बृद्ध चौतारी

0
852

लघु कथा

तुलसीराम खरेल,
वयोबृद्ध रणबहादुरको जीवनमा धेरै आशा पलाएर आएका देखिन्थे । प्रत्येक शनिबार बृद्ध चौतारीमा दुई दर्जन बढी ज्येष्ठ नागरिकहरु भेला हुन्थे । रणबहादुरलाई बृद्ध चौतारोमा पुग्न बीस मिनेट जति हिँड्नु पर्दथ्यो ।

बस्तीको माझमा बनाइएको फराकिलो हल, जेष्ठ नागरिक एवम् अपाङ्गमैत्री शौचालय, फूलबारी, अध्ययन कक्ष, पहाडका दृष्यहरु हेर्न सकिने दृष्यावलोकन टावरसहितको उक्त स्थानमा दौँतरीसँग भेट गर्ने सौभाग्य नै मिले झैँ लाग्थ्यो उनलाई । टीका सर र रीता बहिनीले प्रायः कार्यक्रम सञ्चालन गर्थे । संगीनी, बालन, गीत, कविता र कथा, मुक्तक र चुट्किला, भजनकिर्तन आदि बिधाहरुलाई साप्ताहिक रुपमा समाबेस गरिन्थ्यो ।

प्रत्येक महिना उत्कृष्ठ र सक्रिय ज्येष्ठ नागरिक छनौट गरेर पुरस्कृत समेत गरिन्थ्यो । आफ्ना जीवनमा घटेका घटनाहरु, राम्रा अनुभवहरुको साटासाट गर्ने अवसर मिलाइन्थ्यो त्यहाँ । उनले पल्लभीलाई फकाएको तरिका सुनाए, मकैबारीमा फक्रिएको प्रेमको लहरो ताने अनी पत्नी वियोगको घाउ कोट्याए । उनका कथाले धेरैलाइ एकै चोटी रोमाञ्चित र भावुक बनायो ।

रणबहादुर एकल थिए । उनकी श्रीमती पल्लभीको १६ बर्षअघि नै स्वर्गारोहण भइसकेको थियो । ८२ बर्षका रणबहादुरले गाउने, नाच्ने गरेर, कथा, कविता सुनाएर सबैलाई मन्त्रमुग्ध पार्थे । दोस्रो विश्वयुद्धपछिको बर्मेली बस्तीका कथाहरु सुनाउँदा धेरैका आँखामा त्रासले चियाएको देखिन्थ्यो । उनी आफ्नो समयका भारतीय सेनाका जागिरे थिए ।

कथाका केही पुस्तकहरु समेत लेखेका उनको प्रतिभा घरमा मृत थियो । छोराबुहारीको ब्यस्तता र नाति–नातिनाको मोबाइल, टिभी मोहका अगाडि उनको जीवन्त इतिहास भ्यागुत्तो जाडोमौसममा जमीनभित्र निधाए झैँ निधाउन बाध्य भएको थियो ।

उनको स्फूर्ति बृद्ध चौतारीले बढाइदिएको थियो । सुगरफ्री बिस्कुटको खुत्ते स्वादलाई ‘ग्रीन टी’ले रुचीकर बनाउँथ्यो बृद्ध चौतारीमा । बृद्ध साथीभाइहरुसँग गफिँदा दिन बितेको पत्तै हुँदैन थियो । यसरी उनको जीवनको ८२औँ बसन्त रङ्गीन भएको थियो जसरी उक्त चौतारीको बगैँचामा रङ्गीन फूलहरु हाँसिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here