आँखा दानका विषयमा अझैं धेरै अनविज्ञ, आँखा दान गर्न अस्पतालको आग्रह

0
784

सुरेन्द्र भण्डारी / सुरुङ्गा ।

भनाई नै छ नि – ‘दान गर्नु बिर्सिदिनु अनि मात्र पुण्य मिल्छ’ । सामान्य अर्थमा कसैलाई निस्वार्थ भावले आर्थिक वा भौतिक सहयोग गर्नुलाई दान भनिन्छ । दान दिनुलाई मानव जातिमा सवैभन्दा ठूलो धर्म मानिन्छ ।

ऋग्वेदमा पनि भनिएको छ, संसारको सर्वश्रेष्ठ दान भनेको ज्ञान दान हो । किनकी ज्ञानदानमात्र एउटा त्यस्तो ज्ञान हो, जसलाई न त कसैले चोर्न सक्छ, न त कसैले नष्ट नै गर्नसक्छ । बरु जति बाढ््यो उति बढ्दै जान्छ र मानिसहरुलाई यसले स्थायी सुख दिन्छ । भूमिदान, अन्नदाज, गोदान,रक्तदान,द्रव्य दान आदिको आ– आफ्नै महत्व छ । यस्तो दान धेरैले गर्ने गरेको देखिन्छ । तर, आँखा दानका विषयमा अझैपनि धेरै मानिस अनभिज्ञ छन् ।

आँखा दान आफैंमा महादान हो । आँखाकै कारण हामीले संसार देख्छौं । आँखा दान मानिसको मृत्युपछि गरिने दान भएपनि चेतना अभावकै कारण धेरै मानिसले आखाँ दान गर्न नसकेको मेची आँखा स्पतालका मेडिकल डाइरेक्टर डा पुरुषेत्तम जोशीले बताउनुभयो ।

बिर्तामोड नगरपालिका – ९ निवासी ३१ वर्षीय धनञ्जय गौतमको पाँच दिन अघि अर्थात साउन १३ गते निधन भयो । धनञ्जयको निधन पछि उहाँका भाई यदुप्रसाद गौतमले दाजुको आँखा दान गर्ने भन्दै मेची आँखा अस्पतालाई खवर गर्नुभयो । मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टमको क्रममा मेची आँखा अस्पतालका प्राविधिक पुष्पप्रसाद अधिकारी नेतृत्वको टिमले स्व. गौतमको शरीरबाट आँखको नानी संकलन ग¥यो ।

गौतम परिवारले दान गरेको आँखाको नानी जिल्लामै पहिलो पटक निकालिएको भने होइन । यस अघिपनि मेची आँखा अस्पतालले १५१ वटा निकालिएको आँखाको नानीको सफल रुपमा प्रत्यारोपण गरिसकेको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ को साउन १५ सम्ममा ६ वटा आँखाको नानी संकलन गरिएको मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज वोहोराले जानकारी दिनुभयो ।

२०७४ साल चैत ७ गतेबाट मेची आँखा अस्पतालले तिलगगां आँखा प्रतिष्ठान आँखा बैंकको प्राविधिक सहयोगमा मृत शरीरबाट आँखाको नानी संकलन गर्दै आएको छ ।

पूर्वी नेपालको झापा सहित इलाम, पाँचथर र ताप्लेजुङ्गलाई कार्य क्षेत्र बनाएर भारतका समेत सेवाग्राहीलाई मेची आँखा अस्पतालले सेवा दिदै आएको छ । झापाको बिर्तामोड नगरपालिकामा रहेको आँखा अस्पतालले पछिल्लो समय आँखाको नानी संकलन र प्रत्यारोपण गर्न थालेपछि अस्पतालको लोकप्रियता अझ बढेर गएको स्वास्थ्य शिक्षा अधिकृत वोहोराको भनाई छ ।

मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीले जनमानसमा अझै पनि आँखा दान भन्नाले आँखाको पुरै भाग वा डल्लो निकाल्ने हो भन्ने मात्रै वुझेको बताउँदै भन्नुभयो –‘ यथार्थमा आँखा दान गर्दा आँखाको बाहिरी पारदर्शी भाग कर्निया मात्र निकालिन्छ ।’

समाजमा अझैंपनि आँखा दान गर्ने कार्यमा सचेतना आएकै छैन उहाँले भन्नुभयो – अझैंपनि यदाकदा हाम्रो समाजमा मृत शरीरलाई अरुले छुन नहने जातिय छुवाछुत कायमै छ । आँखाको नानी निकाल्यो भने अर्को जन्ममा दृष्टिविहिन ( अन्धो ) हुनेछ, आँखा अर्कालाई दियो भने भूत, प्रेत आदि आत्माबाट त्रसित हुनुपर्ने जस्ता सामाजिक अन्धविश्वास कारण आँखा दानमा खासै महत्व दिइएको छैन ।’

डा जोशी भन्नुहुन्छ –‘आफूले दिइएको दुईवटा आँखाबाट दुईजना दृष्टिविहिनले संसार देख्न पाउछन् । डढेर जाने दुईवटा आँखाले दुईजना दृष्टिविहिनले संसार देख्छन् । तसर्थ आँख दान गर्न म सवैलाई आग्रह गर्छु ।

नेपालमा गरिएको एक अन्धोपन सर्वेक्षण (१९८१) ले प्रति एकसय व्यक्तिमा करिव एकजना ( ०.८ प्रति १०० ) व्यक्ति दृष्टिविहिन हुने गरेको डा जोशीको भनाई छ । यसमा पहिलो कारकको रुपमा मोतिविन्दु छ भने दोस्रो आँखाको बाहिरी नानीमा फूलो पार्ने ( कर्नेल क्यापासीटी ) छ । डा. जोशी भन्नुहुन्छ – सन् २००९—१० मा भएको आरए एबी सर्वेक्षणमा पनि अन्धोपनको पहिलो कारक मोतिविन्दु थियो भने तेस्रो कारकको रुपमा नानीमा फूलो पर्नु रहेको छ ।

आँखाको नानीमा परेको फूलोको कुनै पनि उचित औषधीमूलो छैन र एक मात्र विकल्प भनेको नै आँखाको नानी फेर्नु हो जसले गर्दा दृष्टिविहीनले फेरी देख्न सक्ने हुनेछन् । जसका लागी मरणोपरान्त मानिसको शरीरबाट आँखाको नानी प्राप्त गरी, प्रत्यारोपण गरेर दृष्टिविहीनलाई पुन दृष्टि प्रदान गरिन्छ ।

यता अस्पतालले आँखा दान गर्ने इच्छुक व्यक्ति वा परिवारले आफ्ना सदस्यको मृत्यु पश्चात आँखा दान गर्न चाँहे अस्पताललाई खवर गर्न आग्रह गरेको छ । अस्पतालले थालेको आँखाको नानी संकलन र प्रत्यारोपण कार्यमा सहयोग पु¥याइदिन अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here