मेची पर्यटन महोत्सव ताप्लेजुङमा

0
520

ताप्लेजुङ।

‘पाथीभरा देवीको दर्शन, मेची पर्यटन हाम्रो आकर्षण’ भन्ने मूल नाराका साथ ताप्लेजुङमा मेची पर्यटन महोत्सव हुने भएको छ ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले संयुक्तरूपमा महोत्सवको आयोजना गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ताप्लेजुङमा पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवको आयोजन गरिएको हो ।

हेलिकप्टर मार्फत कञ्चनजंघा हिमशृंखलासहितका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाइने भएको छ । फागुन ९ देखि १३ गतेसम्म ताप्लेजुङमा हुने महोत्सवमा म्याराथनसहित विभिन्न खेलकुद प्रतियोगिताका साथै जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन लगायतका कार्यक्रम राखिएको छ ।

महोत्सव अवधिभर विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, जैविक विविधताले भरिपूर्ण क्षेत्रमा रहेको तिम्बुङ पोखरी, फुङफुङे झरना लगायतका पर्यटकीय क्षेत्रको हेलिकप्टर मार्फत अवलोकन गराइने संयोजक तारानाथ घिमिरेले बताए ।

अवलोकन क्षेत्र, समय र भाडादर चाँडै सार्वजनिक गरिने बताइएको छ । पाथीभरा मन्दिर, तिम्बुङ पोखरी र फुङफुङे झरना भने सरकारले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय गन्तव्यमा परे पनि यी क्षेत्र अझै पर्याप्त पूर्वाधार तथा विकास र प्रचारप्रसारको अभावको घिमिरेले बताए ।

पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवमा भेडीगोठ र चौँरीको अवलोकन पनि गर्न पाइने भएको छ । त्यस्तै महोत्सव अवधिभर नै कृषि मेला प्रर्दशनी, औद्योगिक हस्तकला तथा शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव, फोटो प्रर्दशनी, स्थानीय जातजाति तथा समुदाय विशेष सांस्कृतिक कार्यक्रमका साथै झाँकी प्रदर्शनी समेत हुनेछ ।

महोत्सवमा मेचीका सबै जिल्लाले एक–एक वटा स्टल समेत राख्ने छन् । सदरमुकाम फुङलिङदेखि तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड हुनेछ भने हरेक दिन प्याराग्लाइडिङ, मेयरकप भलिबल प्रतियोगिता, बुद्धिचाल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले बताए ।

महोत्सवलाई सम्पन्न गर्न पाँच सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ भने तीन सदस्यीय संरक्षक समिति, १५ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय सचिवालय तथा २६ वटा उपसमितिहरु गठन भएको छ ।

पूर्वकै प्रमुख धार्मिकस्थल पाथीभरा, तिम्बुङ पोखरी, विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल, झण्डै तीन सय मिटर अग्लो फुङफुङे झरना, चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, सोदु पोखरी, तिनजुरे मिल्के जलजले (टिएमजे) पाँचथरको सिलौटे, लव्रेकुटी, साधुटार, इलामको कन्याम, श्रीअन्तु, माईपोखरी, सन्दकपुर, गजुरमुखी तथा झापाको केचनाकल, शिवसताक्षी धाम, दोमुखा, जामुनखाडी, अर्जुनधारा जस्ता मेचीका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा टेवा पुग्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here