देखाउन यस आलेखमा आफूलाई पनि समावेश गरिएको हो ।
पंक्तिकार :
वि.सं.२०१० साल बैशाख १ गते मातातिर्थ औंशीको दिन अर्थात् आमाको मुख हेर्ने दिन नै पहाडी जिल्ला पाँचथरको सुभाङ गाउँमा पंक्तिकारले धर्तीमा टेक्यो र त्यही क्षण आमाको मुख पनि हे¥यो । उसले धर्ती माता र जन्मदिने माताको एकसाथ मुख हेर्ने मौका पायो । तर, पाँच बर्षसम्मको उसको शिशुकालका सबै सम्झना उसलाई छैन । उसलाई २०१५ सालको आम निर्वाचनको झझल्को छ । त्यसबेला एउटा गीत गाउँदै मान्छेहरु हिँड्थे भोट दिनु भोट र बक्सको रुख चिन्ह नेपाली कांग्रेसको ।
सायद पूर्वी नेपालमा अरु पार्टीको प्रभाव थिएन । जताततै रुखका चिन्ह मात्र थिए । ती रुखका चिन्ह भएका कपडाका झण्डा बोकेर हामी केटाकेटी त्यही गीत गाउँदै खेल्थ्यौं । त्यसको झझल्को छ । अरु राजनीतिक कुरा थाहा छैन । त्यसपछि २०१६ सालमा हाम्रो सुभाङ गाउँको मुक्तुरामा प्राइमरी स्कुल खोलिएको थियो ।
त्यसको उद्घाटन गर्न त्यसबेलाका (शिक्षा सहायक) मन्त्री प्रेमराज आङदम्बे आएका थिए । उनी हाम्रो घरमा आएर चिया पानी खाएर गए जस्तो लाग्छ । त्यसबेला उनले मलाई यो पछि नेता हुन्छ भनेको सम्झना छ । त्यसपछि के भयो थाहा छैन । तर, म नेता भइन ।
हामी त्यही स्कुलमा पढ्थ्यौं । हामीलाई पढाउने हेडमाष्टर खोजेर ल्याइएको थियो । उनी ५ कक्षा पास गरेका रे भन्थे । तर, अहिले मलाई सम्झना छ, उनी अंग्रेजी निक्कै जान्दथे । ढकाल थरका उनी ६ ÷७ बर्ष नै बसे होलान् । हामी काठको पाटीमा धुलो भरेर काठ र बाँसको डिकोले क, ख लेख्थ्यौं । लेख्दै मेट्दै गर्न पाएर होला हामीले २÷४ दिनमै क, ख र अ आ जानेका थियौं । ए.बि.सि.डी पनि हामीले छिट्टै सिक्यौं, त्यही धुलौटे पाटीमा । स्कुल जाँदा हामी आपूmलाई बस्ने परालको पिरा चेपरै जान्थ्यौं । तर, अलि पछि बेन्ची बनाइएका थिए, सल्लाका काठबाट ।
घरमा बिजुली बत्तीको कल्पना पनि थिएन । एक दुई नेपाल पुगेर पशुपति दर्शन गरेर फर्केकाले गाउँमा भनेको सुनेको काठमाडौंमा राजाहरुका दरबारमा बिजुली बत्ती बल्थे रे । हामीले राति कुप्पी बालेर पढेको हो । एउटा कुप्पी बालेर सबै वरिपरि भरसक छिमेकीका केटाकेटी पनि झुम्मिएर होम वर्क गर्ने, पढ्ने र गफ गर्ने गथ्र्यौं । अलिपछि लाल्टिनमा पढ्न थालियो । कहिले मट्टितेल सकिएर पढ्नै नपाइने । कहिले लाल्टिनको सिसा फुटेर समस्या हुने । अगेनामा अलि ठूलो आगो बालेर पनि पढियो । अलि माथिको र अर्को गाउँमा दियालो बालेर पढ्छौं भन्थे हाम्रा साथीहरु । तर, हामीले कुप्पी र लाल्टिन पाउँदा आफूलाई ठूला सम्झिन्थ्यौं । यी घटना हुन् २०३० साल अघिका । अहिले मेरो जन्म गाउँमा विद्युत् त पुगेको छैन । तर, सोलारले गाउँ झिलिमिली छ ।
उता, अहिले २०७६ सालमा आइपुग्दा पनि कर्णाली प्रदेशका दर्जनौं गाउँ कुप्पी र दियालैका भरमा छन् । न उनीहरुले बिजुली बत्ती पाएका छन् न सौर्य उर्जा कै बत्ती । उनीहरुका बाल बच्चाहरु कुप्पी कै भरमा लेख पढ गरिरहेका छन् भन्दा लाग्यो शासक वर्गले र नेतृत्व वर्गले कर्णालीलाई किन त्यति बढी हेला ग¥यो होला । रेल र पानी जहाजको गुड्डी हाँक्नेले पहिला कर्णालीका विकट गाउँमा सडक र बिजुली बत्ती पु¥याई दिए कल्याण नै हुने थियो नि ।
पंक्तिकारले इलाममा २०३०÷०३२ सालमा बीए पढ्दा पनि लाल्टिन र कुप्पी मै पढेको हो । त्यतिखेर मात्रै पंक्तिकारले राम्ररी मोटर गाडी पनि देखेको हो । बिजुली बत्तीको अनुहार झापाको धुलाबारी बजारमा २०३० सालमा आउँदा देखेको थियो । त्यो पनि सबैको घरमा थिएन । भए पनि धेरै जसो बत्ती गइरहने अनि कुप्पी र लाल्टिनको जोहो गरिराख्नु पर्ने । त्यस्तो जोहो त दुई बर्षअघि पनि विद्युत् प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी प्रमुख भएर नआएसम्म राजधानीदेखि देशैभरमा गरिराख्नु पथ्र्यो ।
२०३४ सालमा काठमाडौंमा पहिलो चोटी पुग्दा पंक्तिकारलाई अचम्मै लागेको थियो । जताततै बत्ती । सडक पनि राम्रा । जताततै गाडी गुडेका । मान्छे पनि बग्रेल्तै । कस्तो अचम्भ । त्यहीताका २०३३ सालमा पहिलो पटक भारतको शिलगढी हुँदै आसाम जाँदा राती १२÷१ बजे पनि तातो रोटी र भात खान पाउँदा झन अचम्भ लागेको थियो । राति पनि मान्छेले खाना पकाएर बिक्री गरेको देख्दा उधुम अचम्भ लागेको थियो ।
२०३७ सालमा झापामा आएर मेची क्याम्पसमा पढाउन थालेको समय सम्झन्छु र अहिलेको समय सम्झन्छु आकाश पातालको अन्तर छ । त्यसबेला बिजुली बत्ती भएर पनि लाल्टिन बालेर पढेर क्लासको तयारी गर्नुपथ्र्यो । तर, पनि त्यसबेला जीवन चलेकै थियो । अहिले पनि चलेकै छ । २०४५ सालमा डिल्लीराम निर्भिक दाइको हिजोआज दैनिकमा कहिले समाचार र कहिले सम्पादकीय लेख्न थालेर पत्रकारितामा छिरेको पंक्तिकारको त्यसबेलाको अवस्था र अहिले हातैमा बोकेको मोबाइलबाट समाचार लेखेर पठाउन सकिने अवस्था सम्झन्छु गजब लाग्छ ।
२०४६ सालको आन्दोलनबाट बहुदल आएपछि प्रेस स्वतन्त्रतासँगै २०४९ फागुन ७ गते काठमाडौंमा खुलेको कान्तिपुर दैनिकमा पंक्तिकारले २०५० साल बैशाखदेखि समाचार पठाउन थाल्यो, त्यो पनि तारा बराल दाइको सिफारिसमा । तारा दाइको साप्ताहिक विचार पत्रिका निस्कन्थ्यो, चन्द्रगढीबाट । त्यस पत्रिकामा पंक्तिकारले २०४६ सालको जनआन्दोलको समाचार दिने गरेको थियो । त्यसबाट प्रभावित भएर होला यसले समाचार लेख्न सक्छ भनेर मलाई सिफारिस गरेका होलान् । कान्तिपुरमा त्यसबेला योगेश उपाध्याय सम्पादक थिए । पंक्तिकारको बसाई भद्रपुरमा थियो ।
त्यसबेला समाचार लेख्ने भनेको हातैले हो र पठाउने माध्यम हुलाक र फ्याक्स थिए । फ्याक्स पनि दुईवटा मात्रै थिए झापामा, राष्ट्रिय समाचार समिति (रासस) का । एउटा चन्द्रगढीको अफिसमा र अर्को राससकै काँकरभिट्टाको अफिसमा । चन्द्रगढीको अफिसमा भएको फ्याक्स राससकै प्रयोजनका लागि र केही सरकारी प्रयोजनका लागि थियो । अरुले त्यहाँबाट फ्याक्स गर्न पाउँदैनथे । काँकरभिट्टामा एक पेजको ३५ रुपैयाँ १५ पैसा तिरेर फ्याक्स गर्न पाइन्थ्यो क्युमा बसेर । अहिले ३५ रुपैयाँमा सयौं समाचार पठाउन सकिन्छ ।
पंक्तिकारले समाचार लेख्यो वा कार्यक्रममा गयो, त्यतैबाट काँकरभिट्टा गयो, त्यहीं कतै होटलमा बसेर समाचार लेख्यो अनि पालो आएपछि फ्याक्स गरेर भद्रपुरमा आउनु पर्ने । सधैंको यो समस्याले गाहारो भयो । प्रकाशन गृहलाई पनि महँगो प¥यो । अन्य विकल्प थिएन । इमेल इन्टरनेट थिएन । राससको काठमाडौंमा टेलिप्रिन्टर थियो । त्यसैबाट विदेशी समाचार आउँथे । राससले दैनिक पत्रिका निकाले जस्तो लिथोमा छापेर बुलेटिन निकाल्थ्यो । त्यही बुलेटिनबाट सारेर लेटर प्रेसबाट काठमाडौं र मोफसलको पत्रकारिता चलेको थियो ।
दुईचारबर्ष लामा र ढिलो छापिँदा पनि समस्या नपर्ने समाचार, फिचर हुलाकबाट, दुर्घटना घटनाका समाचार टेलिफोनबाट र अन्य समाचार काँकरभिट्टा पुगेर फ्याक्सबाट पठाएर पत्रकारिता गरियो । यस्तो पत्रकारितालाई पनि त्यसबेला राम्रो मानिन्थ्यो । फ्याक्समा समाचार पठाउन पाएकोमा त्यसवेलका पुराना पत्रकार निर्भिक दाइ, नकुल दाइ, एसएल शर्मा, मदन ढकाल, गोपीकृष्ण खनाल, गञ्जबहादुर दाहालहरु कति सजिलो भयो अहिले त भन्थे । यस्तो समय छिचोलेर यहाँ आइपुग्यो । मोटर साइकल चढ्न पाउने ठुलो मान्छे गनिन्थ्यो त्यसवेला । अरु प्रगति थपिँदै गएर हेला २०५२ सालतिर केही अरु ट्राभल्स एजेन्सीले फ्याक्स ल्याए । बिर्तामोड, धुलाबारी र दमकमा पनि टेलिफोन विस्तार भयो ।
२०५२ देखि इमेल इन्टरनेट आएपछि केही सजिलो भयो । पत्रिका छाप्न अफसेट मेसिन आयो । टाइपराइटर र लेटर प्रेसको ठाउँमा कम्प्युटर आयो । तर सर्बसाधारणले इमेल इन्टरनेट चलाउन पाएको त २०६० सालपछि मात्रै हो । यस्तो विगत पार गरेर अहिले पंक्तिकार घरमै बसेर संसारभरीको समाचार संकलन गर्न, लेख्न र संप्रेषण गर्न सक्ने भएको । त्यो सुविधाको उपयोग गरिरहेको छ । तर, अहिलेका अधिकांश पत्रकार पहिलेका पत्रकार भन्दा अल्छी भएको लाग्छ । मेहनत कम गर्ने । गुणस्तरभन्दा संख्यालाई महत्व दिने । शुद्धतालाई महत्व नदिने । यसो गरियो भने पत्रकारिताको प्रभाव जनमानसमा राम्रो पर्दैन । पत्रकार भनेका परिवर्तनका सम्बाहक हुन् । उनीहरु धेरै जान्दछन् र समाज बदल्ने स्रोत हुन् भनेर हिजोका दिनमा जुन छाप थियो त्यो मेटिन सक्छ ।
यस्तो कुरामा सबै पत्रकारहरुले ध्यान दिएर इमान्दार पत्रकारितामा जोड दिनुपर्छ । पंक्तिकारको विगतलाई यस आलेखमा यत्तिकै छोट्याउँछु । यही आलेखमा देशका बारेमा लेख्दा लामो हुने भएकोले अर्को हप्ता यही शीर्षकमा देशलाई पछाडि फर्केर हेर्दा शीर्षकमा कलम चलाउने बाचा गर्दै आज यत्ति नै ।