झापाचोकमा प्रहरी बिट

0
873

भद्रपुर।

मेची पुल जोड्ने हुलाकी तथा मेची राजमार्गको चाराआली केचना सडकखण्डको केन्द्रबिन्दुलाई लक्षित गरी प्रहरी बिट स्थापना गरिएको छ ।

वडा प्रहरी कार्यालयले भद्रपुर नगरपालिका– ४, ५ र ६ मा पर्ने झापाचोकमा प्रहरी बिट स्थापना गरेको हो । भद्रपुर नगरपालिकाको करिब दुई लाख लागतमा निर्मित प्रहरी बिटको उद्घाटन नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले रिबन काटेर गरेका थिए ।

नगरको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने उद्देश्यका साथ भद्रपुरमा अब चार वटा प्रहरी बिट भएको छ । यसअघि गार्मेन्ट चोक, सगरमाथा चोक र लेखनाचोकमा प्रहरी बिट राखिएको छ । झापाचोकको प्रहरी बिट बनाउने नगरपालिकासँगै मायालु, कमलधाप र दियालो सामुदायिक वनले काठ उपलब्ध गराएको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

‘हुलाकी तथा मेची राजमार्ग जोडिएको झापाचोकलाई केन्द्रबिन्दु बनाएर प्रहरी बिट सञ्चालनमा ल्याएको हो’ –उनले भने– ‘प्रहरी बिट नहुँदा त्यहाँ सवारी दुर्घटना बढ्नुका साथै आपराधिक क्रियाकलाप समेत हुने गरेको थियो, अब त्यसलाई रोकथाम गर्न प्रहरीलाई सहज हुनेछ ।’ झापाचोकमा रहेको प्रहरी बिटमा चौबिसै घण्टा तीन जना प्रहरी खटाइने उनले बताए ।

भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष प्रेम बरुवाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, शत्रुधन चौधरी लगायतले बोलेका थिए । स्वागत ठण्डाबस्ती टोल विकास समितिका अध्यक्ष कृष्ण वनले गरेको कार्यक्रमको सञ्चालन वडाका प्रहरी निरीक्षक श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here