सरसफाई अभियान र सरकार

0
657

पूर्वी नेपालको उदाउँदो शहरका रुपमा परिचय बनाउँदै आएको बिर्तामोडमा अव्यवस्था धेरै छ । त्यही अव्यवस्थाभित्रको महत्वपूर्ण पाटो हो यहाँको प्रदुषण । जल, जमिन, वायु र ध्वनि प्रदुषणको मात्रा उत्तिकै छ यहाँ जसको कारक भनेको हामी अर्थात् यहाँका बासिन्दा हौं । जनघनत्व बढ्दै जाँदा र फोहोरको व्यवस्थापन हुन नसक्दा प्रदुषित शहर बन्दै गएको बिर्तामोडका केही उत्साही, सचेत र जागरुक युवाहरुको अग्रसरतामा बिर्तामोड सरसफाई अभियान सञ्चालन गरियो । अभियान शुरु भएको पनि सवा तीन वर्ष भइसकेको छ । खासगरी बजार केन्द्रित सरसफाई अभियानले बजारको सौन्दर्य जोगाउनुपर्छ भन्ने चेत त दियो तर अग्रसरता भने अझै दिएको छैन ।

कुनै पनि ठाउँको स्वच्छता, पवित्रता र शुद्धता त्यहाँको प्रकृति अर्थात् प्राकृतिक सम्पदाले कायम गरेको हुन्छ। प्राकृतिक सम्पदाभित्र पनि नदीनाला, रुख–बिरुवा वातावरण शुद्धताको प्रमुख आधार हो । बिर्तामोडले त्यही आधार पाएको छैन । भएको एकमात्र खोला फोहोर ढल, नल मिसाइएका कारण जलचर प्राणीका लागि समेत अनुपयुक्त भइसकेको छ । अन्य स–साना खोल्सा, पैनी बढ्दो जनघनत्वका कारण, मानिसको स्वार्थ र व्यवहारका कारण अस्त्विविहीन बन्न पुगेका छन् । रुख, बिरुवा अहिले विकास भएको क्षेत्रमा थिएन, सडकले विकास गरेका र केही स्थानीयबासीले लगाएका बिरुवा दुष्परिणामको आंकलन नगरी विनाश गरिएका छन् ।

यस्तो प्रतिकूलताका बीच पनि सरसफाई अभियन्ताहरुले अल्छी मानेका छैनन्, थकाइ मारेका छैनन् । उनीहरुको क्रियाशीलता स्याबासी पाउन लायक छ र नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्न प्रयत्नरत् छ, मान्नु पर्छ । यसबीचमा बिर्तामोडले अधिकार प्राप्त सरकार पाएको छ । स्थानीय सरकार भनिने यसले नगर क्षेत्रका सबै समस्याहरुको समाधान गर्दै दीर्घकालीन र दीगो विकासको अवधारणा अनुरुप योजना निर्माण र कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि पहिलो र मुख्य समस्याका रुपमा रहेको प्रदुषण व्यवस्थापनको काम उसको पहिलो प्राथमिकता हुनुपर्छ । अस्थायी रुपमा फोहोर संकलन गर्ने काम थोरबहुत भए पनि उचित र स्थायी व्यवस्थापन नभएको सर्वत्र चर्चा छ ।

बिर्तामोड नगरपालिकाले यो वर्षका लागि फोहोर व्यवस्थापन शीर्षकमा पचास लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ । त्यसका लागि पूर्वाधार तयार गर्ने काममा उसको अग्रसरता कस्तो रहन्छ, आउने दिनले देखाउला । तर, सधैँ फोहोर संकलन गर्ने अनि स्थानीयले नदी किनारमा सड्ने–नसड्ने फोहोर विसर्जन गर्दै जाने अहिलेकै प्रवृत्ति यथावत राख्ने हो भने अभियान निष्फल हुन्छ । योजना, कार्यान्वयनसँगै नीति–निर्माण गरेर स्वच्छता कायम राख्नका लागि दण्ड–जरिवानाको व्यवस्था नगर्दासम्म स्वयम् सेवा गर्ने अभियन्ताहरुको सेवा र समर्पणले उद्देश्य प्राप्त गर्ने छैन । त्यसैले नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्दै खुल्ला दिसापिसाव गर्ने बाध्यतालाई अन्त्य गर्नुपर्छ । डम्पिङ साइड निश्चित गरेर फोहोरले मोहर कमाउने बाटो रोज्नुपर्छ । अनि मात्र पवित्रता, स्वच्छता र शुद्धतासहितको बिर्तामोड देख्न पाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here