बिर्तामोड,
वाह्रदशी गाउँपालिका – ३ राजगढमा गरिएको कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
निर्माण व्यवसायी र इञ्जिनियरले सडक गुणस्तरीय भएको दावी गरेपनि कालोपत्रे गरिएको सडक उक्किएपछि स्थानीयले विरोध जनाएका हुन् । गाउँपालिकाले सोमवार गरेको अनुगमनका क्रममा मोटरसाइकल स्ट्याण्ड लगाउँदा सडक भासिएको भन्दै विरोध गरेका थिए । ८७ लाख रुपैयाँको लागतमा गाउँपालिकाले राजगढ बजारसहित ३५५ मिटर सडक कालोपत्रे गरेको थियो ।
गत आर्थिक वर्ष नै सडक निर्माणको काम सम्पन्न भए पनि स्थानीयले पटक–पटक सडक गुणस्तरीय नभएको भन्दै आवाज उठाएपछि गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले इञ्जिनियर सहितको टोली लिएर सडकको अनुगमन गरेकी थिइन् । सो क्रममा इञ्जिनियर नरेन्द्र श्रेष्ठले सडक गुणस्तरीय भएको भन्दै उपाध्यक्ष राजवंशीलाई सडकको गुणस्तरका विषयमा चित्त नबुझे दमकबाट सडक डिभिजनको इञ्जिनियर ल्याएर गुणस्तर जाँच गर्न भन्दै अनुगमन समिति संयोजक समेत रहेकी उपाध्यक्ष राजवंशी माथि नै जाइलागे ।
शिवसताक्षी निर्माण सेवाका लोकेन्द्र श्रेष्ठलाई सडकको गुणस्तरको विषयमा जानकारी लिँदा उनले सडक गुणस्तरीय भएको दावी गरेका छन् । उनले भने –‘सवारी गुुड्ने ठाउँमा फलाम लाग्दा सडक भत्किनु नौलो विषय होइन ।’
यता गाउँपालिका उपाध्यक्ष राजवंशीले समेत सडक गुणस्तरीय नभएको बताएकी छिन् । उनले भनिन् – ‘सडक कोट्याउँदा भत्किन्छ, म कसरी गुणस्तरीय भनौं । मलाई प्राविधिक विषयको जानकारी छैन, स्थानीयको गुनासो आएपछि फाइनल अनुगमनका लागि आएकी हुँ ।’
उपाध्यक्ष राजवंशीले इञ्जिनियर श्रेष्ठलाई सडकको गुणस्तर जाँच्न पटक–पटक आग्रह समेत गरिन् । तर, इञ्जिनियर श्रेष्ठले सडक गुणस्तरीय भएको भन्दै सडक जाँच्न मानेनन् ।
वाह्रदशी गाउँपालिका वडा नं.– ३ का अध्यक्ष वीरेन्द्र राजवंशीले पनि सडक गुणस्तरीय नभएको बताएका छन् । उनले भने –‘राति सकड कालोपत्रे गरिएकाले सडक गुणस्तरीय हुन सकेन । म आफैं छु यो सडक कालोपत्रे गर्दा, राति साढे आठ बजेबाट सडक कालोपत्रे थालिएको हो, सक्दा झण्डै डेढ १ बजेको थियो ।’
सडक गुणस्तरीय नभएको जनगुनासो आएपछि सडक अनुगमन गरौं भनेकै हो –वडा अध्यक्ष राजवंशीले भने– सडकको गुणस्तरप्रति ८० प्रतिशत सन्तुष्ट भएपनि म आफैं २० प्रतिशत सन्तुष्ट छैन ।
सडक राति कालोपत्रे गरिएको बताउँदै स्थानीयवासी हेमलाल न्यौपानेले भने – यो काम गुणस्तरीय भएन भनेर हामीले त्यतिबेलै भनेको हो, हाम्रा कुरा त्यो बेला कसैले सुनेनन् । राति १ वजेसम्म म आफैं बसेर कालोपत्रे गर्ने बेलामा सघाएको हो –उनले भने – अहिले पानी पर्दा मट्टीतेल जस्तो पदार्थ बग्छ, अलकत्रा त नबग्नु पर्ने हो ।
उनीमात्र होइन स्थानीय अम्विकाप्रसाद बरालले बाटो कमजोर बनाएको बताए । बेलुका घर जाँदा बाटो पिच गरिएको थिएन, बिहान हेर्दा बाटो पिच भइसकेको थियो । थिचाइ कम भएका कारण बाटो यस्तो भएको हुन सक्छ बरालले भने ।
त्यस्तै कमलराज थापाले पनि बाटो निर्माण गर्दादेखि नै बाटो राम्रो भएन भनेर पटक–पटक सम्वन्धित निकायलाई जानकारी दिएको बताएका छन् । दलवहादुर थापाले समेत बाटो गुणस्तरीय नबनेको बताए ।
त्यस्तै दलवहादुर राजवंशीले कालोपत्रे गरेको बाटो पाँच छ वर्ष नविग्रनु पर्ने हो तर ग्राभेल गरेको भन्दा छिटो भत्किएका कारण अचम्म लागेको बताए ।
यता कर्मचारीले गाउँपालिका उपाध्यक्षलाई अनुगमनका क्रममा पत्रकार बोलाएको भन्दै आक्रोश समेत पोखेको स्रोतले जनाएको छ । स्रोत भन्छ –‘अनुगमनकै बिषयलाई लिएर गाउँपालिकामा तालाबन्दी गर्ने अवस्था सृजना भएको थियो । पछि इञ्जिनियर श्रेष्ठले राजीनामा दिएका छन् ।’
इञ्जिनियर श्रेष्ठ गाउँपालिकाले करारमा राखेका कर्मचारी हुन् । गाउँपालिका उपाध्यक्ष राजवंशी, इञ्जिनियर श्रेष्ठ र योजना शाखा प्रमुख तेजप्रसाद रेग्मी राजगढ बजारमा निर्माण गरिएको सडक अनुगमनका लागि मध्यान्ह १२ वजे पुगेका थिए । सडक गुणस्तरीय नभएको भन्दै पटकपटक आवाज उठेपछि गाउँपालिकाले भुक्तानीसमेत रोकेको बताइएको छ ।