अमित खम्बु /अर्जुनधारा । 
उमेरले ८५ वर्ष पुगेकी सरस्वती बुुढाथोकी मंगलबार झापाको अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा आयोजित कार्यक्रममा हर्षित मुद्रामा देखिइन् ।
गत आर्थिक वर्ष ०७५÷०७६को गरिबी निवारण कार्यक्रममार्फत् समूहले निःशुल्क वितरण गरेको ग्याससहितको सिलिण्डर प्राप्त गरेपछि उनी हर्षित भएकी हुन् । ‘अब दाउरा खोज्नुपर्ने समस्यासँगै दाउरा बाल्दा निस्कने धुँवाबाट मुक्त भयौं’– उनले आफ्नो खुशी यसरी शब्दमा व्यक्त गरिन् । ग्यास चुला र सिलिण्डरको प्रयोग गर्न नजान्दा पड्किन्छ भन्ने सुनेकी उनले त्यसको प्रयोग गर्न छिमेकीबाट सिक्ने बताइन् । यो सहयोगका लागि उनले समूहलाई धन्यवाद दिइन् ।
त्यसैगरी भन्ने बित्तिकै दाउरा नपाउने समस्या भोगिरहेका अर्का उपभोक्ता शेरबहादुर रानालाई समूहले उपलब्ध गराएको उक्त ग्यास सिलिण्डर वरदान सावित भएको उनले प्रतिक्रिया दिए । आवश्यक चुला तत्काल किन्ने बताएका उनले ग्यास सिलिण्डर प्राप्त भएपछि जीवन सहज हुने विश्वास व्यक्त गरे ।
समूहकी अर्की उपभोक्ता माया रिजाल(५७) ले पनि समूहले शुरु गरेको यो कार्यले दैनिक रुपमा दाउरा खोज्नुपर्ने समस्या र धुँवाका कारण स्वास्थ्यमा पर्ने प्रतिकूल असरबाट भने मुक्ति मिल्ने बताइन् । वनको संरक्षणसँगै दाउराको अधिकतम् प्रयोगलाई न्यूनीकरण गर्ने उद्देश्यले समूहले यो कार्य अभियानको रुपमा शुरु गरेको अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए ।

गतआर्थिक वर्षमा समूहले एक लाख १३ हजार सात सय रुपैयाँबाट १२ वटा टोलका ३६ जना उपभोक्तालाई सिलिण्डर वितरण गरेको र चालू आर्थिक वर्षमा पनि एक सय वटा सिलिण्डर वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष खतिवडाले बताए । वितरण गरिएको ग्यास सिलिण्डरको दुरुप्रयोग भएको भेटिए समूहको नीति अनुसार कार्वाही गरिने उनले बताए ।
सोही कार्यक्रममार्फत् समूहका ३६ जना उपभोक्तालाई पाँच क्युफिटका दरले निःशुल्क सालको काठ वितरण गरेको कार्यालय सचिव दुर्गाप्रसाद तिम्सिनाले जानकारी दिए । संकलन खर्च बापत प्रति क्यूफिट एक सय ५० रुपैयाँ लिइएको उक्त काठको मूल्य एक लाख ५० हजार रुपैयाँ रहेको छ ।
समूहका अध्यक्ष खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त सिलिण्डरहरु प्रमुख अतिथि अर्जुनधारा–२ वडाध्यक्ष रघुनाथ खनाल, समूहका सल्लाहकारहरु चेतनाथ सापकोटा, पुण्यप्रसाद ओझा र खड्ग कुमाल, पूर्व अध्यक्षद्वय निर्मलप्रसाद बराल र प्रेमप्रसाद आचार्यलगायतले वितरण गरेका थिए । समूहकी उपाध्यक्ष गंगादेवी गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव हेमराज आचार्यले गरेका थिए ।
यसैबीच आगामी असोज ७ गते हुने समूहको २१औं आम उपभोक्ता भेलालाई लक्षित गरी समूहले सोही दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समूहका पदाधिकारी तथा सदस्य, सल्लाहकार, पूर्व अध्यक्ष र उपभोक्ताहरुलगायतको सहभागिता रहेको कार्यक्रममा वनको संरक्षणसँगै हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न, न्यून आय भएका उपभोक्ताहरुको आर्थिक जीवनस्तर उकास्ने, समूहका कार्यक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको स्तरोन्नति गर्नेलगायतका कार्यक्रम ल्याउन सहभागीहरुले सुझाव दिएका थिए ।
सहभागीहरुले दिएको सुझावको विषयमा समूहको बैठकमा गम्भीर रुपमा छलफल गर्दै आगामी आम भेलामा प्रस्तुत हुने बजेटमा समावेश गरिने, समूहलाई पर्यटनसँग जोड्दै दीगो आम्दानीको स्रोतको लागि वन क्षेत्रभित्र सम्भावित पर्यापर्यटनको क्षेत्रलाई विकास गर्न समूह लागीपर्ने अध्यक्ष खतिवडाले बताए ।































