टेम्पोले यातायात व्यवस्थापनमा चुनौति

0
589

दमक।

झापामा अटोरिक्सा र टेम्पोका कारण यातायात व्यवस्थापनमा चुनौति थपिएको छ ।

प्रमुख शहर बजारहरुमा अटोरिक्सा र टेम्पोको भिडले गर्दा यात्रु तथा अन्य सवारीसाधनहरुको आवातजावतमा नै समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीका अनुसार जिल्लामा आठ हजारको हाराहारीमा अटोरिक्सा तथा टेम्पो सञ्चालनमा रहेका छन् । यसमध्ये अधिकांश चालकहरुको सवारीचालक अनुमतिपत्र अर्थात् लाइसेन्स रहेको छैन । यसले गर्दा दुर्घटनाको जोखिम समेत अधिक रहेको छ ।

‘दैनिक जाँच गर्दा २० प्रतिशतभन्दा कम चालकहरु मात्र लाइसेन्स रहेको पाएका छौं र धेरैको छैन’ –अधिकारीले भने । ‘दैनिकजसो अटोरिक्सा र टेम्पोका कारण दुर्घटनाहरु भइरहेका छन्’ –अधिकारीले भने । जथाभावी बाटो काट्ने, ट्राफिक नियमको बिषयमा जानकारी नराख्ने र मुख्य सडकहरुमा समेत कुनै संकेत नै नगरी रोक्ने गर्दा धेरै दुर्घटना भएको अधिकारीको भनाइ छ ।

बारम्बार सवारीचालक अनुमतिपत्र लिएर मात्र सवारीसाधन चलाउन आग्रह गरे पनि बिभिन्न बहाना बनाएर संगठित रुपमा उनीहरुले सडकमा अटोरिक्सा र टेम्पो चलाउँदै आएको बताइन्छ । ‘सडकमा नै आफ्नो साधन तेस्र्याउनेदेखि लिएर नेताको फोन लगाउनेसम्मको काम गर्ने गरेका छन्’ –इलाका ट्राफिक प्रहरी कार्यालय दमकका एक ट्राफिक प्रहरी बताउँछन् ।

तीन वर्षअघि अटोरिक्सा जिल्लामा भित्रिँदा स्थानीय नगरपालिका तथा तत्कालीन अवस्थामा गाविस अर्थात् अहिलेको गाउँपालिकाले आफैले दर्ता दिने गरेको थियो । पछि सरकारले दर्ता अनिवार्य गरे पनि अहिलेसम्म कतिपय अटोरिक्सा भने यातायात कार्यालयमा दर्ताका लागि समेत गएका छैनन् ।

मादकपदार्थ सेवन गरेर अटोरिक्सा तथा टेम्पो चलाउने गरेको बारम्बार गुनासो आउने गरेकाले दैनिक मादकपदार्थ सेवन (मापसे) जाँच समेत गरिँदै आएको पनि अधिकारीले बताए । ‘सवारीसाधनहरु थपिँदै जानेक्रमसँगै ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण हुँदा झनै अटोरिक्सा र ट्याम्पोले समस्या पैदा गरेको छ’ –अधिकारीले भने ।

दमकमा कडाइ गरिदै

यसैबीच दमक नगरपालिकामा भने कडाइ गरिने बताइएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका अटोरिक्सा तथा टेम्पो चलाउनेहरुलाई परिचयपत्र दिने तयारी गरेको नगर यातायात व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष प्रजापती सापकोटाले बताए ।

भारतीय नागरिकहरु समेत आएर अटोरिक्सा र चलाएको भन्ने सुनिँदै आएकाले यसले त्यसको पहिचान समेत हुने उनको भनाइ छ । मुख्य मार्गहरुमा अटोरिक्सा र टेम्पो सञ्चालन गर्न रोक लगाउने बिषयमा समेत छलफल भइरहेको पनि सापकोटाले बताए ।

दुर्घटना न्यूनीकरणको क्षेत्रमा कार्यरत रहेको जीवनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतमका अनुसार दैनिकजसो नै अटोरिक्सा र टेम्पोको कारण दुर्घटना बढेकाले उनीहरुलाई लक्षित गरेर ट्राफिक सचेतना सहित घुम्ति शिविरको रुपमा लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाउँदा उपयुक्त हुने देखिएको छ । अटो रिक्सा धेरै टाढा जान नसक्ने र यातायात कार्यालयसम्म नपुग्ने बहाना बनाउँदै आएकाले त्यस लक्षित गरेर एकपटकका लागि घुम्ति शिविर गर्न सकिने बारे सोच्न उनको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here