‘हामी शान्ति चाहन्छौं’

0
1653

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिविधिलाई सरकारले नियन्त्रण गर्न प्रतिबन्धको घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य भएको र सोही अनुसार त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो । सरकारको पछिल्लो निर्णयपछि देशभरबाट अहिले सो समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् । झापाबाट पनि सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परिरहेका छन् । सरकारले नै प्रतिवन्ध लगाएपछि सो पार्टीका झापा सेक्रेटरी सुमनसिंह पौडेल अहिले के गरिरहेका छन् ? पूर्वबाट सो पार्टीका नेता तथा कार्यकर्ता कति पक्राउ परे अनि अबको राजनीतिक निकासका विषयमा गरिएको कुराकानीको केही अंशः

तपाईँहरु सरकारभन्दा किन बाहिर ?
– कुन सरकारको कुरा गर्नुभएको यहाँले ? केपी ओलीको सरकारको कुरा गर्नुभएको होला, त्यो जनताको सरकार होइन । त्यो जनबिरोधी सरकार हो । हामी त्यो सरकारमा रहने, जाने कुरा कल्पना बाहिरको बिषय भयो । तर, हामी जनताको सरकार चलाइरहेको हुनाले जनसरकारमा छौं । जनतालाई तथाकथित बैधानिकताको नामको शासन गर्नेे त्यो सरकारको बिकल्प हामीले जनसरकार मार्फत दिइरहेका छौं ।

के कुरामा यो सरकारसग तपाईँहरुको विमति हो ?
– हाम्रो विमति यो सरकारसँग मात्र होइन । हाम्रो प्रश्न सिंगो सत्तासँग छ । हामी यो सत्ताको अन्त्य चाहन्छौं । यो जनताको सत्ता होइन, यो दलाल पुँजीवादी संसदीय सत्ता हो । यसले जनतालाई शोषण गर्ने काम गर्छ, हामी जनतालाई शोषणबाट मुक्त गरेर सुख दिन सक्ने बैज्ञानिक, समाजबादी सत्ताको स्थापना गर्ने बिषय उठाइरहेका छौं । अहिले संघीय गणतन्त्र भनिएता पनि सारमा यो दलाल पुँजीवादी सत्ता हो । अहिले देखिएको अन्याय, अत्याचार, विभेद, शोषण जति पनि छ यो सबै यही सत्ता मार्फत लादिएको छ । यो व्यवहारबाट पुष्टि भएको छ । हामी यही कुरा आम जनतालाई बुझाइरहेका छौं । जनताले अब यो बिषय बुझ्न ढिला गर्नुहुँदैन । जनताले सत्ता परिवर्तनको निम्ति रगत बगाएका छन्  । सत्ता परिवर्तनको निम्ति हामी एकीकृत जनक्रान्तिको अभियानमा छौं । एकीकृत जनक्रान्तिलाई घनिभुत बनाएर बैज्ञानिक समाजबाद स्थापना गर्ने बिषय नै अहिले मुख्य बिषय हो ।

यहाहरु र यो सरकारीबीच देखिएको असमझदारीलाई चिर्दै राजनीतिक मूलधारमा आउन वार्ताबाट निकास खोज्दा के हुन्छ ?
– हुन्छ, किन हुँदैन । वार्ता किन र केका लागि भन्ने बिषय स्पष्ट हुनुपर्छ । वार्ता भन्ने बित्तिकै अहिलेको सत्ताको प्रतिनिधित्व गरिरहेकाहरुसँग हामीले गर्ने हो । यो वार्ता प्रसंग अहिले चलिरहेको छ । हामी सत्ताकै बिषयलाई मूल प्रश्न बनाएर वार्ता संवाद गर्छौं । यो जनताको सत्ता होइन, हामी जनता र राष्ट्रको हितमा काम गर्न सक्ने ब्यवस्थाको निम्ति आन्दोलित छौं । हामी बैज्ञानिक समाजवादी सत्ताको प्रस्ताव लिएर जान्छौं । यो प्रस्तावमा सहमति बन्न सक्यो भने सत्तामा साझेदारी गरेर जान सक्ने स्थिति रहन्छ । होइन भने हामीले दिएको वर्तमान सत्ताको बिकल्प बैज्ञानिक समाजवाद नमान्नुपर्ने कारण त एउटै त होला नि ? उनीहरु शोषक हुन्् । होइन भने अहिले नेपालमा देखिएको सामाजिक संकटको उचित समाधान दिन सक्ने बलियो आधार र योजना खोइ ? अनि हामीले भनेका बिषय किन नमान्नु प¥यो ? तर, उनीहरु मान्दैनन् । उनीहरु दमन गरेर सकिन्छ भन्नेमा लागेका छन् । यसको प्रतिबाद गर्न जनता तयार छन् । वार्ता संवादको औचित्य सकियो भन्ने होइन । तर, त्यसमार्फत हल गर्ने सम्भावना कम देख्छु ।

अहिले तपार्इंहरु जनता त्रसित बनाउने काम किन गरिरहनुभएको छ ? कहिले बन्द, कहिले बम ?
– यो प्रश्न गर्नुभन्दा पहिला तपार्इंको घरमा एक्लै बसेकी आफ्नी श्रीमतीलाई प्रश्न गर्नुहोस् कि कतिको सुरक्षित महशुस गरेकी छौ ? स्कूल जाँदै गरेकी एउटी छात्रालाई सोध्नुहोस् तिमी कतिको सुरक्षित छौ ? सडकमा होस् या महलमा बसेर व्यापार गरिरहेका ब्यापारीहरुलाई सोध्नुहोस् यहाँहरु कतिको सुरक्षित हुनुहुन्छ ? यो पछिल्लो एक महिनामा लगातार ९÷१० ओटा ज्यान मार्ने घटनाहरु घटेका छन् । समाजमा पूरा अशान्ति छ । यो त्रास हाम्रो कारणले पैदा भएको हो र ? समाजका बिकृति, बिसंगतिले निम्त्याएको संकट र अशान्ति हाम्रो माग र आन्दोलनको कारण भएको हो र ? बलात्कार, हत्या, लुटपाट, भ्रष्टाचार , कालोबजारी, अन्याय हाम्रो कारण भएको हो र ? समाजको कालो बादल अर्थात् सामाजिक संकट यो वर्तमान दलाल सत्ताको प्रतिबिम्व हो भनेर बुझ्न म सर्वप्रथम आग्रह गर्दछु ।
हामीले यसको निराकरण खोजेका छौं । हामी जिम्मेवार ढङ्गले यो राष्ट्र र जनताको जीवनलाई कसरी शान्त बनाउन सकिन्छ, कसरी सुख ल्याउन सकिन्छ भनेर लागेका छौं । दिगो शान्ति स्थापना गर्न त अशान्तिको मूल अन्त्य गर्नुप¥यो होला नि त ? अशान्तिको मूल भने कै अहिलेको सत्ताको हो । हामी यसको अन्त्य गर्न चाहन्छौं । यो सत्ताले अशान्ति, अन्याय, अत्याचार, शोषण सबै बन्दुकको बलमा टिकाएको छ । यसको अन्त्य तपाईंले साधु बनेर गर्न सक्नु हुन्न । जनताले बल प्रयोग गर्नुपर्छ । जनताले यसलाई साझा आन्दोलनको रुपमा बुझ्न जरुरी छ र क्रान्तिलाई माया गरेर हुर्काउन, बढाउन जरुरी छ । यो बिषय आम नेपालीहरुको बाँकी भविष्यको लागि हो र छ ।

जाजरकोटमा एकजना सैनिक अधिकारीलाई तपार्इंहरुले नियन्त्रणमा लिनु भएको हो ?
– यो मुलुकमा यही हल्लाले त राज गर्दैछ । अहिलेको सरकारको हल्ला, सुखशान्ति समृद्धिको हल्ला, विकासको हल्ला, अधिकार र स्वतन्त्रताको हल्ला । यस्तै हल्लैहल्लाको खेती लगाएर शासन चलाउने साम्राज्यवादी रणनीति कै प्रतिबिम्व हो सबै हल्ला । हामी जनता र राष्ट्रको सेवा इमान्दार बनेर गर्नुपर्छ भनेर लागेका छौं । विकास र समृद्धिको बाधक हामी होइनौं, बरु हामी यो मुलुकलाई समृद्ध बनाउनु पर्छ भनेर रातदिन चिन्ताका साथ आफ्ना कामहरु अघि बढाइरहेका छौं । हामीले अगाडि सारेका तमाम कामको कारण दलालहरु अत्ताल्लिएका छन् । उनीहरुको लुटको साम्राज्यमा ग्रहण लाग्ने देखेपछि आफ्ना हनुमान मिडियाहरुमार्फत, हल्ला र प्रचारमार्फत, हाम्रो पार्टी र आन्दोलनप्रति जनतालाई भ्रमित गर्न लागीपरिरहेका छन् । उनीहरु सेना र प्रहरीसँग जनतालाई मुठभेड गराएर आफ्नो असफलतालाई ढाकछोप गर्न चाहन्छन् । अहिले सेनाले पनि कुरा बुझेको छ । प्रहरीले पनि बुझेको छ । त्यसैले सेना प्रहरी पनि जनतासँग भिड्ने मनस्थितिमा छैन । त्यसैले सत्ताधारीहरुले सेना प्रहरीलाई उत्तेजित बनाएर जनतासँग भिडाउन गरिएको प्रपञ्च हो । हाम्रो पार्टीको महासचिबले पनि यो समाचारको खण्डन गरिसक्नुभएको छ । त्यो मिडियामा आएको भ्रम हो । हामी सेना प्रहरीसँग युद्ध चाहँदैनांै । हामी उनीहरुसँग सहकार्य गरेर दलाल सत्ताबिरुद्ध संघर्ष गर्न चाहन्छौं ।

अहिले गृहमन्त्री नै भनिरहेका छन् विप्लवले सेना तयार ग¥यो भनेर । के गृहमन्त्रीले भने जस्तै तपार्इंहरु सेना तयार गर्दै हुनुहुन्छ ?
– गृहमन्त्रीले के भन्छन् भन्ने बिषयमा खासै ध्यान नदिऔं । त्यो उनको कुरा भयो । हाम्रो कुरा त आम जनता जनमुक्ति सेना हुन् र आम जनमुक्ति सेना जनता हुन् । अब तपाई आफैं भन्नुहोस् गृहमन्त्रीको चार कम्पनीको कुरा मिल्छ त ? सिंगो देश जनमुक्ति सेना हो यसरी बुझौं । यसको मतलब हामी सिंगो देशलाई जनमुक्ति सेनामा रुपान्तरण गर्दैछौं । केही झुण्ड परिचालन गरेर यसको अन्त्य हुन्न । यसको आकार विशाल छ । जनमुक्ति सेना बिचारले बन्ने हो । बादल सरकारकै भित्र पनि जनमुक्ति सेना हुन सक्छन् ।

अनि बादल सरकार कै भित्र पनि जनमुक्ति सेना हुन सक्छन् भन्दै हुनुहुन्छ कतै मिलिभगतमा जनतालाई गुमराह पो बनाउदै हुनुहुन्छ कि ?
– यस्ता कुरा नगरौं । हामी बलिदान गर्न तयार बनेर हिंडेका छौं । कोसँग मिलिभगत गर्नुप¥यो र यहाँ । जनताले छर्लङ्ग देखिरहेका छन् हामी के गर्दैछौं  । वर्तमान सरकार के गर्दैछन् । त्यसैले जनता भ्रममा छैनन् । बिद्रोह त सबै जनताको दिमागमा आइसक्यो । तर, यो असंगठित छ । अब बिद्रोहमाथि सरकारले गर्ने दमनले यसलाई संगठित गर्छ । जनता संगठित हुने क्रममा छन् । जनता लड्छन्, हेर्दै जानु होला । दलालहरुलाई जनताले नै धुलो चटाएर लखेट्छन् ।
यो सरकारलाई पटक–पटक तपार्इं दलाल सरकार भन्दै किन लाञ्छित गर्दै हुनुहुन्छ । के आधार छ यसको ?
– यो सरकारलाई दलाल सरकार नभनेर के भनौं त ? समाजबादी सरकार भन्नलाई त सो अनुसारका कामहरु गरेको हुनु प¥यो नि ? ब्यबहारमा देखिनु प¥यो होइन र ? काम जति सबै दलाल, भ्रष्टाचारी, माफिया र गिरोहहरुका गर्ने अनि जनतालाई दुःख दिने, राष्ट्रघात गर्ने भनेपछि यो सरकार दलाल त भयो नि होइन ? मुख्य कुरा अहिलेको सत्तालाई हामीले दलाल पूँजीवादी संसदीय सत्ता भनेर संश्लेषण गरेका छौं । त्यसैले त्यो सत्ताको सेवा गर्ने सरकार दलाल सरकार नै हो । अब अर्को ढङ्गले पुष्टि गर्ने हो भने यतिबेला हामीले जनताका जीवनमा घटित संकटहरु समाधानको बिषयमा बहस उठाएका छौं । त्यहींबाट हामी आन्दोलित छौं । हामीले गरेको आन्दोलनलाई दबाउन उद्धत हुनुपर्ने केही कारण छ त सरकारसँग ? यदि यो जनताको सरकार भइदिएको भए त जनस्तरबाट उठेका जनताका प्रस्तावहरु माथि गोली बर्षाउँदै आउने थिएन नि । प्रतिबन्ध लगाउने, गोली हान्ने, यातना दिने, जनतालाई आतंकित पार्ने, मिडियालाई दुःख दिने, नागरिक अभियन्ताहरुलाई दुःख दिने भएपछि यो सरकार जनताको भयो त ? कसले भन्छ यसलाई जनताको सरकार ? जताबाट तर्क गरे पनि यो दलाल सरकार नै हो ।

तपाईंहरुका खास माग चाहि के नि ?
– तपार्इंका मागहरु जे हुन् हाम्रा माग पनि तिनै हुन् । जो आज आम उत्पीडित, दमित, शोषित जनताले उठाइरहेका छन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा यो कुराको ग्यारेन्टीसहितको ब्यक्तिगत जीवन । देशको स्वाधीनता, विश्वकै उच्चतम् बिकास, समृद्धि, सुख, शान्तिसहितको राष्ट्र । विश्वमै उत्कृष्ट पहिचान भएको सफल राष्ट्रका हामी असल नागरिक जसले विश्वलाई सुन्दर र सुखी बनाउन प्रयत्न गर्न सकोस् । यस्तो अवस्थामा रहेको समग्र हाम्रो जीवनको कल्पना, सपना र त्यसलाई पूरा गरिछाड्ने संकल्प हाम्रो छ । यी मागहरु हामीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राख्दा पूरा हुन्छ जस्तो लाग्छ ? प्रचण्डले पूरा गर्देलान् त ? यो सिष्टमले गर्ने हो । त्यो बैज्ञानिक समाजबादी सत्तामा सम्भव हुन्छ र बिस्तारै बिश्वलाई एउटै बनाउन गरिने साम्यवादी प्रयत्नमा मात्र त्यो सम्भव हुन्छ । त्यसैले हाम्रो माग बैज्ञानिक समाजवादी सत्ता हो । यो आम जनताको माग हो ।

अनि सिंङ्गो मुलुक आफैं सञ्चालन गर्ने जस्ता कुरा गर्नुहुन्छ अनि फेरि किन भूमिगत हुनु प¥यो नि ? कतिदिन लुकेर बस्ने ?
– कसले भन्यो हामी लुकेर बसेका छौं । तपाईंलाई अन्तरवार्ता दिइराखेका छौं त । जनतासँगै छौं त खै कहाँ लुक्यौं ? तपाईंसँग बसेर चिया खान नभ्याएको मात्र हो । यसको अर्थ हामी लुकेका छैनौं । हामी जनता कै काममा ब्यस्त छौं । सरकार दमनमा उत्रिएको छ । हामीले कहिलेकाहीँ तर्किनु पनि पर्छ । हामीलाई लगाएको प्रतिबन्ध र जनसरकारको कामबाट उनीहरु पनि तर्किएरै हिँडिरहेका छन् । हामी मुठभेडको पक्षमा छैनौं । हामी शान्ति चाहन्छौं । मुर्दा शान्ति होइन, दिगो शान्ति, सुख र समृद्धिको लागि हामी आन्दोलित छौं ।

प्रहरीले तपाईंहरुका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गरिरहेको छ । अहिले कति नेता तथा कार्यकर्ता प्रहरी नियन्त्रणमा छन्, उनीहरुको अवस्था के छ ?
– हो पूर्वमा राज्य आतंक ज्यादै बढेको छ । ठ्याक्कै यति भन्ने मसँग आंकडा त छैन । तर, ३० भन्दा माथिको संख्यामा हाम्रा नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । मेचीबाटै नौ जना कमरेडहरु गिरफ्तारीमा पर्नुभएको छ । उहाँहरु माथि झुट्टा मुद्दा लगाइएको छ । अहिले उहाँहरुलाई झापा र इलामका हिरासत र कारागारमा राखिएको छ । राज्यदमनको प्रतिबाद गर्न हामी सबै तयार भएरै लागेका हौं । त्यसैले जेल, हिरासत, बलिदानी भन्ने बिषय हाम्रो निम्ति स्वीकार्य बिषय हो । जेल, हिरासतभित्रबाट पनि हामी क्रान्तिको ज्वाला दन्काइरहेका छौं । हाम्रा कमरेडहरु भित्रैबाट क्रान्तिको काम गर्दै हुनुहुन्छ । हामी सबैले गर्ने पनि त्यही हो ।

अब निकासको विकल्प के त ?
– अबको निकास अहिलेको पुँजीवादी संसदीय सत्ताको समूल अन्त्य र बैज्ञानिक समाजबादी सत्ताको स्थापना हो । जसको निम्ति एकीकृत जनक्रान्ति आवश्यक छ । बाँकी बिषय बुद्धिजीवीहरुले बोल्नु पर्र्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here