मेसिनबाट धान काट्दा मख्ख

0
991

दमक।

झापामा धान काट्नका लागि आधुनिक ठूलो मेसिन प्रयोगमा किसानहरु मख्ख परेका छन् । कृषि मजदुर नपाएको अवस्थामा मेसिनको प्रयोगबाट धान काट्न पाउँदा किसानहरु मेसिनप्रति आकर्षित भएका हुन् । एकातिर कृषि मजदुरको अभाव र अर्कातर्फ उत्पादन लागत बढेको अवस्थामा किसानहरु नयाँ प्रविधिमा आकर्षित बन्न थालेको पाइएको हो ।

मेसिन प्रयोग गरेर धान काट्दा माडिएर खेतमा नै धान झर्छ भनेर चिन्तित भएका गोविन्द खड्का एउटा धानको बालो पनि खेर नगएपछि निक्कै खुशी भए । १० कठ्ठाभन्दा बढी खेतको धान आधा घण्टामा नै ‘कम्बाइन हार्भेष्टर’ मेसिनले काटेको थियो । यति छिटो धान काटेर झार्छ भन्ने कल्पना पनि थिएन– खड्काले भने ।

प्रतिघण्टा ६ हजारको दरले धान काट्नका लागि ल्याइएको हार्भेष्टरले धान काटेको हेर्ने किसानहरुको भिड नै लागेको थियो । धान काट्ने र त्यहीं झार्ने मात्र नभएर पराल समेत दाउनी गर्नु नपर्ने गरी राम्रो बनाउँदोरहेछ– खड्काले भने । ३ हजार रुपैयाँ तिर्दा धान काटेर घरमा नै थन्क्याउन समेत पुगेको उनको भनाइ छ ।

अर्का किसान प्रतिमान खड्काले पनि पहिलोपटक हार्भेष्टरबाट धान कटाएका छन् । खेताला नपाएर हैरान भइरहेको अवस्थामा धान काट्ने मेसिन पाउँदा खुशी लाग्यो– उनले भने । उनले लगाएको १५ कठ्ठा धान एक घण्टा नपुग्दै काटेर थन्क्याउन भ्याएको उनले बताए ।

हातले धान काट्दा, मुठा पार्दा, उठाउँदा र झार्दा मेसिनभन्दा दोब्बरसम्म खर्च हुने भएकाले यसको प्रयोग पछिल्लो समयमा किसानहरुले गर्न थालेको गौरादहस्थित साना किसान सहकारी संस्था महारानीझोडाका अध्यक्ष मीन ढकालले बताए । अहिले गौरादह र आसपासको क्षेत्रमा दैनिक जसो कम्बाइन हार्भेष्टरको प्रयोग भइरहेको उनले जानकारी दिए ।

कम्बाइन हार्भेष्टरले गहँु काट्ने र दाउनी पनि गर्ने गर्छ । स्थानीय सरकारले कम्बाइन हार्भेष्टरमा अनुदान नदिए पनि धान काट्नका लागि रिपर भने दिँदै आएको छ । रिपरभन्दा कैयौ गुना हार्बेष्टर लाभदायक र छिटो छरितो हुने बताइन्छ ।

खेतमा गरा साना तथा आली धुर धेरै भएकोले मेसिन प्रयोग गर्न असुविधा भएको किसानको भनाइ छ । खेतका गरा ठूला बनाउँदा अहिले लागेको खर्च पनि कम हुने रहेछ– स्थानीय अगुवा किसान ख्याम आचार्यले भने । समयको बचत र लागत खर्च कम गर्नका लागि यो उपयुक्त देखिएको किसानको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here