मलामी विश्रामस्थल निर्माणले स्थानीय हर्षित

१७ असार २०७६, मंगलवार मा प्रकाशित

इलाम।

जन्मनु र मर्नु स्वभाविक प्रक्रिया हो । तर, मरेर पनि बाँच्नु भनेको मानव जीवनको सबैभन्दा ठूलो कुरा हो । यो शब्द इलामको रोङ–१ सिरिसेकी ९३ वर्षीया धनमाया घिमिरेको हो । उनले भनिन्– ‘एक न एक दिन मरिन्छ, तर मरेपछि पनि बाँच्ने काम गरे जस्तो लागेको छ ।’

गाउँमा कसैको मृत्यु भए घण्टौंसम्म बोकेर लासलाई घाटसम्म पु¥याइन्छ । उक्त कुरालाई ध्यानमा राखेर ९३ वर्षीया घिमिरेले चारआनी जग्गादान दिएपछि हाल सो स्थानमा मलामी विश्रामस्थलको निर्माण गरिएको छ । जग्गादाता घिमिरेले जग्गा उपलब्ध गराए लगत्तै रोङ गाउँपालिकाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेर मलामी विश्राम स्थलको निर्माण शुरु गरिएको थियो ।

गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदान पछि एक महिनाको अवधिमा मलामी विश्रामस्थल निर्माण गर्न सफल भएको निर्माण समितिका अध्यक्ष गणेश ढकालले जानकारी दिए । स्थानीयले ४९ हजार एक सय ५७ रुपैयाँ बराबरको जनश्रमदान गरेर मलामी विश्रामस्थलको निर्माण गरिएको निर्माण समितिका सचिव विवेक आर्चायले बताए ।

गाउँमा कसैको मृत्यु भए टाङटिङ दोभानमा अन्त्येष्टि गर्ने गरिएको छ । मौसम अनुकूल हुदाँ त जसोतसो ठिकै हुन्छ मौसम प्रतिकुल हुँदा मलामीलाई समस्या हुने गरेको स्थानीयको भनाई छ । जङ्गल क्षेत्रमा बस्ने र मलामीलाई खाजा दिने स्थानको अभाव भइरहेको समयमा घिमिरे परिवारले जग्गा उपलब्ध गराएपछि मलामी विश्रामस्थल निर्माण गरिएको बताइएको छ । विश्रामस्थल निर्माण भएसँगै तीन सयभन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

विश्रामस्थलको निर्माण भएसँगै स्थानीयले फूलका बिरुवा समेत रोपेका छन् । उक्त स्थानमा भवन निर्माण गर्नु एक दशकअघि भवन निर्माण समितिका अध्यक्ष ढकालले घिमिरे परिवारसँग एक जोडी वर–पीपल रोप्ने जग्गाको नगद दिएर वर–पीपल रोपेका थिए । ढकाल सम्झन्छन्– ‘घरमा पुराण लगाएँ, वर–पीपल पनि रोप्ने काम गरेँ र छोरीको विवाहसँगै वर–पीपलको विवाह पनि गरिदिएको थिएँ ।’

वर–पीपल भएकै स्थानमा मलामी विश्राम–स्थलका लागि वृद्धा आमाले जग्गा दिएपछि स्थानीय हर्षित भएका छन् । उनीहरुले उक्त स्थानमा बाटोको समस्या रहेको भन्दै वडाध्यक्ष वृद्धिबहादुुर ढकालको ध्यानाकर्षण समेत गराएका छन् ।

पैदल हिँड्न समेत समस्या भएकाले बाटोका लागि आफूले सक्दो सहयोग गर्ने वडाध्यक्ष ढकालले आश्वासन दिएका छन् । मलामी विश्राम स्थल निर्माण लगत्तै स्थानीयबासी त्यहाँ चित्तास्थल निर्माण गर्नतर्फ पनि अग्रसर भएको बताइएको छ । घाटको जग्गा छुट्याएर चित्तास्थल निर्माण गरिने जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here