साँखु।
सडकको अवस्थाबाट आजित बनेका साखुँवासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )नेता माधवकुमार नेपालको बाटो छेकेका छन् । शङ्खरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुग्नुभएका नेपाललाई विभिन्न पटक आश्वासन दिने तर सडकको निर्माणमा चासो नदिने भन्दै साँखुवासीले बाटो छेकेका हुन् ।
साँखु क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको भन्दै इन्द्रायणीका मिलन खड्काले जनताको समस्या सुन्नका लागि समय दिनुपर्ने माग गर्नुभएको थियो । ख्डकाले सडकका कारण दुर्घटना नभएको दिन नभएको भन्दै सडक सुधार तथा छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न नेपालसमक्ष माग राख्नुभयो ।
स्थानीयवासीले जनताको समस्या सुन्नका लागि नेता नेपालसमक्ष आह्वान गरेपछि नेपाल पछि आउँछु भनेर कार्यक्रमस्थलबाट गाडी चढेर हिँड्नुभएको थियो । सोही क्षेत्रबाट निर्वाचित भएर पनि जनताको गुनासो सुन्न समय नदिएर हिँडेको भन्दै स्थानीयवासी सर्वसाधारणले नेपालविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
चावहिल–साँखु सडकखण्डका सर्वसाधारण लामो समयदेखि सडकको दुरवस्थाका कारण निकै समस्यामा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले दिनहुँ हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । सडक निर्माणमा विलम्ब भएको भन्दै छिटो निर्माण गर्न सम्बन्धित पक्षसँग उनीहरूको माग छ ।