झापा।
विश्वव्यापी समस्याको रुपमा रहेको लागूऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । जनसंख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागूऔषध प्रयोगकर्ता र यसका कारोबारीको संख्यामा वृद्धि भएका कारण समाजमा दिन प्रतिदिन गम्भीर असर परिरहेको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा भइरहेको शहरीकरणका कारण पनि लागूऔषध प्रयोगकर्ताहरु बढी रहेको जनाइएको छ । यसले विकास र शान्ति सुरक्षामा नकारात्मक प्रभाव परिरहेको प्रहरीको भनाइ छ । लागूऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानून कार्यान्वयन गर्ने निकायहरू क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य झन् चुनौतिपूर्ण बन्दै गएको जनाइएको छ ।
लागूऔषध कारोबार नियन्त्रणका लागि सरकारले लागूऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै ‘लागूपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान २०७५ शुरु गरेको थियो । विद्यमान कानूनलाई अभियानकै रूपमा लिएर नेपाल प्रहरी लागूऔषध कारोबार, प्रयोग र दुव्र्यसन नियन्त्रण गर्न सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
उनका अनुसार लागूऔषध कारोबारीलाई अनुसन्धान गरी संलग्नलाई पक्राउ तथा कानूनी कारवाही गर्न प्रहरीले पछिल्लो समय विशेष सक्रियता बढाएको छ । प्रहरीले झापामा आर्थिक वर्ष २०७२÷०७३मा यस अभियोगमा एक सय ५२ जनालाई पक्राउ गरेको थियो । जसमा एक सय ३७ पुरुष र १५ जना महिला थिए भने एक महिलासहित १६ जना विदेशीलाई पनि झापा प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये एक सय १४ जनाबिरुद्ध मुद्दा दर्ता गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै आर्थिक वर्ष २०७३÷०७४मा एक सय ३४ पुरुष र २५ जना महिला पक्राउ परेका थिए भने १४ जना विदेशी पुरुषलाई झापाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ । गतआर्थिक वर्ष २०७४÷०७५मा लागूऔषध सम्बन्धी अपराधमा संलग्न एक सय ५९ पुरुष र ८ महिला पक्राउ परेका थिए भने ११ जना विदेशी पुरुष पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार चालूआर्थिक वर्ष २०७५÷०७६ को हालसम्ममा एक सय ४१ जना पुरुष पक्राउ परेका छन् भने १२ महिला र ५ जना विदेशी पुरुषलाई पक्राउ गरेको डीएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले पक्राउ परेका अधिकांशलाई मुद्दा दर्ता गरेको उल्लेख गरेको छ । पक्राउ परेकाहरु गाँजा, चरेश, हेरोइन, अफिम र कोकिनजस्ता लागूऔषध सेवन गर्ने तथा यसको ओसारपसारमा संलग्न रहेको बताइएको छ ।
साइकोट्रोपिक्स लागूऔषध अन्तर्गत ट्याब्लेट, कोरेक्स, सिरिन्ज, फेन्सिडल, कोडिन लगायतका लागूऔषध बरामद गरेको प्रहरी प्रवक्ता डीएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीको सक्रियता जति बढे पनि लागूऔषधको दुव्र्यसनी घट्नुको सट्टा झन बढ्दो छ । यसले गर्दा हजारौंं युवायुवती लागूऔषधको लतमा फसेर जीवन वर्वाद पारिरहेका छन् भने घरपरिवारलाई पनि पीडामा राखेका छन् । यसको नियन्त्रणका लागि जति प्रयास भए पनि समाधान हुन नसक्दा प्रहरीले पछिल्लो समय बिद्यालय तहमा नै बिभिन्न अभियान सञ्चालन गरिरहेको डीएसपी श्रेष्ठले बताए ।
लागूऔषधका कारण घरपरिवार र समाजमा झैझगडा, द्वन्द्व र अशान्तिसँगै चोरी, डकैती, लुटपाट, आगजनी, काटमार र तोडफोड, बलात्कार, आत्महत्या जस्ता जघन्य अपराध हुने गरेका प्रहरीले जनाएको छ । त्यस्तै, एचआईभी÷एड्स, यौनजन्य अन्य रोग, हेपाटाइटिस बी र सी, क्षयरोग तथा मानसिक रोग लगायत प्राणघातक रोग समेत लाग्ने गरेका चिकित्सकहरुको भनाइ छ । यसका कारण विश्वमा बर्षेनि साढे दुई लाख मानिस लागूऔषधको कुलतमा फस्ने गरेको जनाइएको छ ।
झापाका गाउँमा भन्दा शहरमा लागूऔषध प्रयोगकर्ता धेरै रहेको पाइएको छ । तथ्याङ्क अनुसार गाउँमा भन्दा शहरमा धेरै लागूऔषधका प्रयोग कर्ता तथा कारोबारी रहेका छन् । शहरी क्षेत्रमा विभिन्न व्यक्तिहरुको गलतसंगतमा लाग्दा धेरै र युवतीहरु पनि कुलतमा फस्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार काँकरभिट्टा, धुलाबारी, चारआली, बुधबारे, बिर्तामोड, सुरुङ्गा, झिलझिले, दमक, भद्रपुर, चन्द्रगढी लगायतका विभिन्न शहरहरुमा यसका प्रयोगकर्ताहरु रहेको छन् । बेरोजगारी र गलत संगतका कारण दुव्र्यसनमा युवायुवती फस्दै गएको प्रहरीले जनाएको छ ।
एसईई परीक्षा सकेर क्याम्पस तहको अध्धयन शुरु गर्ने उमेरमा धेरै विद्यार्थी गलतसंगतका कारण कुलतमा फस्ने गरेका छन् । झापाका मात्र नभएर इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाबाट अध्ययनका लागि आउने गरेका विद्यार्थी अभिभावकबाट टाढा भएपछि गलतबाटोमा हिँड्ने गरेको पाइएको भन्दै प्रहरीले आफ्ना छोराछोरीको निगरानी गर्न सुझाव दिएको छ ।