जैविक विविधताले समृद्ध देश मानिन्छ नेपाललाई । भूगोलभित्र रहेका हिमाल, पहाड, तराई र उपत्यका लगायतका भौगोलिक विविधताले त्यत्तिकै उजिल्याएको छ देशको गौरवलाई । सानो भू–भागभित्र रहेर पनि जीव तथा वनस्पतिको विविधताले सौन्दर्यमयी बनाएको छ ।
विश्वमै दुर्लभ तथा मूल्यवान मानिएका कतिपय वनस्पतिहरु नेपालका अलग–अलग क्षेत्रमा पाइन्छन् । तिनलाई संरक्षण र उपयोग गर्न नसक्दा देशलाई आर्थिक क्षतिमात्र भएको छैन वातावरणीय सन्तुलन बिग्रिने जोखिम बढेको छ ।
विश्वका अविकसित, विकसित र अतिविकसित देशहरुमध्ये पछिल्ला दुईखाले देशले प्रदुषण बढाइरहेका छन् । आर्थिक क्षमता बढाउने नाममा भएका गतिविधिहरुका कारण प्रति वर्ष एक डिग्री सेल्सियसका दरले तापमान वृद्धि भइरहेको छ ।
विकसित र अतिविकसित देशहरुका कारण अविकसित देशहरुले समेत प्रदुषणको मार खेप्नुपर्ने अवस्था छ । त्यसभित्र हामी समेत छौं । बढ्दो जनसंख्याका कारण हाम्रो भूगोलका प्राकृतिक स्रोत, वनसम्पदा, खोला–नाला, अतिक्रमणको शिकार भइरहेका छन् ।
वनसम्पदा नासिएको छ, खोलाहरु फोहोर विसर्जन गर्ने थलो बन्दैछ्न, नदीजन्य सामग्रीको दोहन भइरहेको छ जसले सुन्दर भनिएको देश आफैं प्राणीकै लागि अयोग्य बनिने खतरा बढेको छ । तराईका वन फँडानीका कारण मासिएका छन् भने पहाडमा पनि मासिने क्रम तीब्र छ । तराईकै कतिपय क्षेत्रमा रहेको बहुउपयोगी सिमल जातको काठ अहिले लोप हुने अवस्थामा छ ।
पहिले सिमलको काठबाट सलाईको काँटी बनाइन्थ्यो, जस्तापाताको छानो भएका घरमा ‘सिलिङ’ लगाउन प्रयोग गरिन्थ्यो । कुकाठ भनिने सिमलको बोक्रा औषधिका रुपमा, फूल वस्तुभाउको खाद्यवस्तुका रुपमा, भुवा सिरानी, दोलाइँ बनाउन उपयोग हुन्थ्यो ।
उचाइ र मोटाइ अत्यधिक हुने कारणले खुल्ला ठाउँमा सुरक्षित राखिने सिमलकै कारण मेचीनगरमा जोरसिमल ठाउँकै नामकरण भएको छ । बिर्तामोडमा पनि सिमलका थुपै्र रुख थिए जहाँ अहिले लोप हुन थालेको गिद्ध प्रजातिको जीवको बासस्थान थियो । जनसंख्या बढेकै कारण सिमल मासिए, सिमल मासिँदा गिद्द हाडखोडे भनिने ठूला प्रजातिका चराहरु पनि लोप हुँदै गए ।
जरा, बोक्रा, फूल, डाँठ लगायतका सिमलका भागहरुलाई औषधिका रुपमा उपयोग गर्न सके आयात प्रतिष्ठापनमा सहयोग पुग्न सक्ने थियो । त्यसो भएको खण्डमा लोप हुने अवस्थामा पुगेको सिमलको संरक्षण हुने र त्यसले प्रदुषण नियन्त्रण गर्ने, गिद्ध प्रजातिका चराहरुको समेत बासस्थान सुरक्षित गर्दै पृथ्वीको आयु लम्ब्याउन मद्दत पुग्ने थियो ।
वातावरण सन्तुलन र प्रदुषण नियन्त्रण गर्न मुख्य आधारका रुपमा रहेको सिमलको संरक्षण गर्न जमिनको खण्डीकरण गर्ने काम रोकिनुपर्दछ । जलाधार क्षेत्र संरक्षित हुनुपर्छ, जथाभावी वनफँडानी गरिनु हुँदैन र वन तथा वनस्पतिको महत्वका बारेमा जनचेतना व्यापक गरिनु पर्दछ ।
यदि त्यसो हुन नसकेमा बढ्दो जनसंख्याका कारण भइरहेको बजारीकरण र त्यसको असरले हाम्रो सौन्दर्यमयी देश हाम्रै लागि अनुपयुक्त हुनसक्छ । त्यसतर्फ सरकार, सम्बद्ध निकाय तथा वनसँग आबद्ध संघ–संस्थाले बेलैमा ध्यान दिन जरुरी छ । अन्यथा हाम्रो नियति कस्तुरीले सुवास खोज्न भौंतारिएको जस्तै हुनेछ ।