राजनीतिले खुम्च्याएको सामाजिक मानसिकता

0
656

विष्णुप्रसाद खरेल ।

सामाजिक जीवनको चरित्र हो, पारस्परिक सहयोग, स्वतन्त्रता, समन्वय, सहिष्णुता, सह अस्तित्व र मानवियता । एउटा मानिसमा यी विषयहरु समाहित हुनसके भने मात्र उ सामाजिक हुन सक्दछ । अहिलेको समाजलाई विश्लेषण गर्ने हो भने समाजलाई र सामाजिक मानसिकतालाई विथोल्न राजनीति मुख्य कारण बन्न थालेको छ । यसको प्रभाव हाम्रा सामाजिक जीवनका घटना र परिघटनाहरुमा प्रसस्त देख्न पाइन्छ । राजनीतिले मानिसलाई समाजसँग जोडनुपर्ने हो । मानिसको सोच र विचारलाई झन् उदार र सहिष्णु बनाउनुपर्ने हो । तर, त्यो देखिँदैन । एउटा अनौठो चुम्बकीय सम्बन्ध स्थापित गरिदिएको छ, राजनीतिले । अर्को अर्थमा भन्ने हो भने, राजनीतिले हरेक मानिसमा विभाजित मानसिकता तयार गरिदिएको छ । र, नजानिँदो ढंगले सामाजिक विभाजनलाई उकास्ने कार्य भएको छ ।

एउटा मानिसको जीवन– जन्म, मृत्यु, व्यवसाय, प्राकृतिक विपद्, शारीरिक अस्वस्थता, विवाह तथा धार्मिक कार्य, सामाजिक संस्कारहरु, चाडपर्व जस्ता विषयहरुबाट सजिएको हुन्छ । जुनसुकै समुदाय वा संस्कारका मानिसहरुको जीवनमा यस्ता विषयहरुले प्रभावित पारिरहेको हुन्छ । यी घटना र परिघटनाहरुमा मानिसहरुको उपस्थिति, पारस्परिक सहयोग र समन्वय अनिवार्य रहन्छ । अहिले भइरहेको पनि छ । एउटा राजनीतिक दल वा विचारसँग आबद्ध हुनासाथ यस्ता घटनाहरुमा सहभागिता पनि राजनीतिक तवरले हुन थालेको छ । एउटा कुनै गाउँमा हुने जन्म, मृत्यु, व्यवसाय, प्राकृतिक विपद्, शारीरिक अस्वस्थता, विवाह तथा धार्मिक कार्य, सामाजिक संस्कारहरु, चाडपर्व जस्ता विषयहरुमा हुने उपस्थिति राजनीतिक तवरले आकर्षित हुन थालेको छ ।

हामी धेरै मानिसहरुको मृत्यु संस्कारमा सहभागी भएको छौं । उक्त संस्कारमा सहभागी हुनेहरुको अनुहारलाई रामरी नियालेर हेर्दा, ती अनुहारहरु राजनीतिक सम्बन्धको कारणले उपस्थित देखिन्छन् । आफ्नो नाता वा परिवार बाहेकका ठूलो संख्यामा राजनीतिक उपस्थिति देखिन्छ । मानिसको जीवनमा सबैभन्दा ठूलो संबेदनशिलता भनेको मृत्युमा दुःख प्रकट गर्ने नै हो । हामी त्यसमा पनि चुक्न थालेका छौं । एउटा मानिसको मृत्यु संस्कारमा सहभागिताको उत्साह राजनीतिक कारणले कम वा बेसी हुन थालेको छ । आफू सम्बद्ध दलका मानिसको मृत्युमा जुन करुणा जाग्ने गर्दछ, फरक दलका मानिसको मृत्युमा त्यो करुणा जाग्न छाडेको छ । त्यति मात्र होइन आपत् र विपद्का समयमा पनि हामी राजनीतिक भागबण्डाको मानसिकता पाल्न थालेका छौं । एउटा गाँउमा बाढी–पहिरो, आगलागी जस्ता विभिन्न प्राकृतिक विपद्हरुका घटना भइरहन्छन् । यस्ता घटनाहरुमा सहयोग र सहिष्णुताको आश्यकता पर्दछ । तर, यस्ता मानवीय विषयहरुमा पनि हामी राजनीतिक सोचले काम गर्न थालेका छौं । अर्थात्, राजनीतिले हामीलाई र हाम्रो मानसिकतालाई उदार हुन दिइरहेको छैन । विस्तारै हामी राजनीतिको संकुचनमा फँस्न गइरहेका छौं ।

संघर्ष, विरोध र फरक विचार सामाजिक जीवनका अनिवार्य शर्त हुने गर्दछन् । तर, यसले मात्र समाज चल्दैन । यी विषयहरुको समायोजनका लागी समन्वय आवश्यक पर्दछ । जुन कुरा हाम्रो समाजमा विस्तारै हराउन थालेको छ । स्वतन्त्रता मानिसको जीवनको महत्वपूर्ण शर्त हो । स्वतन्त्रताभित्र राजनीतिक विचार रोज्ने, दलहरुमा स्वतन्त्रतापूर्वक समाहित हुने र निर्वाचनमा भागलिने मानिसको अधिकार हो । यसलाई फरक दृष्टिकोणले हेर्न मिल्दैन । तर, हामी एउटा ब्यक्तिको स्वतन्त्रतालाई स्वीकार गर्न सकिरहेका छैनौं । उस्ले रोजेको राजनीतिक विचार र दलीय सहभागिताका आधारमा हाम्रो करुणामा विभेद देखिन थालेको छ । स्वभावैले संघर्ष, विरोध र फरक विचार जस्ता विषयहरु द्वन्द्वात्मक भौतिकवादसँग जोडिएर आउने गर्दछन् । यसैले नै मानिसलाई विकसित हुन उत्प्रेरित गर्दछ । यो उत्पे्ररणालाई सामाजिक सम्बन्धसँग गाँस्न समन्वयको आवश्यकता पर्दछ । त्यो समन्वयको चरित्र भनेकै सामाजिकता हो ।

समाजमा घटेका घटनाहरुमा सामाजिक सहयोग जुटाउने कुरामा राजनीतिले यति गहिरो प्रभाव पारेको छ कि, फरक दल र विचारसँग आवद्ध हुनासाथ हामी भित्रको संवेदनशिलता प्रभावित हुन थालेको छ । त्यति मात्र होइन, सम्मान, प्रशंसा वा प्रोत्साहन गर्न समेत हामी अनिच्छुक देखिन थालेका छौं । सामाजिकताको अध्ययन गर्न र आपसी सद्भाव र सहिष्णुताको विश्लेषण गर्न अहिले सामाजिक सञ्जालले ठूलो सहयोग गरेको छ । कहिल्यै नदेखेको, जीवका आयामहरुमा कहिल्यै सम्बन्ध नभएको मानिसलाई राजनीतिक दलसँग आवद्ध भएकै कारणले गरिने प्रशंसाहरु र ऊ प्रतिको करुणा सामाजिक सञ्जालहरुमा प्रशस्त देख्न पाइन्छ । तर, त्यही परिवेश र घटनाहरुसँग जोडिएको अर्को व्यक्ति जो आफूभन्दा फरक दल विशेषसँग जोडिएको हुन्छ, हामी केही बोल्न र लेख्न तयार हँुदैनौं । वडो अनौठो सामाजिक संस्कारको विकास भइरहेको छ ।

भर्खरै गृहमन्त्री रामबहादुर थापाले निर्मला बलात्कार र हत्याकाण्डका बारेमा बोलेको घटनालाई विश्लेषण गरौं । उनले भने– ‘यस्ता घटना हिजो पनि भए, आज पनि हुन्छन् र भोली पनि भइरहने छन्’ । थापाको यो भनाईप्रति सामाजिक सञ्जालमा कडा प्रतिक्रियाहरु आए । वास्तवमा यो भनाई गैरजवाफदेहिताको गतिलो उदाहरण हो । यो विषय कुनै दल वा राजनीति विशेषसँग जोडिने विषय होइन । यो घटना मानवीय संवेदनशिलतासँग मात्र होइन, राज्यको नागरिक प्रतिको जवाफदेहितासँग जोडिने विषय पनि हो । गृहमन्त्रीको उक्त भनाइले यो देशको सुरक्षा व्यवस्थाप्रति नागरिकहरुको विश्वासलाई चुनौति दिएको छ । तर, सत्ता समर्थक कुनै व्यक्तिले यस्तो संवेदनशील विषयमा आएको थापाको बेतुकको तर्कलाई खण्डन गरेनन् । चुँसम्म पनि बोलेनन् । हुँदा–हुँदा आपराधिक घटनाको संवेदनशीलतामा पनि राजनीति आकर्षित हुन थालेको छ । यही हो राजनीतिले पारेको सामाजिक विभाजन र विभाजित सोचको मानसिकताको गतिलो उदाहरण ।

राजनीतिले हाम्रो सामाजिक संवेदनशिलतामा विभाजन कोरेको छ । यस्तो विभाजनको असर विस्तारै सामाजिक जीवनमा प्रवेश हुँदैछ । विगतलाई स्मरण गर्दा पनि देखिन्छ । ०४६ सालको जनआन्दोलनपछिको समाज अचानक यस्तो देखियो कि, फरक राजनीतिक दल भएका छिमेकीहरु बीचमा पानी बाराबारको अवस्था आयो । लेनदेन रोकियो । पुजाआजा र चाडपर्वमा आइजाई रोकियो । यतिसम्म देखियो कि दाजुभाइहरुमा समेत बोलचाल हरायो । फरक–फरक दलमा समाहित भएका छोराहरु बाबु आमाको अन्त्येष्टि र श्राद्ध गर्न एक ठाउँमा बस्न सकेनन् ।

राजनीति समाजको एउटा स्वतन्त्र अवयव हो भनेर हामीले अझसम्म पनि स्वीकार गर्न सकिरहेका छैनौं । राजनीति मानवियताभन्दा माथि हँुदैन भन्ने कुराको चेत नपलाएसम्म सामाजिक मानसिकतामा देखिने विभाजनलाई रोक्न सकिन्न । बर्षौंदेखि एकै गाउँमा, एउटै ठाँउमा जन्मिएका र हुर्किएकाहरुका बीचको सामाजिक सम्बन्ध सबैभन्दा महत्वपूर्ण सम्पत्ति हुन्छ । तर, त्यो सम्पत्तिलाई राजनीतिसँग जोडेर हामी नष्ट गरिरहेका छौं । बालशखा साथीको अपनत्व र सद्भावलाई राजनीतिले बिथोली दिएको छ । जानेर वा नजाने हामी राजनीतिमा नै रमाइरहेका छौं । राजनीति जीवनको एउटा अनिवार्य विषय हो, तर त्यो भन्दा ठूलो भनेको सामाजिक जीवनको चरित्र हो । जुन, एकआपसमा पारस्परिक सहयोग, हरेक मानिसको स्वतन्त्रताको स्वीकारोक्ती, एक आपसमा समन्वय र सहिष्णुता, सह अस्तित्व र मानवियतामा निर्भर हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here