कुशुम योन्जन तामाङ,
‘प्रेम’ पछिल्ला केही दिनहरुमा यो शब्द मेरो लागि बडो चिन्तनको विषय बनिरहेको थियो । लाग्थ्यो यो विषयमा म खुब चिन्तित छु र यो कुराले मलाई खुब पीडा भइरहेको छ । के हो प्रेम ?, के यो गर्ने काम हो ? कसरी हुन्छ प्रेम ? म यहाँ जीवनका अरु सम्बन्धभन्दा पनि नितान्त एउटा लोग्नेमान्छे र आईमाई मान्छेबीच हुने प्रेमबारे सोच्दै थिए । अँह ! साँच्चै थाहा छैन प्रेमको परिभाषा । संसारमा आजसम्म कसैले प्रेम भनेको यही हो भनेर भन्न नसकेको कुरो मैले के जानु । जीवनका आ–आफ्नै भोगाई, परिस्थिति अनुसार यसका पनि आ–आफ्नै परिभाषा हो सायद । मानिस राम्रो हुँदैन, राम्रो हुन्छ त केवल उसको उमेर कतैं सुनेको यो कुरा सम्झिँदा लाग्छ सायद मेरो पनि उमेर कै करामत होला यी सब कुरा म भुल्न खोज्नु ।
जीवनमा भर्खरै मात्र कोपिलाबाट फूल हुँदै गर्दा यो अल्लारे जोवनसँगै बैँशालु मन बोकेर हिँडिरहेकी एउटी तरुनी केटी माया–प्रेमको कुरामा रुमल्लिन खोज्नु त्यति नौलो कुरा पक्कै होइन । कक्षा ६–७ मा हुँदा स्वास्थ्य विषयमा पढेकै कुरा हो उमेर वृद्धि भएसँगै विपरीत लिङ्गिप्रति बढी आर्कषित हुनु यो स्वभाविक कुरा हो । एउटा प्रश्न आफैसँग अनि के–यस्तो आकर्षणलाई पनि प्रेम भन्न सकिीछ र ? साँच्चै अनौठो र गज्जबको लाग्दो रहेछ जब कसैसँग हामी आकर्षित हुन्छौं, जब कसैसँग भावनाको कुरा हुन्छ अनि माया–प्रेम भएको जस्तो कुरा हुन्छ । जब एउटी बैँशले उन्माद तरुनी केटीसामु कुनै एउटा केटाले दुःखेको जिन्दगीको केही खात राख्दै, दुःख भुलाएर रमाउँदै अब सँगै हिँडौं भन्ने बात गर्छ । मायालु पाराले मायाको कुरा गर्छ तब प्रेम भनेको यही हो जस्तो लाग्दोरहेछ ।
मलाई पनि त त्यस्तै लाग्यो, जाबो मोबाइल फोन र च्याट बक्समा हुने भावना र प्रेमका कुराले यो मन प्रेमिल बन्यो । अदृश्य भएर पनि देखे जस्तो, नभएर पनि भए जस्तो खै कस्तो–कस्तो अनौठो किसिमको महशुस गर्दोरहेछ मनले । एउटा अञ्जान लोग्नेमान्छेले मायालु पारामा मायाको कुरा गर्दैमा त्यसलाई सत्य सम्झिएर आफैमा हराएर उसैलाई सम्झनु मुर्खता बाहेक अरु के हुन सक्छ र ? यो शब कुरा थाहा हुँदाहँुदै पनि कहिलेकाहीँ यो मन मुर्ख साबित हुन पनि तयार भई दिदोरहेछ । अब यसलाई प्रेमको नाम दिउँ की चञ्चले यौवनले मात्तिएर गर्ने उपद्रो भनौँ ।
केही समयअघिको कुरा हो एक युवकसँग मेरो पनि चिनाजानी भयो । नामथरको परिचयपछि मित्रताको सम्बन्ध शुरु भयो । हिजोआज साह्रै सहज कोसौँ टाढा भए पनि इन्टरनेटको माध्यमबाट सँधै नजिक हुनसक्ने । अब अरु के चाहियो र बिहान सबेरदेखि बेलुकी अबेरसम्म कुराकानी हुन थाल्यो । शुरुमा मित्रता अनि केही दिन बितेपछि आत्मीय मित्रताको सम्बन्ध पनि बन्यो । आत्मीय भई सकेपछि त अब अझ धेरै कुरा हुन थाल्यो । तपाईबाट शुरु भएको सम्बन्ध अब तिमीमा । तपाई मलाई राम्रो लाग्छबाट शुरु भएको कुरा के तिमी म सँग बिहे गर्छौ भन्ने जिज्ञासासम्म । जे होस् यो सबै एकैदिनमा भएको कुरा चाहिँ पक्कै होइन, वर्षौ दिनको कुरा हो यो पनि ।
यी सबै र यस्तै कुराले मन उकुस–मुकुस भएर निसास्सिरहेको थियो । के म पनि प्रेम सम्बन्धमा छु त ? के साँच्चै उसले भने जस्तै गरी उसले मलाई प्रेम गर्छ होला त ? के उ मसँग साँचो हृदयले कुरा गरिरहेको छ, ना होइन मसँग आफ्नो मन बहलाउन र समय बिताउन मात्र पनि त कुरा गरिरहेको हुनसक्छ… यस्तै अनेकथरि नचाहिँदा प्रश्नले मन भरिएको थियो । बेला–बेला त हामी दुईबीच भएको संवाद मात्र सम्झिँदा पनि निसास्सिएर सासै फेर्न गाह्रो हुने । अझ कहिलेकाहीँ त रातमा निद्रा नपर्ने, कस्तो अचम्म न कसैसँग बोल्न मन लाग्यो न त खेल्न डुल्न नै, खाली एकान्तमा टोलाएर हराउने मात्र । माया–प्रेमको कुरामात्र हुँदा यस्तो नहुनुपर्ने हो । तर, सायद मेरो जीवनमा पहिलोपटक कुनै पुरुषले माया–प्रेमको कुरा गरेको भएर हुनसक्छ मलाई यो सामान्य कुरा पनि भयङ्कर लागिरहेको थियो । अझ प्रष्ट भन्ने हो भने केही दिनयता यही कुराले मन छटपटाइरहेको थियो अनि अनुहारमा दुःखी र निराशा देखापर्न थालेको थियो । आखिर के हो ? किन ? केका लागि ? भनेर सोेचिरहेको र प्रश्नै–प्रश्नको लहरामा अल्झिरहेको यो बेलामा आज अचानक एउटा घटना भयो ।
म नउठ्दै एकाबिहानै मोबाइलमा घण्टी बज्यो भाइले गरेको रहेछ, किन बाबु ? गेट खोली देउन म बाहिर छु । एकैछिनपछि थाहा भयो उसलाई कसैले राति फोन गरेको रहेछ, आफ्नो बिरामी बच्चाको लागि रगत चाहिएर । ए नेगेटीभ ब्लड ग्रुप भएको मान्छे भनेर अस्पतालले मोबाइल नम्बर उपलब्ध गराएको रहेछ त्यसैले भाइसँग सम्पर्क भएछ । रगत दिनकै लागि भनेर भाइ एकाबिहानै धरानबाट दमक आएको देखेर साह्रै खुशी लाग्यो । नचिनेको मान्छेबाट उसलाई सहयोगको अपेक्षासहित फोन आएको मात्र थियो । तर, आफ्नै बच्चा बिरामी भए जस्तै गरी अस्पताल जान भाइ हतारिएको देखेर म छक्क परे । आज शनिबार अर्थात् भाइको ब्रत हतार–हतार पूजा कोठामा गएर कलशको पानी फे¥यो र दियो बाल्यो म हेरिमात्र बसे । आवाज निकालेर बोल्दै थियो हे भगवान ! त्यो बच्चा छिटै निको होस् । आज त शनिबार किन पूजा नगरेको तिमीले ? मलाई सोध्यो । एकछिनपछि गर्न लागेको थिए, मेरो जवाफ । अब उसलाई के थाहा कि म चाहिँ फोन र म्यासेजमा हुने नचाहिँदो माया–प्रेमको कुरा सम्झिएर रातभर जाग्राम बसेको हा…हा… ।
एकैछिनपछि दिदीभाइ दमकको आम्दा अस्पताल पुग्यौँ । बिहानै पनि आज आकाश धुम्म थियो मेरो मन जस्तै । अनावश्यक रुपमा कालो बादल आकाशमा मडारिरहेको, मलाई यस्तो पटक्कै मन पर्दैन । अस्पतालको गेटमा पुगेर भाइले फेरि फोन ग¥यो । म आइपुगे हजुर कहाँ हुनुहुन्छ ? मान्छे चिन्ने कुरै थिएन, फोनबाट नै चिन्नुपर्ने थियो । एकैछिनपछि ७०–७५ वर्षको देखिने हाम्रो हजुरबुबा जस्तै तर अलि फरक सेतो लामो दाह्री भएको अनि लुङ्गी र कुर्ता लगाउनुभएको एकजना मुसलमान बुबा आइपुग्नुभयो । भाइले इशारा गरेरै भन्यो हजुर हो ? हो… हो…। नमस्कार, नमस्कार..भाइ भन्दै थियो मैले के गर्नुपर्ने ? ऊ भित्र… उतापट्टि त्यहाँ जाउन पहिला । भाइ र मुसलमान बुबा अघि–अघि अनि म दुबैलाई पछ्याउँदै । केही छिनपछि थाहा भयो उहाँको तीन वर्षको नाति बिरामी । अनौठो किसिमको रोग लागेको रहेछ । शरीरमा रगतको कमी । जन्मिएको तीन महिनापछि रोग पत्ता लागेको रे ।
रगत तपाईंले दिने हो ? एकजना दाइले सोध्नुभयो । हजुर हो । खाजा खाएर आउनुभएको हो ? होइन… खाली पेट रगत झिक्न मिल्दैन त्यसैले केही खाजा खाएर आउनु ल । हुन्छ…। अस्पताल बाहिर नजिकैको दोकानमा खाजा खाएर हामी फेरि भित्र पस्यौं । भाइको रगत निकालियो त्यसपछि बिरामी बच्चालाई हेर्न भाइ अर्को कोठामा पस्यो । अहो ! कति उदेगलाग्दो दृश्य मनै कटक्क हुने सानो बालख बच्चा चकचक गर्दै, खेल्दै, चिच्याउँदै यताउता दौडनुपर्ने, रुनुपर्ने, हाँस्नुपर्ने तर अँह बच्चा जस्तो हुनुपर्ने त्यस्तो थिएन बेहोस् थियो ।
अस्पतालको बेडमा सजाउन राखिएको एउटा रबरको गुडीया जस्तै । अझ म त भन्छु जबरजस्ती राखिएको शव कुहिएर सिनो हुन नसक्ने एउटा लास जस्तो । म हेरिरहेकी थिए त्यो सानो बच्चा कति राम्रो आँखा । सामान्यभन्दा लामो आँखीभौँ भएको, गोलो अनुहार चिटक्क परेको, कति मायालु अनुहार । बच्चामा देउताको बास हुन्छ भन्छन् नी त्यस्तै त्यो अबोध बालकको अनुहार आहा ! कति सुन्दर, निश्चल, निर्मल, चोखो, छलकपट केही नभएको निश्वार्थ प्रेमले पोतिएको अनुहार । लाग्यो हामीले महशुस गर्ने प्रेमको स्वरुप सायद यही हो । भाइ आँखाभरि आँशु टिलपिल बनाउँदै त्यो सानो बेहोस् बच्चाको कपाल सुम्सुमाइरह्यो । नजिकै बच्चाको आमा–बाबा पनि हुनुहुन्थ्यो निराश, दुःखी, चुपचाप केही सोध्न मन पनि भएन । एकछिनपछि मुसलमान बुबाले भन्नुभयो खै कस्तो रोग लागेको होला मेरो नातिलाई, हाँस्दैन, खेल्दैन, बोल्दैन छट्पटाउँछ मात्र । आँखाको डिलबाट आँशु खस्नमात्र सकेको थिएन उहाँको ।
इन्डियाको डाक्टरले भनेको अप्रेसन गर्न ७५ लाख रुपैयाँ लाग्छ रे मेरो नाममा भएको घर र सबै जमीन बेच्दा पनि त्यति पैसा नपुग्ने रहेछ । जीवनमा केही ईच्छा छैन मेरो नाति ठीक भई दिएमात्र हुन्थ्यो, आफ्नो सन्तान आफ्नै आँखा अगाडि छटपटाएर मर्न लागेको हेर्नु साह्रै गाह्रो हँुदोरहेछ । मुटु फुटे जस्तो लाग्छ, माया लाग्छ । मरेको हेर्न सक्दिन मुसलमान बुबाले यसो भन्दा सबैको आँखा रसायो । मैले सुनेकी थिए मुसलमानहरुको हृदय दह्रो हुन्छ, उनीहरु कमजोर हुँदैनन्, रुदैनन् अनि उनीहरु साँच्चै कठोर हृदय भएका हुन्छन् यस्तै तर मैले आज सुनेको कुराभन्दा ठीक विपरीत देखे यहाँ, एउटा मुसलमान बुबा कमजोर भएर, हारेर रोएको देखिरहेकी थिए । अब थाहा भयो हाम्रो मन मस्तिष्कमा भ्रमले कति कब्जा जमाएको रहेछ । मानिसको हृदय पो हो त पत्थर त होइन नी सबैको मन उस्तै त हो पीडा हुँदा रुन्छ, आतिन्छ र कहिलेकाँही दह्रो हृदय पनि कमजोर बनी दिन्छ ।
आजको दिनमा पनि हामी चिच्याउँदै जात, धर्म र वर्गको कुरा गर्छौं त्यसका वाबजुत आज मैले देखेँ एउटा मुसलमानको बच्चाको शरीरमा खुनको कमी हुँदा अर्को हिन्दूको बच्चाले त्यो कमी पूरा गर्न मिल्दोरहेछ । फेरि हाम्रो समाजमा यो सब कुरामाथि नाराबाजी किन भइरहेको छ । त्यतिबेला मनमा लागिरहेको थियो यदि मिल्थ्यो त यो शरीरको शबै रगत दिएर त्यो बच्चालाई सँधैको लागि निको बनाउन पाए हुन्थ्यो । कास सम्भव भइदिए । यो अस्पतालको कोठाभित्र बसेर चारैतिर एक नजर मात्र घुमाउँदा पनि स्पष्ट देख्न सकिन्थ्यो प्रेम, पीडा, जीवन, मृत्यु, सुख, दुःख, आँशु र हाँसो भनेको के रहेछ ।
यतिबेला आएर म झसंग भए संसार कति ठूलो रहेछ, यहाँ मान्छेहरु कति धेरै समस्या बोकेर बाँचिरहेकका रहेछन्, सहनै नसक्ने पीडा हृदयमा बोकेर पनि ओठले मुस्कुराइरहेका, मृत्यु नजिक भएर पनि छटपटीमा बाँच्न खोजिरहेको, खोजे जस्तो र रोजे जस्तो जिन्दगी त सायदैको हुन्छ होला । यद्यपि आजसम्म मलाई पीडाको पहाडले किच्याएको छैन रहेछ जिन्दगीमा । कति लाजमर्दो कुरा केही दिनदेखि म समस्यामा छु जस्तो लागिरहेको थियो । तर, म त केवल आफै कसैले मसँग गरेको भ्रमपूर्ण प्रेमको कुरामा अल्झिएर एक्लै छट्पटाइरहेको मात्र रहेछु ।
प्रेममा त आनन्द पो मिल्छ त । अब थाहा भयो म मेरो जीवनमा जुन कुरालाई प्रेम अनि पीडा सम्झिरहेको थिए त्यो त केवल भ्रम रहेछ । अरुको कुरामा बहकीनु किमार्थ प्रेम हुन सक्दैन । यस्तो कुरामा अल्झिनु भनेको आफ्नो मन–मस्तिष्क बिरामी पार्नु मात्र हो । र, अन्त्यमा अब उप्रान्त यो मनलाई बहकीन नदिने निधो गरे र मनमनै भने जीवनमा प्रेमप्रति केही भ्रम रहेछ म सँग जुन आजबाट हट्यो र म प्रेमलाई त्यो दिन स्वीकार्ने छु जुनदिन मलाई प्रेमसँग छटपटी हुने छैन र मनमा द्विविधा हुने गरी कुनै प्रश्न हुने छैन । हुनेछ त केवल प्रेममात्र । यसपछि म र भाइ त्यहाँबाट बिदा भयौं ।
गेट बाहिर निस्किएपछि ठूलो आवाजमा रेडियोमा भजन घन्किरहेको सुनियो, बिहानीको समय भएकोले होला नजिकै कुनै पसलमा भजन बजिरहेको थियो– ‘ईश्वर अल्लाह तेरे नाम…’ यो शब्द सुनेर ओठ अनायसै मुस्कुरायो । हेरे आकाशको कालो बादल बिस्तारै फाट्दै थियो । आकाश खुल्दै थियो । जसरी आकाश सफा हुँदै थियो त्यसरी नै मनभित्रका सारा भ्रम हट्दै धेरै दिनदेखि गुम्सिएको मेरो पनि पुनः खाली–खाली हुँदै थियो ।