योजना कागजमै सीमित नहोस्

0
432

सरकारले कृषि क्षेत्रको दिगो विकासका लागि किसानलाई वर्गीकरण गर्दै योजना निर्माण गर्ने निर्णय गरेको छ । देशको आम्दानीको आधार कृषि हो र बहुसंख्यक नेपाली कृषि पेशामै आश्रित रहेका कारण देशको समृद्धिको आधारमा पनि कृषि क्षेत्रकै विकास हो । यसकारण पनि कृषिमा प्रविधि, उपकरणहरुको पहुँच बढाएर बजारको विश्वासयोग्य व्यवस्थापन गर्नैपर्छ । किसानको देश भनिने नेपालीको पहिचान यतिबेला रेमिट्यान्सको देशमा रुपान्तरित भएको छ । यसले सरकारको नीति, योजना, निर्णय र त्यसको कार्यान्वयन ‘पानीको फोका’ होला कि ! आशंका उब्जाउँछ ।

सरकारले कृषि कर्ममा आधुनिकता प्रवेश गराउन ‘क्षेत्र’ नै घोषणा गरेको छ । यस आधारमा अन्न, तरकारी, फलफूल उत्पादनका लागि विशेष क्षेत्र घोषणा गरेर सेवा, सहुलियत लगायतका साथ प्रविधि पनि हस्तान्तरण गर्दैछ । तर, त्यसका लागि पर्याप्त जनशक्ति नहुँदा एकातिर सरकारी योजना व्यर्थ हुने डर छ भने अर्कातिर किसानले उत्पादन गरेको खाद्यान्न, त्यो पनि प्रमुख खाद्य बाली धानले लागतको आधारमा मूल्य नपाएर किसानलाई ‘रुनु न हाँस्नु’को अवस्थामा पु¥याएको छ ।

किसानको वर्गीकरण विश्वको प्रयोग भन्दै हाम्रा कृषि मन्त्रीले त्यसपछि दुई वर्षभित्रमा नेपाल कृषिमा आन्तनिर्भर हुने बताएका छन् । मन्त्रीको सपनाले आकार ग्रहण नगरुन्जेलमा हाम्रो परनिर्भरताले आकाश छोएको हुनसक्छ । किनकि ऊर्जावान युवा विदेशिएका छन्, विदेशिने क्रममा छन् । रोजगारी, शिक्षा वा अरु कुनै बहाना बनाएर देश छाड्ने युवाको मात्रै होइन गर्भ मै रहेकाहरुको समेत सपना, लक्ष्य र अर्जुनदृष्टि हुन थालेको छ । नेपालीमा यस्तो विदेश मोह कहाँबाट जागृत भयो ? कसले उकेरा लगायो र कोबाट प्रेरित भए त्यसको हिसाब बेग्लै छ ।

विदेश जान नपाएका, आर्थिक वा प्राविधिक कारणले रोकिएका बाहेक कृषि कर्ममा वृद्ध–वृद्धा र उमेर नपुगेका मात्र हुन थालेका छन् । जमिन त्यसै पनि खण्डित भइरहेको छ त्यसमाथि जमिन बेचेर भौतिक सुख बटुल्ने, विलाशितापूर्ण जीवन बाँच्ने लालसाले कृषि कर्म हराउँदैछ । यस्तोमा सरकारको योजना कुन गन्तव्यका लागि हो छुट्याउन सहज छैन । किनकि उसकै तथ्यांक अनुसार पनि गत वर्ष विनियोजित मध्ये अस्सी करोड रुपैयाँ खर्च हुन नसकी फ्रीज भएको थियो । त्यसकारण सरकारले युवापुस्तालाई आकर्षित गर्ने योजना ल्याउनुपर्छ, त्यसो नभए उसका योजना कागज सिंगार्नका लागि मात्रै हुनेछन् । यसले हाम्रो वर्षौदेखिका सुखी र समृद्धशाली नेपाली बन्ने आकांक्षा जहाँको तहीं रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here