आगामी आर्थिक वर्षको राजश्व र व्यय सभामा पेश

११ असार २०७६, बुधबार मा प्रकाशित

अर्जुनधारा।

स्थानीय सरकार सञ्चालन ऐन २०७४मा उल्लेख भए अनुसार अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७को राजश्व र व्ययको अनुमान सभामा पेश गरेको छ ।

उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय(बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र पेश गर्नुपर्ने प्रावधान अनुसार नगरपालिकाले राजश्व र व्ययको अनुमान सभामा पेश गरेको हो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नंं.१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित पाँचौं नगर सभामा उपप्रमुख एवम् योजना तर्जुमा समितिकी संयोजक कमला खतिवडा आचार्यले आगामी आर्थिक वर्ष ०७६÷०७७को लागि एक अर्ब पाँच करोड ९० लाख ३९ हजार रुपैयाँ बराबरको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।

पेश भएको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन तथा राहत सम्बन्धी, विद्युत तथा वैकल्पिक उर्जा सम्बन्धी, सामाजिक विकास सम्बन्धी, वन तथा वातावारण सम्बन्धी, कृषी तथा पशुपंक्षी सम्बन्धीलगायत १५ वटा नीति उल्लेख गरिएको छ ।

उल्लेखित नीतिहरु अन्र्तगत भौतिक पूर्वाधार क्षेत्रको एकीकृत र व्यवस्थित विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन सोचका साथ विकास निर्माणका कार्यहरु अघि बढाउँदै एकीकृत नगर विकास योजना निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, प्रदेश सरकारको एक स्थानीय तह एक पर्यटकीय पूर्वाधार निर्माण आयोजनासँग समन्वय गरी वडा नं २को सहकाले, साठीमुरे क्षेत्रमा पर्यटकीय विकास गर्ने, नगरभित्र उत्पादन हुने फोहोरको समुचित व्यवस्थापन गर्न ल्याण्डफिल साईटको खोजी तथा फोहोरलाई मोहोर बनाउने नीति रहेका छन् ।

त्यसैगरी प्राकृतिक प्रकोपबाट जनधनको क्षति व्यहोरेका नागरिकलाई तत्काल राहतका लागि प्रकोप राहत कोषको स्थापना गरी आवश्यक रकम विनियोजन गर्ने, आगामी तीन वर्षभित्र नगरपालिकालाई पूर्णरुपमा विद्युतीकरण गर्ने, आगामी तीन वर्षभित्र नगरपालिकाको साक्षरता दर शतप्रतिशत बनाइने, सबै वडाहरुमा न्यूनतम एक आधारभूत स्वास्थ्य केन्द्र रहने नीति अवलम्बन गर्ने, कृषि बालीहरुको उत्पादकत्व वृद्धी गर्न सामुहिक तथा संस्थागत विकासमा जोड दिने नीति लिइनेलगायत रहेका छन् ।

त्यस्तै सभामा पेश भएको बजेट, नीति तथा कार्यक्रमसँगै “अर्जुनधारा नगरपालिकाको विनियोजन ऐन २०७६”, “आर्थिक ऐन २०७६”, आगामी आर्थिक वर्षको अनुमानित आय र व्यय विवरणका विषयमा छलफल हुने बताइएको छ । सभा विहिबार  विहान ११ बजे २९ मिनेट ५९ सेकेण्डसम्मको लागि स्थगित गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here