प्रतिबन्धित बस्तु जाँच्ने एक्स–रे मेसिन अझै बनेन

0
515

पार्थ मण्डल / भद्रपुर।

पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा रहेको एक्स–रे मेसिन बिग्रिएको महिनांै हुँदा पनि बनेको छैन ।

सीमा नाकाबाट हुने चोरी, तस्करी लगायत प्रतिबन्धित सरसामान ओसारपसार नियन्त्रण गर्न उद्देश्यका साथ मेची भन्सार कार्यालय काँकरभिट्टाले सञ्चालनमा ल्याएको ‘एक्स–रे मेसिन बिग्रिएर प्रयोगविहीन बनेको छ ।

भारतको पानीट्याकीसँग जोडिएको काँकरभिट्टा नाकामा मेची भन्सारले यात्रु शाखामा अत्याधुनिक ‘एक्स–रे मेसिन’ जडान गर्दै एकीकृत सुरक्षा चेकजाँच प्रणाली करिब एक वर्षअघि सञ्चालनमा ल्याएको थियो ।

भन्सारले करिब एक करोड लागतमा ‘एक्स–रे मेसिन’ सञ्चालनमा ल्याएपछि भारतबाट नेपाल भित्रिने प्रतिबन्धित सरसामान नियन्त्रण गरिनुका साथै केही उपलब्धिमूलक काम समेत भएको थियो ।

यसअघि पनि सो मेसिन पटक–पटक बिग्रँदै गरेको र बनाउँदै पुनः सञ्चालनमा ल्याउँदै गरेको थियो । तर, गत असार २ गतेदेखि बिग्रिएको ‘एक्स–रे मेसिन’ अहिलेसम्म सञ्चालनमा आएको छैन । यता डेढ महिनादेखि मेसिन बिग्रिएर थन्किएपछि सुरक्षा चेकजाँचमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई समस्या परेको छ । उनीहरू फेरि हेरेकै भरमा सरसामान चेकजाँच गर्न बाध्य छन् । भारतबाट आउने सर्वसाधारण जनताको झोला तथा ब्याग यात्रु शाखामा कर्मचारी र सुरक्षाकर्मीले खोलेर चेकजाँच गर्दा सास्ती झेल्नु परेको बताइएको छ ।

पूर्वी नाकाको प्रवेशद्वारमा यात्रुलाई सहज तरिकाबाट चेकजाँच गर्न र शङ्कास्पद सरसामानलाई नियन्त्रणमा लिने मेसिन डेढ महिनादेखि बिग्रिएर थन्किँदा समेत सम्बन्धित निकायले सञ्चालनमा ल्याउन खासै चासो देखाएको छैन ।
भारत, बङ्गलादेश, भुटानलगायत तेस्रो मुलुकसँग सम्बन्ध जोडिएकोले यो नाका सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशील मानिन्छ ।

यसैबीच मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बिग्रिएको ‘एक्स–रे मेसिन’ बनाउने कि नयाँ ल्याउने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । ‘बिग्रिएको मेसिन बनाउँदा धेरै खर्च हुने गरेको छ’– उनले भने– ‘मेसिन बिगिँ्रदा चेकजाँचमा समस्या हुन थालेको छ, यसको विषयमा चाँडै निष्कर्ष निकाल्नु पर्ने छ ।’ अहिलेको मेसिन बनाउन २० लाख रुपैयाँ खर्च लाग्ने स्रोतले जनाएको छ ।

मेसिन प्रयोगविहीन बनेपछि सीमा क्षेत्रमा फेरि प्रतिबन्धित सरसामान भित्र्याउने योजनामा तस्करहरु लागीपरेको बताइएको छ । नजिकिँदै गरेको चाडपर्व कै बेला मेसिन बिग्रिएर थन्किँदा बिना चेकचाँज सरसामान ल्याउन पोके व्यापारी र तस्कर समूहलाई सहज भएकोे स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here