हल्दिबारी गाउँपालिकाले ११ र १२ कक्षा निःशुल्क पढाउने

१७ असार २०७६, मंगलवार मा प्रकाशित

दमक।

झापाको हल्दिबारी गाउँपालिकाले कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीहरु निःशुल्क अध्यापन गराउने भएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको मासिक शुल्क गाउँपालिकाले व्यहोर्ने भएको हो । यसबाट कम्तिमा पनि बार्षिक दुई सयदेखि दुई सय ५० जनासम्म विद्यार्थी लाभान्वित हुने जनाइएको छ ।

आउँदो आर्थिक वर्षका लागि प्रस्तुत भएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार यस गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुबाट विद्यालयले कुनै शुल्क लिएमा त्यस्ता विद्यालयहरुलाई कारवाही गरिने र कक्षा १२ सम्म निःशुल्क पठनपाठनको ग्यारेन्टी गरिने गाउँपालिका उपाध्यक्ष एवम् गाउँपालिका शिक्षा संयोजक डम्बर गिरीले बताएका छन् ।

‘हामी प्रति विद्यार्थी मासिक पाँच सयका दरले विद्यार्थीको मासिक शुल्क सामुदायिक विद्यालयलाई उपलब्ध गराउछौ’ं –गिरीले भने । यसका लागि कम्तिमा पनि १० लाख बजेट आन्तरिक स्रोतबाट विनियोजन गरिने उनले बताए । कक्षा १० सम्म सरकारी विद्यालयमा निःशुल्क भनिए पनि कक्षा ११ र १२ मा सामुदायिक विद्यालयहरुले शुल्क लिने गरेका थिए ।

कक्षा बढ्दै गएसँगै बिपन्न विद्यार्थीहरुले शुल्क कारण विद्यालय छाड्ने र एसईई पछि विद्यालय पढ्नेको सख्या कम हुने भएकाले यो कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा रहेको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । अब एसईई परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीहरुले कक्षा ११ निःशुल्क पढ्न पाउने छन्– अध्यक्ष लिङ्देनले भने ।

गाउँपालिकामा हल्दिबारी, जनजागृति र लक्ष्मी माविमा कक्षा ११ र १२ पढाइ हुन्छ । यसका साथै बेसहारा तथा अभिभावक गुमाएका बालबालिकाहरुको किताब कापीको खर्च पनि गाउँपालिकाले व्यहोर्ने र नीति तथा कार्यक्रममा नै यसलाई समेटिएको अध्यक्ष लिङ्देनले बताए । सामुदायिक विद्यालयमा पठनपाठन गर्ने बेसहारा बालबालिकाहरुका लागि मासिक पाँच सय रुपैयाँ स्टेशनरी तथा किताब–कापीका लागि उपलब्ध गराउने उनले बताए ।

त्यस्तै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर अभिवृद्धि गर्नका लागि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई पोशाक र स्कुल ब्याग निःशुल्क उपलब्ध गराइने नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

घिमिरेका अनुसार सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा प्रवद्र्धन गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ देखि व्यवस्था गरिएको घुम्ती कम्प्युटर शिक्षक, खेल प्रवद्र्धन गर्न व्यवस्था गरिएको घुम्ती खेल प्रशिक्षक, योग शिक्षा प्रवद्र्धन गर्न व्यवस्था गरिएको योगा प्रशिक्षकको व्यवस्थापनलाई निरन्तरता दिइएको छ । घुम्ती खेल प्रशिक्षक र योगा प्रशिक्षकलाई श्रम ऐनले व्यवस्था गरेको मासिक न्यूनतम् सेवा सुविधा उपलब्ध गराइने घिमिरेले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. अति प्रसंंशनिय र सह्रनिय कार्य,हरेक निम्न नागरिकहरुले शिक्षाकाे उज्यालाे घामबाट बञ्चित हुन नपराेस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here