बिर्तामोड।
अष्ट्रेलियामा लगेर आकर्षक रोजगारी तथा अध्ययनको व्यवस्था गरिदिने प्रलोभन देखाएर इण्डोनेसियामा अलपत्र पार्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पठानकोट, गुर्दासपुर शंकेनगर बदरुवारोड पञ्जाब भारत स्थायी घर भई हाल जकार्ता, टिमुर इण्डोनेसियामा बसोवास गर्ने ३० बर्षीय पुरुषोत्तम लाल, दोलखा, साविक गैरीमुदी–६, हाल गैरीमुदी गापा–१ स्थायी घर भई हाल नागार्जुन नपा वडा नं. १ काठमाडौं बस्ने ३० बर्षीय शशी लामा भन्ने शशिकुमार तामाङ, म्याग्दी, बेनी नगरपालिका वडा नं. ९ तोरीपानी स्थायी घर भई कास्की, पोखरा लेखनाथ महानगरपालिका, गगनगौडाका ३० बर्षीय डोलेन्द्र काकी, पर्बत कुस्मा नगरपालिका वडा नं. ३का २७ बर्षीय शिव शर्मा, काभ्रे साबिक गोठपानी गाबिस वडा नं. ६ हाल चौरीदेउराली गापा वडा नं. ९ बस्ने २२ बर्षीया अस्मिरा चौलागाई र काभ्रे पनौती नपा. वडा नं. ४, काभे्रपलाञ्चोक बस्ने २८ बर्षीय शिव शर्मा रहेका छन् ।
उनीहरुले अष्ट्रेलियामा लगेर आकर्षक रोजगारी तथा अध्ययनको व्यवस्था गरिदिने प्रलोभन देखाएर नेपालको बिभिन्न स्थानहरूबाट काठमाडौ ल्याउने साथै जर्नी टु अष्ट्रेलिया नामको फेसबुक वेवपेजमा झुठा आइडीको प्रयोग र मेसेज समेत गरी भिषा लगाउनको लागि प्रतिव्यक्ति १५ लाखदेखि २० लाखसम्म रकम असुल गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले काठमाडौबाट मलेशिया हँुदै इण्डोनेसियामा पु¥याएर पीडितहरुको राहदानी, नगद तथा भिषा समेतका कागजातहरु नियन्त्रणमा लिएर त्यहाँ बस्ने भारतीय मूलका व्यक्तिहरुसंगको मिलेमतोमा भाडामा लिइएको अपार्टमेन्टमा राखेर पर्याप्त खाना समेत नदिइ बन्धक बनाई, कुटपिट गरी, आर्थिक, शारीरिक तथा मानसिक शोषण गरी इण्डोनेसियामा अलपत्र पारेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आफ्नो पहल र प्रयासबाट इण्डोनेसियामा अलपत्र परेका पीडितहरुको उद्धार गरी नेपाल फर्काएको जनाएको छ ।






























