अब नेपालमा फेरि युद्ध आवश्यक छ ?

0
958

तीर्थराज खरेल,

संसारको इतिहास युद्धले भरिएको छ । प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्ध मात्र होइन, सयौं हजारौं युद्धहरुले विश्वको इतिहासका पानाहरु भरिएका छन् । युद्धका गाथाहरु मौखिक र लिखित दुबैरुपमा छताछुल्ल छन् । ऐतिहासिक युगमा मात्र नभएर प्राग–ऐतिहासिक युगमा पनि आफ्नो अस्तित्व, अभिमान, अहम्, पकड र साम्राज्य कायम गर्न लडिएका अनेकौं युद्धका दुर्दान्त क्षति र विभत्स विनाशका सयौं–हजारौं घटना र परिघटनाका श्रृंखलासहितका युद्धका कथा, कहानी, पुराण र दन्त्यकथा तथा किम्बदन्तीहरु सुन्न पाइन्छन् । यस्तो लाग्छ मानौं इतिहासमा र प्राग इतिहासकालमा संसारमा भएकै युद्ध मात्र हुन् र युद्धले छोडेका घाउमा मल्हमपट्टी लगाउँदै र युद्धले जर्जर बनेको भौतिक र मनोवैज्ञानिक भग्नावशेषमाथि नयाँ सभ्यता सृजना गर्दै पुनः अर्को युद्धको तयारीमा जुट्नु नै जीवनको उपक्रम थियो ।

अंग्रेजी साहित्यकाशका चम्किला तारा महान नाटककार विलियम शेक्सपियरपछि दोस्रो वरियतामा रहेका सुप्रसिद्ध नाटककार जर्ज बर्नार्ड शले आफ्नो चर्चित नाटक ‘दी आम्र्स एण्ड दी म्यान’ मा मुख्यपात्र मार्फत भन्छन्– ‘संसारको इतिहास युद्धको इतिहास हो र शान्ति भनेको दुई युद्धबीचको समय हो, जो युद्धको तयारीका लागि खर्चिन्छ ।’ युद्धलाई इतिहासको अनिवार्य नियतिको रुपमा वैज्ञानिक समाजवादका प्रणेता कार्ल माक्र्सले सन् १८४८ मा प्रकाशित ‘कम्युनिष्ट घोषणापत्र’ मा ब्याख्या गरेका छन् । इतिहासप्रतिको आफ्नो चिन्तनको सारलाई संश्लेषण गर्दै माक्र्स भन्छन्– ‘आजसम्मको संसारको इतिहास वर्ग संघर्षको इतिहास हो ।’ संसारका सबैजसो धर्मका शास्त्रहरुमा जल, नभ र थलमा भएका युद्धहरुको वर्णन पाइन्छन् । आधुनिक इतिहास लेखनको क्रमको शुरुवात नै नभएको बेलामा पनि विपुल विकासको जगमा आजका अत्याधुनिक शस्त्रअस्त्र जस्तै हात–हतियारसहित युद्ध भएका विस्तृत व्याख्याहरु पाइन्छन् ।

अमेरिकी शान्ति अभियानकर्ता डेभिड स्वास्सन भन्छन्– ‘यदि हामी युद्धको अन्त्य गर्न चाहन्छौं भने हामी यसलाई समाप्त गर्न काम गर्न चाहन्छौं । यद्यपि यदि तपाईंलाई लाग्छ कि युद्ध कम हुँदैछ, यसले काम बिना काम गरिरहने छैन । र, जबसम्म कुनै युद्ध हो, व्यापक युद्धको एक महत्वपूर्ण खतरा हो । युद्धहरू एकपटक शुरुवात भएमा नियन्त्रणमा लाग्न गाह्रो हुन्छन् ।’ वास्तवमा विश्वका शान्तिकामी जनताहरुले सम्पूर्णतामा युद्धको उन्मूलनको प्रस्ताव गरेका छन् । तर, युद्ध कुनै न कुनै रुपमा शासकहरुले थोपरिरहेका छन् । युद्ध संगठनको बलमा, राज्यको शक्तिको तागतमा भइरहेका छन् । तसर्थ, युद्धको निरन्तरालाई रोक्न वा युद्धको समाप्तिका लागि हामीलाई शिक्षा, संगठन र सक्रियता चाहिन्छ । हामी यी चरणहरू अझ शक्तिशाली बनाउन संरचनात्मक परिवर्तनहरूको आवश्यकता पर्दछ ।

संसारमा यतिबेला युद्धको मूल कारण संयुक्त राज्य अमेरिका, उत्तर कोरिया, इरान, लिबिया लगायतका मुलुकका शासकहरुले लिएका नीतिका कारण भइरहेको छ । विदेशीहरुको आगमनबाट हुने भय, राष्ट्रवाद, धर्म, चरम भौतिकवाद, डर, लोभ, घृणा, झुटो गौरव, अन्धा आज्ञाकारिता, पर्यावरणीय विनाशता, समानुभूतिको कमी, सेनाको प्रशंसा, पुनरुत्थान आदिबाट युद्धको बीऊ रोपिने गरेको हुन्छ ।

संसारको उत्कृष्ट काव्य मानिएको महाभारतमा राजनीति, कुटनीति, समाज विज्ञान, समाज धर्म, अधिकार र कर्तव्यका अनेक पाटा छन् । महाभारतकालीन युद्ध फगत त्यसकालको मात्रै युद्ध थिएन । आजको राजनीति, झगडा, लडाइँ, कटुता, कूटता सबैमा महाभारतको अनुशरण देखिन्छ । महाभारतको सन्दर्भलाई लिएर भन्ने हो भने युद्धको कारण अधर्म हो, अन्याय हो । व्यासले भने जस्तै राजनीति आज पनि छ, युद्ध आज पनि छ, सत्तापक्ष र प्रतिपक्ष आज पनि छ । न्याय–अन्याय, असल–खराबबीचको लडाइँ आज पनि छ । सत्ता र प्रतिपक्ष भनेको सरकारमा बस्ने र संसद्को प्रतिपक्षी बेन्चमा बस्ने होइन । उनीहरूले लिएका पक्षधरताको सत्य परख गरेर पहिल्याउने विषय हो । यस्तो लडाइँ, झगडा, युद्ध भोलि पनि चलिरहन्छ, जसरी हिजो चलेको थियो, जसरी आज चलेको छ । युद्धको महिमामण्डित गर्ने क्रम आज पनि जारी छ ।

महाभारतको युद्ध दुई किसिमका थिए– एउटा भौतिक युद्ध, अर्काे मानसिक युद्ध । भौतिक युद्ध कुरुक्षेत्रमा थियो, मानसिक युद्ध धर्म क्षेत्रमा थियो । धृतराष्ट्रलाई महाभारत युद्धको वर्णन गर्ने जिम्मेवारी पाएका सञ्जयले धर्मक्षेत्र र कुरुक्षेत्र दुबैको वर्णन गर्थे । अर्थात् युद्ध मैदानमा कसले के गरिरहेको छ र योद्धाहरूका मनमा के खेलिरहेको छ, उनी सविस्तार बताइ दिन्थे । आजको मानव जीवनको कथा पनि त्यही हो । आजको मान्छे पनि कर्मक्षेत्रमा दौडिरहेको छ, युद्धमा जस्तै । युद्धका कारण के हुन् ? मानिसभित्र, जातिभित्र गढेको अपमानको खिलले युद्धको आधार तयार गर्छ र युद्धका कारण हजारौँ योद्धा मर्ने र हजारौँ बालक अनाथ हुने कटुसत्य हो । महाभारतको स्वर्गारोहण पर्वमा जब युद्धको समीक्षा हुन्छ र त्यसबेला सबै पक्षले आफ्नो कमजोरी स्वीकार गर्छन् । युद्धको वास्तविक कारण पहिचान हुन्छ । महाभारत युद्धको महाविनाशमा इष्र्याको विष चिन्तनलाई कारक मान्न सकिन्छ ।

युद्धको गौरवगाथा गाएर आफ्नो जातीय, व्यक्तिगत, अन्धराष्ट्रवादी सोच युद्धमार्फत लागू गर्न खोजे पनि युद्ध भनेको जताततै बम, गोली र बारुदको त्रासको पहिरोमुनि बस्न अभिषप्त हुनुपर्छ । नेपालमा पनि युद्धमार्फत नेपाल एकीकरणको अभियान सञ्चालन गरिएको थियो भने ‘जनताको पूर्ण मुक्ति र जनगणतन्त्र नेपालको स्थापनाको मुख्य लक्ष्य’ बनाएर २०५२ सालदेखि शुरु गरिएको जनयुद्धको कारण २० हजार बढी नेपाल आमाका सन्तानहरुले बलिदान दिन बाध्य भए भने र कतिपयको हालसम्म बेपत्ताको स्थिति नै रहेको छ । द्वन्द्वकालीन यस्ता घटनाको सूची मात्रै बनाउँदा पनि महाभारतभन्दा ठूलो किताब बन्ला । शान्तिप्रक्रियापछि जनयुद्धका मुख्य योजनाकार तथा सञ्चालकहरु संसदीय राजनीतिमा आए पनि एउटा माओवादी समूह हिंसामै रमाउन खोजिरहेको छ ।

केपी ओलीको सरकारले ‘एकीकृत जनक्रान्ति’ को उद्घोष गरेर हिंसात्मक बाटोमा लागिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि फेरि संकटकालीन समय दोहोरिन्छ कि भन्ने त्रास व्याप्त छ नेपालमा । अपहरण, चन्दा असुली, बन्दुक, गोली र बारुदको चपेटमा परिने पो हो कि भन्ने भय बढेको छ, सर्वसाधारण नेपालीको मनमा । सरकारी प्रतिबन्ध सामना गरिरहेका विप्लव नेतृत्वको नेकपाको मत छ– तत्कालीन माओवादीका नेताहरु प्रचण्ड, बाबुराम र बादलहरुले तय गरेको ‘राज्यसत्ता बाहेक अरू सबै भ्रम हुन्’ भन्ने बाटो भुले अर्थात् बन्दुकको बलमा राज्यसत्ता कब्जा गर्ने बाटो भुले ।

प्रश्न छ–विप्लवले भने जस्तो हिंसात्मक क्रान्तिका लागि आजको पुस्ता तयार छ ? के नेपाल फेरि हिंसा र प्रतिहिंसाको मार्गचित्रबाट अघि बढ्न तयार छ ? दश वर्षे जनयुद्धको आडमा सम्पन्न २०६२÷०६३ को दोस्रो जनान्दोलनको तागतमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई नामेट गरी एकीकृत जनक्रान्ति मार्फत ‘जनगणतन्त्र नेपाल’ को स्थापनाका लागि चुनावी बाटोको सट्टा बलपूर्वक राज्यसत्ता कब्जा गर्ने बाटो लिएका कारण युद्ध अनिवार्य बन्ने निश्चित छ । त्यो उद्देश्य पूरा गर्नका लागि विप्लव नेतृत्व हिंसात्मक गतिविधिमा संलग्न रहेको छ ।

विप्लवले भन्ने गरेको क्रान्तिका लागि नेपाली समाज कति तयार छ ? क्रान्तिका लागि आजको पुस्ता कति तयार छ ? क्रान्तिको आवश्यकता किन ? क्रान्तिको बीऊ त जहाँ पनि रोप्न सकिन्छ । तर, त्यो बीऊ उमार्न मनोगत परिस्थितिभन्दा वस्तुगत अवस्था पनि तयार हुनुपर्छ । मुलुकले जनयुद्ध र जनआन्दोलनपछिका वर्षमा संविधान निर्माणको सकस झेल्यो । यी सबै कठिनाइ पार गर्दै नेपाल नयाँ संविधान र नयाँ राज्य व्यवस्थामा पुगेका छ । संघर्ष, सकस, संविधान र राज्य व्यवस्थाको परीक्षा हुनै बाँकी छ । तर, परीक्षा नै नभइकन विप्लव कमरेडले अर्को युद्धको उठान गरेका छन् । युद्धका घाउ अझै निको भएका छैनन्, नेपालका हरेक गाउँ शहीदहरुका गाउँ भएका छन् । हाम्रो हरेक पुस्ता हरेक दशकमा राज्य व्यवस्था परिवर्तनका लागि लड्ने योद्धा मात्रै हो ? परिवर्तित राज्य व्यवस्था राम्रोसँग अनुभूत गर्न नपाई क्रान्ति गर्न तम्सिने हरेक पुस्ता योद्धा मात्रै हो त ? हाम्रो हरेक पुस्ता शहीद हुन मात्रै जन्मिएको हो ?

यथार्थ तीतो हुन्छ । विप्लवले भने जस्तो हिंसात्मक क्रान्तिका लागि अहिलेको पुस्ता तयार छैन, बरु युवाहरु आफ्नो परिवार पाल्नका लागि वैदेशिक रोजगारमा जान तयार छन् । यो पलायनवादी सोच लागे पनि जीवन निर्वाहका लागि नेपालीहरु स्वदेश वा विदेश जहाँ भए पनि श्रममा सामेल हुनु स्वाभाविक हो । विप्लव समेत सामेल तत्कालीन माओवादीले शुरु गरेको युद्ध विगतको गर्तमा लुकेको मात्रै हो । त्यसका पीडा र त्रास अझै सतहमा छन् । लडाइँमा घाइते भएका पूर्वमाओवादी लडाकुले उपचार नपाएर उपचारका लागि भीख मागिरहेका छन् । र, १० वर्षे युद्धको समयमा बेपत्ता पारिएका नागरिकका परिवार अझै आफन्तको खोजीमा छन् । विप्लवले युद्ध शरु गरे भने फेरि हजारौं नागरिक मारिने छन् । हजारौं नागरिक बेपत्ता पारिने छन् । लाखौं मानिस विस्थापित हुने छन् । त्यसैले वर्तमान राज्य व्यवस्थामा देखिएका कमी–कमजोरी र गल्तीलाई सुधार गरेर वर्तमानलाई नै सुखद् बनाउनु सयौं गुणा सही हुन्छ । तर, बम र बन्दुक पड्किने देशमा कसले लगानी गर्ला ? किन लगानी गर्ने ? रोजगार नपाएर युवा बिदेशिएका छन् । भोलि देशमा युद्ध चर्कियो भने समृद्धि सपना कल्पिँदै कति युवा बस्लान् देशमा ? परिवर्तनका लागि भन्दै २००७ सालयता नेपालीले बारम्बार बन्दुक बोके । बन्दुकले परिवर्तन पनि ल्यायो ।

तर, जसै परिवर्तन संस्थागत गर्ने समय आउँछ, हामीमा फेरि क्रान्ति र बन्दुकको मोह जाग्छ । स्थिरता चाहियो भन्छौं । तर, जसै स्थिरताको बाटोमा पाइला मात्रै राख्छौं । हामी अस्थिरता उन्मुख हुन्छौं । सरकारी प्रतिबन्ध र विप्लवको क्रान्तिबीच च्यापिने सर्वसाधारण नै हुन् । एक गाउँबाट अर्को गाउँ जाँदा गौंडा गौंडामा असुरक्षित महशुस गर्ने सर्वसाधारण नै हुन् । आकाशबाट हाम्रै टाउकामा बम खस्ने हुन् । सुराकीको आरोपमा बन्दुकको चिसो नाल हाम्रै छातीमा बिझाउने हो । समृद्ध नेपालका कर्णधार बनाउन समर्पित शिक्षक नै अपहरणमा पर्ने हुन् । प्रतिबन्ध र क्रान्तिको भूमरीमा पेलिने सर्वसाधारण नागरिक नै हुन् । विप्लवको मत छ– ‘क्रान्ति नागरिकका लागि हो ।’ सरकारी मत छ– ‘प्रतिबन्ध नागरिकको सुरक्षा नागरिकका लागि हो ।’

विप्लव पार्टीका चिन्तन र कार्यशैली पनि जनयुद्धको ह्याङ्ओभरबाट प्रभावित छन् । दर्जनौं तर्कहरु र सैद्धान्तिक अडानसहित क्रान्तिको रक्षा गर्ने पवित्र उद्देश्यको नाममा त्यो पार्टीले आफ्ना उग्र गतिविधिहरु सञ्चालन गरिरहेछ, यो कुराले अन्ततः जनयुद्धको पुनरावृत्तितर्फ इंगित गर्दछ । युद्ध त आवश्यक हुन्छ, तर इतिहासमा सधैं युद्ध हुँदैन । क्रान्तिको रक्षाको नाममा पुस्तकपन्थी पवित्रताको वकालतले अब काम लाग्दैन । फेरि त्यही बाटोमा हिँडेर क्रान्ति पूरा हुन्छ भनेर मान्नु नै गलत हो । जनयुद्ध र जनान्दोलनका शहीद र उनीहरुका परिवारको लागि केही गर्न नसकिरहेको अवस्थामा क्रान्तिका नाममा बन्दुक पड्काएर फेरि एउटा शहीदको लामो सूची बनाउनु क्रान्ति होइन ।

हो, गर्न धेरै बाँकी छ, असमानता, थिचोमिचोविरुद्ध लड्नुपर्छ, तर आफैंले सञ्चालन गरेका पेचिला संघर्ष र युद्धबाट प्राप्त उपलब्धीलाई नजरअन्दाज गरेर देश र जनताको विनाशको बाटोमा लाग्नु फेरि अर्को भुल हुन्छ । के ग¥यौं मात्र होइन, एक्काइसौं शताब्दीको आवश्यकता अनुरुप अब के गर्ने भन्ने मुख्य कुरा हो । फराकिलो छाति गरेर क्रान्तिका पक्षधर सबै शक्तिलाई गोलबन्द गरेर अघि जाने हो, सशस्त्र क्रान्तिबाट आएको परिवर्तनप्रतिको स्पीरिटलाई नछोडी आफूभित्रका अहम् र घमण्डलाई सन्तुलनमा राख्ने हो र जडसूत्रवादलाई त्यागेर माक्र्सवादको सारतत्वलाई नेपाली माटोमा युग सापेक्ष रुपमा प्रयोग गर्न आवश्यक छ । हजारौं शहीदहरुको बलिदान, हजारौंको बेपत्ता स्थिति र गोलीका छर्रा बोकेका घाइते अपाङ्ग र लाखौं नेपालीहरुको त्याग तपस्याबाट प्राप्त आजको उपलब्धिको समाप्ति हुने बाटोमा लाग्नु नेपाल र नेपाली सबैका लागि आत्मघाती हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here