राप्रपा संयुक्त सङ्गठन विस्तार अभियानमा

0
758

भद्रपुर,

धर्म र संस्कृति बचाउ अभियान लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) जिल्ला कार्य समिति झापा सङ्गठन विस्तार अभियानमा जुटेको छ ।

राप्रपा संयुक्तले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा कार्यकर्ता प्रवेश गराउँदै सङ्गठन विस्तार अभियान शुरु गरेको हो । यसै क्रममा कचनकवल गाउँपालिका–६स्थित बनियानीमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय ५० भन्दाबढी कार्यकर्ता राप्रपा संयुक्तमा प्रवेश गरेका छन् ।

राप्रपा, नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी राप्रपा संयुक्तमा प्रवेश गरेका कार्यकर्ताहरूलाई पार्टीका सङ्गठन विभाग प्रमुख ध्रुव श्रेष्ठले सदस्यता वितरण गर्नुका साथै अबिर र माला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

राप्रपा संयुक्तका जिल्ला सदस्य कनक राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सङ्गठन विभाग प्रमुख श्रेष्ठले नेपाली जनताको धर्म र संस्कृति बचाउ अभियानमा पार्टी लागि परेको उल्लेख गरे । ‘राजनीतिक हानथापले नेपाली जनताको धर्म, संस्कृति र भाषा नै संकटमा परेको छ’– उनले भने– ‘त्यसलाई बचाउन हाम्रो पार्टी अभियान लिएर जनताको माझमा जाँदैछ ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय सदस्य विश्वनाथ श्रेष्ठ, ममता राई, चतुर्मान विश्वकर्मा, जिल्ला अध्यक्ष ओम मिश्र, जिल्ला सचिव निरबहादुर कार्की, जिल्ला सदस्य साइँला हेमरम, देवीरमण भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ सदस्यद्वय गोदाबहादुर सिंह राजवंशी र सजन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसअघि राप्रपा संयुक्तले सोही गाउँपालिकाको घेरावारीमा आयोजित कार्यक्रममा एक सय ५०भन्दा बढीलाई पार्टीमा प्रवेश गराइसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here