बिर्तामोड।

ग्यालेक्सी फिटनेसको आयोजनामा प्रदेश नं. १ स्तरीय दोस्रो मिष्टर ग्यालेक्सी शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।
आगामी भदौ १३ र १४ गते बिर्तामोडमा हुने प्रतियोगिताको तयारी पूरा भएको ग्यालेक्सी फिटनेसले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी वजन समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रदेश नं. १ का १४ वटा जिल्लाका २५ वटा फिटनेश क्लवहरुबाट ५० जना खेलाडीहरुको सहभागिता रहने उनले बताए । प्रतियोगिताको प्रत्येक वजन समूहका दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार पुरस्कार प्राप्त गर्ने र प्रत्येक वजन समूहका विजेतालाई ओभरअल फाइनल राउण्डमा समावेश गराइने आयोजक समितिका कोषाध्यक्ष तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना मगर लाफाले जानकारी दिए ।
उक्त प्रतियोगिताबाट ओभरअल च्याम्पियन बन्ने विजेता खेलाडीलाई नगद एक लाख र अशोक इकुप्मेन्टबाट इलेक्ट्रियल ट्रेड मिल लगायत विभिन्न उपहारसहित सम्मान गरिने, ओभरअल च्याम्पियनतर्फ दोस्रो हुने खेलाडीलाई नगद ५० हजार, तेस्रो हुने खेलाडीलाई नगद ४० हजार, चौथो हुने खेलाडीलाई नगद ३० हजार र पाँचौं हुने खेलाडीलाई नगद २० हजार प्रदान गरिने उनले बताए ।
त्यसैगरी बेष्ट पोजरले नगद १० हजार, मोस्ट मस्क्यूलरले नगद १० नगद प्राप्त गर्ने ग्यालेक्सी फिटनेसका सञ्चालक सन्दिप शेर्माले बताए । आगामी भदौ १३ गते बिर्तामोडको अतिथि सदनमा खेलाडीहरुको प्रिजजिङ गरिने र भदौ १४ गते अग्रसेन भवनमा फाइनल प्रतियोगिता गरिने सञ्चालक शेर्माले बताए ।
प्रतियोगितामा महिला बडी विल्डर रजनी श्रेष्ठको समेत प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा प्रतियोगिताका सल्लाहकार दीपेन्द्र पोखरेलले प्रतियोगिता आयोजना हुनु झापाबासीको गौरव भएको बताए । प्रतियोगितालाई सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको उनले बताए ।
मूल आयोजक समितिका अध्यक्ष आशिष वनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना मगर लाफाले गरेका थिए ।


























