पेभर्सको लोकप्रियता

0
537

यस वर्षको असार सकियो । वर्षमा एकपटक आउने असारले धेरै आशा, अपेक्षा, इन्छा र सपना पूरा गर्छ प्रत्येक वर्ष । कृषिप्रधान देशका बासिन्दा भएका कारण धेरै नेपाली प्रत्येक असारप्रति आशावादी हुन्छन् । चाहिँदो वर्षा होस्, बाढीपहिरोले भौतिक र आर्थिक क्षति नगरोस् र समयमै खेतीपाती सकेर सुन्दर र समृद्ध भविष्य निर्माण गर्न सकियोस् किसानको यस्तै सपना हुन्छ । त्यसैगरी कर्मचारी प्रत्येक असारपछिका महिना सेवासुविधा बढाएर आओस् भन्ने चाहना राख्छन् र त्यसकै व्यग्र प्रतिक्षा गर्छन् । आर्थिक कारोबार गर्नेहरुदेखि राजनीतिक पेशामा रहेका पदाधिकारी वा विकास निर्माण सम्बद्ध अड्डाका राष्ट्रसेवक हुन् सबै–सबैका लागि सौन्दर्यपूर्ण बन्द असार ।

अघिल्लो वर्षका योजना र कार्यक्रमहरुको सम्पन्नता मात्र होइन चालू वर्षका महत्वपूर्ण योजनाहरुको सम्पन्नता यही समय गर्नुपर्छ । असारभित्रको हतपत्को कार्यक्रम र तिनको फर–फारकको समय भएकाले पनि यति बेला योजनासँग जोडिएका सबैलाई हतारो नै हुन्छ । अझ सार्वजनिक निर्माणका कार्यहरुको सम्पन्नताका दृष्टिले महत्वपूर्ण मानिने असारमा गुणस्तरहीन सामग्रीको प्रयोग, उचित व्यवस्थापन तथा अनुगमनको अभाव अनि मौसमको प्रतिकूलताले निर्माण भएका संरचना अस्थायी बन्छन् । अर्थात् असारमा बनिएका संरचना साउन नलाग्दै भत्किन थाल्छन् । यसले गरेको क्षतिको सनुवाइ हुने कतै ठाउँ नै हुँदैन । निर्माणकर्ता कुनै ढल, बल वा प्रभावका हुने कारणले असारे खेती अर्को असारसम्मका लागि स्थगित हुन्छ ।

असारे विकासले देशमा भएको क्षतिको विवरण अर्बौंको हुनसक्छ । झापाका केही स्थानीय तहमा भएका सडक निर्माणका अवस्थाले कतिपय स्थानीय सरकार आलोचित बनेका छन् । त्यसमा पनि झापाकै संवेदनशील, आर्थिक तथा भौतिक दृष्टिले महत्वपूर्ण मानिएको बिर्तामोड नगरपालिकाभित्रका भौतिक निर्माणका तस्वीरले समग्र देशको प्रतिछाया देखाएको छ । अझ सडक कालोपत्रे गर्ने नयाँ योजना अनुसार सम्पन्न काम र त्यसको परिणामले देश र जनताको अर्बौंको लगानी खेर गएको देखिएको छ । त्यसैले पछिल्लो समय सडक निर्माणमा प्रयोग हुन थालेको पक्की सडक बनाउन उपयोग गर्न थालिएको ‘पेभर्स’ लाकेप्रिय बन्दै गएको छ । बिर्तामोड क्षेत्रमै प्रयोग गरिँदै आएको ‘इन्टरलक कंक्रिट पेभर्स’ अहिले रोजाइमा पर्न थालेको छ । टिकाउपन, गुणस्तर, बदल्न सकिने र आकर्षक हुने कारणले रोजाइमा परेको पेभर्स अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताइन्छ ।

देश–विदेशमा समेत चल्नीका सडकहरुमा ओछ्याउने गरिएको पेभर्सको प्रयोगले सडकको सौन्दर्य समेत बढेको छ । यसमा कालोपत्रे सरहकै लगानी हुने र मर्मतका लागि पनि झन्झट नहुने भएपछि स्थानीय उपभोक्ता समेत यसप्रति आकर्षित भएका छन् । विश्वका विकसित मुलुकहरुमा पहिलेदेखि नै उपयोगमा आइसकेको पेभर्सको प्रयोग बढाएर भइरहेको फिजुलीखर्ची प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ । बरु त्यसका लागि आवश्यक जनशक्ति तयार पार्न प्रशिक्षण दिन र लगानीकर्तालाई यस्ता उद्योगहरु तर्फ आकर्षित गर्ने कार्यक्रम बनाइनु पर्दछ । त्यसो भए मात्र एउटै कामका लागि बारम्बार लगानी गर्नुपर्ने छैन । असारे विकासको संस्कृति र मानसिकताको अन्त्य हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here