शीर्षकको पुष्ट्याईं :
यस आलेखमा नैतिकताको खडेरी भन्ने शीर्षक नेपालको राजनीतिका लागि राखिएको हो, अरु क्षेत्रका लागि होइन । नैतिकता हरेक क्षेत्रमा हुन्छ, आवश्यक पर्छ र पालना पनि गर्नुपर्छ । नीतिका पक्षमा काम गर्ने र त्यस नीतिलाई पालना गर्न वा गराउन सकिएन भने पालना गर्न र गराउने जिम्मेवारीमा बसेको मान्छे, अधिकारी वा प्रमुखले नैतिक जिम्मेवारी लिएर आवश्यकता र अवस्था अनुरुप माफी माग्ने वा जिम्मेवारी छोड्ने काम गर्नुपर्छ । यसलाई नैतिकताको पालना भनिन्छ ।
यस किसिमको नैतिक जिम्मेवारी लिएर अहिलेसम्म नेपालमा २००७ साल यता दुईजना राजनीतिक व्यक्तित्वले राजीनामा दिएका छन् । यी दुवै व्यक्ति निरंकुश पञ्चायती व्यवस्थाका हुन् । एक किर्तिनीधि विष्ट जसले सिंहदरबारमा आगो लाग्दा त्यसको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । अर्का शिक्षा तथा खेलकुद मन्त्री रहेका केशरबहादुर बिष्ट हुन् जसले दशरथ रंगशालामा भागदौड मच्चिएको बेला मूल गेट बन्द भएर मान्छे भाग्न नपाएर किचिएर मरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । ती बाहेक अरु कसैले वा कुनै पनि दलका राजनीतिक व्यक्तिले राजीनामा दिएको पंक्तिकारको जानकारीमा छैन । पाठकहरुको जानकारीमा भए यसमा थप्न अनुरोध गर्छु ।
नैतिक जिम्मेवारी :
कुनै पनि सार्वजनिक पद, प्रशासनिक पद वा राजनीतिक पदमा जिम्मेवारी लिएर बस्नेले चाहे त्यो सानो ठाउँको होस् वा ठूलो उसले आफूले पाएको जिम्मेवारी पुरा गर्न भरपुर प्रयास गर्नुपर्छ । उसले गरेको प्रयास देखिनु पनि पर्छ । त्यो उसको पदीय नैतिक जिम्मेवारी हो ।
पदमा त ऊ यसै छ । पदमा बस्नेले पदमा बसेको फाइदा लिएपछि त्यसबाट बेफाइदा भयो भने आफैंले प्रत्यक्ष गलत गरेको भए दण्डनीय नै भइहाल्यो । तर, आफ्नो प्रत्यक्ष संलग्नता छैन र उसका मातहतका व्यक्तिले गल्ती ग¥यो भने पनि त्यसको नैतिक जिम्मेवारी पनि प्रमुख पदमा बस्नेको हुन्छ । यसैलाई नैतिक जिम्मेवारी भनिन्छ ।
पालना भएका अन्य देशका उदाहरण :
तीन दिनअघि अष्टे«लियामा सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टी बहुमत ल्याउन असफल भयो । सत्तारुढ कन्जरभेटिभ पार्टीले पुनः मुश्किलले बहुमत ल्यायो । उसका नेता स्कट मोरिसनले जितलाई चमत्कार नै भने । किनकि उनी हार्छु कि भनेर डराएका थिए । अर्कातिर निर्वाचनमा बहुमत ल्याउने कसरतमा रहेका तर, नसकेकोमा आफ्नो नेतृत्व कमजोर भएको स्वीकार्दै लेबर पार्टीका नेता बिल सर्टनले भने पदबाट राजीनामा दिए । १५० सिट रहेको अष्ट्रेलियाको संसदमा बहुमतका लागि ७६ सिट आवश्यक पर्नेमा लेबर पार्टीले ६६ सिट ल्याएको थियो । थोरै मात्र मतले पराजित भएपनि सर्टनले हार स्वीकार्दै नैतिकताका आधारमा राजीनामा दिए ।
भारतमै पनि कैयौं पटक रेल दुर्घटना हुँदा त्यहाँका मन्त्रीहरुले राजीनामा दिएका उदाहरण छन् भने राम्रो जित निकाल्छु भनेर भिडेको अवस्थामा पार्टीको पराजयमा अध्यक्षहरुले राजीनामा दिएका प्रशस्तै उदाहरण छन् । त्यस्तै गृहमन्त्रीहरुले, रक्षमन्त्रीहरुले पदबाट राजीनामा दिएको पाइन्छ । यस्ता उदाहरण अमेरिका, बेलायत, युरोपियन देशहरुमा भइरहन्छ । नैतिकताको आधारमा राजीनामा दिनु वा माफी माग्नु सभ्य राजनीतिक र सामाजिक चरित्र तथा संस्कार हो ।
नेपालको अवस्थाः
नेपालमा माथि नै उल्लेख गरियो कि दुई बिष्ट बाहेक अरुले नैतिक जिम्मेवारी लिएर माफी मागेको वा पद छोडेको छैन । गत सालमात्र नेपालमा संघीय संसद र प्रदेशको संसदको निर्वाचन भयो । ती निर्वाचनमा विजयी हुन्छु भनेर लागेको नेपाली कांग्रेस पराजीत मात्र होइन नराम्ररी पराजीत भयो ।
त्यस पार्टीका सभापति शेरबहादुर देउवाले पराजयको नैतिक जिम्मेवारी लिएनन् । उल्टै उनले यो जिम्मेवारी पार्टीका सबै नेताको हो र म माफी पनि माग्दिन र राजीनामा पनि दिन्न भने र भनिरहेका छन् । एक बर्षभन्दा बढी भइसक्दा पनि उनले पार्टीले नराम्ररी पराजय भोगेकोमा पराजय स्वीकार गर्नुको सट्टा अझै पनि हुँकार गरिरहेका छन् ।
हालै काठमाडौंमा आयोजना भएको प्रजातान्त्रिक विचार समाजको ११औं महाधिवेशनको उद्घाटन भाषणमा पनि सभापति देउवाले मलाई सबैले किन गाली गर्ने ? मैले त डडेल्धुराबाट चुनाव जितें । अरु नेताले आ–आफ्नो ठाउँमा हार्छन् भने मेरो के दोष ? म कसरी र किन जिम्मेवार ? मैले मिलाउन प्रयास गरेकै हो । दुईवटा पार्टी मिले अनि कांग्रेस हा¥यो । पहिला पनि दुई–दुई पटक कांग्रेसले चुनाव हारेकै हो नि ? मेरो पालामा मात्र हारेको हो र ? यस्ता जवाफ नेतृत्व गर्ने नेताहरुले दिएपछि नत पार्टी उँभो लाग्छ न त नैतिकता नै रहन्छ । यसैले नेपालको राजनीतिमा नैतिकताको खडेरी छ भनिएको हो । यस्तै हार त्यसअघिका निर्वाचनमा अरु पार्टीले पनि भोगेका थिए । तर, न त एमालेका नेताहरुले राजीनामा दिए न त माओवादीका नेताले राजीनामा दिए । उनीहरु सबैको तर्क के देखियो भने हार विभिन्न कारणले हुन्छ अनि किन एक्लो नेता प्रताडित हुने ?
२०७६ सालअघि नै मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छोड्छु भनेर लागेकी मन्त्री बिना मगर अहिले आरामसँग मन्त्री बनेर बसिरहेकै छन् । उनले बोलेको कुरा पुगेन र पनि उनलाई लाज लागेन । उनले भने अनुसार पानी झार्न नसकेको भनेर काठमाडौंका जनता समक्ष माफी पनि मागेकी छैनन् । ल्याउन नसक्ने सम्भावना थियो भने उनले यथाशीघ्र पानी ल्याउँछु भनेको भए भइहाल्थ्यो । तर, उनले त ठोकुवा नै गरेकी थिइन्् ।
यस्ता उदाहरण त अहिलेका प्रधानमन्त्रीका पनि छन् । उनले ल अर्को साल पानी जहाजको टिकट काटेर सरर कोशी र नारायणीमा भनेको कुरा पनि हावामै उड्यो । राणाहरुकै पालाको जनकपुर जयनगर रेल अहिले मर्मत सुधार गरेर पनि अहिलेसम्म आएको छैन । महाकाली सन्धीमा दुईतिहाइ पु¥याउन कसरत गर्दा केपी ओलीले भनेको र दिएको विश्वास अहिले २५ बर्ष बितिसक्दा पनि डिपिआर बनेको छैन । काम त कता हो कता ?
आखिर हाम्रा नेताहरु किन यस्ता भए । तीन दिनअघि काठमाडौंमा पुगेको बेला एउटा ट्याक्सीमा चढेको बेला पंक्तिकारले ट्याक्सी चालकलाई सोध्यो । भाई काठमाडौंको सडक त कहिले राम्रो भएन त के हो ? सरकार त दुईतिहाईको छ र त्यो पनि सरकार गठन भएको पनि बर्ष दिन नाघी सक्यो त भन्ने प्रश्न गरेको त त्यो चालक यस्तो जंगियो कि… सत्तामा बस्नेहरुलाई अपशब्द नै प्रयोग गर्दै भन्यो जहाज र रेल ल्याउने कुरा गर्छन् ।
खोई सडकको चार फुटको खाल्डो पुर्न सक्दैनन् । ठूला कुरा ग¥यो । साना ओझेलमा पा¥यो । चालक भाइको जवाफ र आक्रोश सुनेर पंक्तिकार नाजवाफ भयो । तै पनि ढाडस दिँदै भने । गर्लान् नि त भर्खर त एक बर्षका भए । ताते हिंड्दैछन् । अर्को बर्षमा दौडँदा हुन् नि । कुरा यिनै हुन् । जति लेखे पनि सकिँदैन । यो त संकेत मात्र हो । आज यत्तिमै बिट मार्छु ।