जब विद्यार्थी प्रहरी कार्यलय पुगे…

0
898

विनोद सापकोटा,
दिया अधिकारी झापाको दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविमा कक्षा ९ मा अध्ययरत् छन् । गएको बिहीबार उनका साथीसँग पहिलो पटक उनी प्रहरी कार्यालयमा पुगिन् । कसैविरुद्ध उनको न त उजुरी नै थियो । प्रहरीले कार्यालयमा कस्तो काम गर्दोरहेछ, सर्वसाधरणसँग प्रहरीको व्यवहार समेत बुझ्न दिया उनका साथीसँग इलाका प्रहरी कार्र्यालय झिलझिले पुगेकी हुन् ।

प्रहरी देख्ने र सुन्ने बित्तिकै यसअघि उनको मुटुको धड्कनले गति बढाउथ्यो । प्रहरीका छेउछाउमा उनी कहिल्यै परेकै थिइनन् । प्रहरी कार्यालय भन्ने बित्तिकै उनले फटाहाहरुले जागिर गर्ने ठाउँ हो भन्ने बुझेकी थिइन् । यतिमात्र होइन प्रहरीले सर्वसाधरणलाई सधै दुःख दिइरहन्छ, मान्छेलाई बिना कारण थुनामा राख्छ, कुट्छ भन्ने बुझेकी थिइन् । ‘१४ वर्षसम्मको मेरो बुझाई गलत रहेछ’ –उनले भनिन्– ‘प्रहरी त मेरो साथी पो रहेछ ।’

महिला तथा बालबालिकामा हुने अनेक प्रकारका हिंसाका घटना उनले आम सञ्चारमाध्यमबाट सुनेकी थिइन् । तर, कहाँ उजुरी गर्ने, कसलाई भन्ने बारेमा उनलाई जानकारी थिएन । उनले भनिन्– ‘प्रहरी भन्ने बित्तिकै डरले पुरै सरिर काप्ने गरेको थियो ।’ प्रहरीसँगको एकदिनको बसाईमा उनले आफू र आफ्नो समाजलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा राम्ररी बुझिन् । उनले भनिन्– ‘म पनि बिना बर्दीको प्रहरी रहेछु ।’ समाजको हितका लागि आफ्नो कर्तव्य एकदिन प्रहरीसँग बसेपछि थपिएको उनले बताइन् । उनका अनुसार मानवता र समाजका विरुद्ध हुने कुनै पनि घटना हुन नदिने उनले बताइन् । उनले भनिन्– ‘आफू ठीक भए घर, समाज र सिङ्गो देश नै ठिक हुने रहेछ ।’

दियासँग प्रहरी कार्यलयमा पुगेका उनकै समकक्षी दर्पण निरौला पनि व्यक्ति, गाँउ घर र सिङ्गो समाजको सुरक्षाका लागि प्रहरीले सिकाएका टिप्सबाट परीक्षामा अंक थपिनेमा ढुक्छ छन् । उनले भने– ‘कुनै अपराधका घटना हुन लागेको वा भए, प्राकृतिक प्रकोपको घटनामा १०० नम्बरमा फोन गर्छु, त्यस्तै सडक दुर्घटना भए ट्राफिक प्रहरीलाई खबर गर्न १०३ नम्बर डायल गर्छु ।’ –उनले भने– ‘दुर्घटना हुन नदिन आफू र आफ्ना साथीलाई सजग रहने र सम्भावित खतराबाट जोगिन म मेरो घर, समाजको सुरक्षा गर्न सक्ने भए ।’

कुसुम अधिकारी पनि दिया र दर्पणसँगै प्रहरी कार्यालयमा गएका थिए । उनले इलाका प्रहरी कार्यालयको मुद्दा शाखा, प्रशासन शाखा, हिरासत कक्ष, कार्यालय प्रमुखको कार्यकक्ष, प्रहरी सहायता कक्ष, डिउटी अफिसरको कार्यकक्ष, सेवाग्राही आउँदाको बस्ने र छलफल गर्ने ठाउँको निरीक्षण गरे । उनले मात्र होइन सो विद्यालयका कक्षा ९ का ४० भन्दा बढी विद्यार्थीले प्रहरीबाट पाउने सेवाको जानकारी लिए । ‘शुरुमा हामीलाई प्रहरी कार्यालयमा किन बोलाएको होला भनेर डर भयोे, हामीले साथीसँग पनि कानेखुसी गर्दे भन्यौ’ –अर्की निलिशा पौडेलले भनिन्– ‘कसले के गल्ती गर्यो अब पुलिसको चुटाई खाने भयो भनेर डरायौं तर, हामीलाई सिकाउन पो ल्याएको रहेछ ।’

विद्यार्थीसँग विषयगत शिक्षक गोविन्द काफ्ले पनि थिए । क्लासमा अपराधका विषयमा सिकाई हुन्थ्यो काफ्लेले भने– ‘विद्यार्थीले प्राक्टीकलरुपमा सिक्न पाए ।’ प्रहरी कार्यालयमा आएका अधिकांश विद्यार्थी जिज्ञासु थिए । कतिपय विद्यार्थीले लागूऔषध, यौन दुव्र्यवहारका घटनाका बारेमा प्रहरीसँग खुलेर कुरा गरे । विपरीत लिङ्गी आफन्त वा साथीहरुबाटै यौन दुव्र्यवहारका घटना समाजमा हुने गरेको पनि उनीहरुले प्रहरीलाई सुनाए । यस्ता घटना हुन खोजे आफैंले प्रतिकार गर्ने, अभिभावकलाई सुनाउने, प्रहरीलाई खबर गर्ने जस्ता कुरा सिक्न पाएको विद्र्यार्थीले बताएका छन् ।

झापामा प्रहरी मेरो साथी कार्यक्रम लागू छ । जिल्लाका सबै प्रहरी कार्यलयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालित भए पनि एकाध बाहेक सबै प्रहरी युनिटले प्रहरीसँग सर्वसाधरणको बुझाई क्लियर गर्न सकेका छैनन् । जसका कारण अपराध नियन्त्रण समेत हुन नसकेको स्वयम् प्रहरीको बुझाई छ । इलाका प्रहरी कार्यालय झिलझिलेले एक दिन विद्यार्थीसँग गरेको अन्तक्रियाका कारण बालिका बलात्कारका आरोपी पक्राउ परे । विद्यार्थी प्रहरी कार्यालयमा आफैं आएर उजुरी गरे । यतिबेला प्रहरी कार्यालयमा सर्वसाधरणकोभन्दा बढी कल विद्यार्थीको आउन थालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन भए समाजमा अपराध घट्ने अनुभवी प्रहरीको भनाई छ ।

प्रहरीले कहिले स्थानीय तहका जनप्रतिनिधि, कहिले गैर संघ–संस्थाका प्रतिनिधि त कहिले विद्यार्थी बोलाएर गाउँघरका अपराध खोज्न थालेको छ । यस्ता कार्यक्रमले सर्वसाधरणले प्रहरीसँगको बुझाई पनि क्लीयर हुने गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । स्थानीय सेभेनसीज बोर्डिङ्ग स्कूल, झिलझिले माध्यमिक विद्यालय र पशुपति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीले प्रहरीले गर्ने कामको बारेमा राम्ररी बुझेका छन् । प्रहरी निरीक्षक गिरीले भने– ‘यो कार्यक्रम गाँउ–गाँउमा पुग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here