काठमाडौँ।
कुल जनसङ्ख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने गरेका छन्, त्यो पनि ब्रोडब्यान्ड ।
यसै वर्षको वैशाखसम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभर एक करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने पाइएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले गरेको कुल दुई करोड ९५ लाख बराबरको नेपालको जनसङ्ख्याको प्रक्षेपणका आधारमा प्राधिकरणले यो तथ्याङ्क तयार पारेको हो ।
कुल जनसङ्ख्याका आधारमा मोबाइल ब्रोडब्यान्डको पहुँचमा रहेको सङ्ख्या करिब आधा हो । प्राधिकरणले थ्रीजीस्तरको इन्टरनेट सुविधालाई ब्रोडब्यान्ड मान्ने गरेको छ, जसको ग्रामीण क्षेत्रमा न्यूनतम गति ५१२ केबीपीएस निर्धारण गरिएको छ ।
नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेका छन् । त्यसमध्ये स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ ।
मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये अधिकांश थ्रीजी प्रयोगकर्ता छन् जसको सङ्ख्या एक करोड नौ लाख हाराहारी छ । सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ६८ लाख ३९ हजार थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका ४० लाख ६६ हजार ।