डेंगुका बिरामी देशभर बढे,झापामा मात्रै ५ सयभन्दा बढी बिरामी

0
605

प्रतिरक्षाका लागि परीक्षण गर्दै वैज्ञानिकहरु
राष्ट्रिय संकट घोषणा गर्न सांसदको माग

बिर्तामोड।

डेंगुका कारण झापासहित देशभर बिरामीहरुको संख्या बढ्दै गएको छ । बिरामीको संख्या बढ्दै गए पनि झापामा स्थानीय तहले डेंगु नियन्त्रणका लागि प्रभावकारी काम नगरेको स्थानीयले गुनासो गरेका छन् ।

झापामा हालसम्म पाँच सयभन्दा बढी डेंगुका रोगी फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोगका फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए । पूर्वाञ्चलसँग कुरा गर्दै पौडेलले भने–झापामा दिनप्रतिदिन बिरामीको संख्या बढिरहेको छ ।

हालसम्म बिरामीको संख्या पाँच सय नाघ्यो, यस्तै अवस्था रहे झापामा पनि संकट निम्तिन सक्छ ।
डेंगु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ । उनले स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको बताए ।

डेंगुका कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । यो वर्ष झापामा कसैको पनि मृत्यु नभए पनि यसरी नै बिरामीको संख्या बढ्दै गएमा भयावह अवस्थाको सिर्जना हुन सक्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी समेत रहेका पौडेलले बताए । झापामा डेंगु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, बिर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुका कारण झापाका अस्पतालहरुमा बिरामीहरुको संख्या बढ्दै गएको छ ।

यसैबीच दक्षिण एशियाभरि नै डेंगुले यतिबेला प्रकोपको रुप लिएको बताइएको छ । दक्षिण एशियाली देशका सरकार, स्वास्थ्यकर्मी तथा वैज्ञानिकहरु अब के गर्ने भनेर सोचिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डेंगुका कारण फिलिपिन्समा सयौंको मृत्यु भइसकेको एएफपीले जनाएको छ । भियतनाममा डेंगुका विरामी तीन गुणाले वृद्धि भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । मलेशिया, म्यानमार र कम्बोडियाका अस्पतालहरु डेंगुका बिरामीले भरिभराउ छन् ।

बढ्दो तापमान र कम प्रतिरोधात्मक क्षमताका कारण दक्षिण एशियामा डेंगुले विकराल रुप लिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भदौ २२ गतेसम्मको तथ्यांक दिँदै नेपालमा यो वर्ष ३ हजार ८ सय ९९ जना डेंगुका बिरामी देखिएको जनाएको छ । यस्तो अवस्थामा वैज्ञानिकहरुले डेंगुको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर विभिन्न अनुसन्धान गरिरहेका छन् ।

वैज्ञानिकहरूको एउटा समूहले यतिबेला डेंगुको एन्टीबडी (प्रतिरोधक) को काम गर्न सक्ने किरा (बग)मा परीक्षण गरिरहेका छन् । यसले विश्वकै लागि चुनौतिको रुपमा रहेको डेंगुको सामना गर्न सक्ने वैज्ञानिकहरुले आशा लिएका छन् ।

विश्व लामखुट्टे कार्यक्रम (डब्ल्यूएमपी) ले विकास गरेको एक विधिमा एडीज एजिप्टाइ जातको भाले र पोथी लामखुट्टेलाई वोल्बाकिया नामक रोग–प्रतिरोधी ब्याक्टेरियाबाट संक्रमित गराएर वातावरणमा छोडिन्छ । डेंगुको संक्रमण लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्छ । र, त्यस्ता लामखुट्टे भीड, तातोपना र आर्द्रता बढी रहेको स्थानमा फस्टाउँछन् ।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय स्वास्थ्य संस्थाहरुको तथ्यांक अनुसार यस बर्ष दक्षिणपूर्व एशियामा ६ लाख ७० हजार जना संक्रमित भएका छन् भने १ हजार ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो पछिल्ला केही वर्षहरुकै सबैभन्दा खराब प्रकोप भएको विज्ञहरुले बताएका छन् ।

डेंगुको प्रकोप यो मात्रामा फैलनुमा तातो मौसम प्रमुख कारण भएको बताइएको छ । यो वर्षको जुलाई महिनालाई विश्वव्यापी रूपमा अहिलेसम्मकै तातो महिनाको रुपमा रेकर्ड गरिएको थियो । लामखुट्टेले पनि तातो मौसम नै मन पराउँछन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुको समूहमा पनि यो रोगले प्रकोपको रुप लिएको बताइएको छ । वोल्बाकियालाई पहिलोपटक १९२० को दशकमा हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले कलेजको नालीमा बस्ने लामखुट्टेमा पत्ता लगाएका थिए ।

डेंगु हरेक वर्ष विश्वभर १० करोड मानिसहरुमा फैलिने गरेको अनुमान गरिएको छ ।धेरै देशहरूले डेंगुको संक्रमण भएका स्थानहरुमा कीटनाशक राखेर फगिङ पनि गरिरहेका छन् । तर, यो विधि भने छोटो अवधिको लागि मात्रै प्रभावकारी देखिएको छ । कीटनाशक राखिएको केही दिनमै लामखुट्टे फर्किने गरेका छन् । र त्यस्ता लामखुट्टेमा रासायनिक कीटनाशकविरुद्ध प्रतिरोधको विकास समेत भएको पाइएको छ ।

यसैबीच राष्ट्रियसभाको बैठकमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय संकट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यसका विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई सचेत गराए । सांसद अधिकारीले डेंगु फैलने क्रमलाई राष्ट्रिय संकटका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै भने– ५६ जिल्लामा फैलिएको छ, यो रोग राष्ट्रिय महामारी हो कि होइन ? यसलाई स्वास्थ्यको संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन, कति मान्छे

मरेपछि यसले महामारीको रुप लिन्छ ?

डेंगु रोगको नियन्त्रणका लागि सरकारले गरिरहेको कामका सम्बन्धमा स्वास्थ्यमन्त्रीको जवाफ अति जरुरी भएको उल्लेख गर्दै सांसद अधिकारीले भने– सरकार कहाँ छ ? के गर्दैछ ? यसको महामारी रोक्न सरकारले के गर्दैछ ? स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो ? उनले डेंगु रोग परीक्षणको नाममा निजी अस्पतालहरुले चर्को शुल्क असुलिरहेको हुँदा परीक्षण शुल्क तोक्न सरकारसँग माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेंगु रोगको नियन्त्रणमा तत्परता देखाउन ध्यानाकर्षण गराउँदै स्थिति भयावह भएको उल्लेख गरिन् । उनले जनचेतना फैलाउन र भविष्यमा हुन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here