सम्पादकीय
अहिले जाडोको मौसम छ । विश्वको तापक्रम बढ्दो क्रममा रहेको भए पनि जाडोको समय विपन्न वर्गका लागि पीडादायी बन्ने गरेको छ । जाडोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यही जाडोकै कारण देशभर थुप्रै मानिसले ज्यान गुमाउनु परेको समाचार पनि सार्वजनिक भइरहन्छन् ।
कतै कठ्याङ्ग्रिएर त कतै जाडोबाटे बच्न विद्युतीय सामग्री र कतै आगो बालेकै कारण मृत्यु भएका घटना पनि छन् । खासगरी तराईका जिल्लाहरुमा शितलहरका कारण बिरामी पर्ने, जीवन कष्टकर हुने, अन्नबालीमा क्षति पुग्ने गरेको नियमितता जस्तै छ । यही समय कतिपय मनकारीहरु सहयोगापेक्षीहरुको सेवामा लाग्ने गरेका पनि छन् ।
चिकित्सकहरुले जाडोबाट जोगिन सल्लाह दिने गरेका छन् । आहार–विहारदेखि पहिरनसम्मका विषयमा सचेत रहन, सावधानी अपनाउन चिकित्सकहरुले सुझाए पनि त्यो आवश्यक वर्गसम्म पुग्न सक्दैन । अर्थात् निम्न वर्गीय परिवारका लागि त्यस्ता अमूर्त सेवा र सुझाव ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मत’ हुने गरेको छ । हाम्रो संस्कृतिले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ भनेको छ । अर्थात् धर्म वा पुण्यको काम पर–सेवामा र पाप ‘पर’ लाई पीडा हुने काममा हुन्छ भनिएको छ । त्यसैले मन हुनेहरुले आम्दानीको केही अंश वा आफ्नो समय जोगाएर पर सेवामा लगाउँछन् । बोलेर, गरेर वा दिएर हुनसक्ने उपकारको कर्मले ‘परत्र’ सुधार हुने शास्त्रीय मान्यता पनि छ ।
यो र यस्तै संस्कार र संस्कृतिका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बिर्तामोड–८ को आयोजनामा भएको एक कार्यक्रमका बीच तीन सय बयासी जना जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरेका छन् । चार लाख रुपैयाँभन्दा बढी मूल्यका ती कपडाले सहयोगापेक्षीहरुको जाडो छल्न मद्दत गर्नेछ र दाता धन्यवादका पात्र बन्ने छन् ।
भट्टराईले त्यस क्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा समेत सहयोग गर्ने बताएर सबैको मन पनि जितेका छन् । उनी जस्तै अरुहरु पनि यस्तै लोककल्याणकारी कार्यमा अघि सरेका छन् । ती मध्ये अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको नवज्योति आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थीका लागि बिर्तामोडका मित्र शिवाकोटी र शारदा शिवाकोटीले सतहत्तर थान स्वीटर वितरण गरेका छन् । त्यस्तै फिदिम निवासी पृथ्वीमान शाक्यले त्यति नै संख्यामा जाडोको टोपी प्रदान गरे ।
यता बिर्तामोडबाटै विपन्न वर्गका विद्यार्थीलाई लक्षित गर्दै जाडोको कपडा वितरण गर्ने कार्य अभियानका रुपमा शुरु गरिएको छ । सामाजिक अभियन्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा एक हजार विद्यार्थीलाई स्वीटर र टोपी वितरण गर्ने गरी बिर्तामोड–९ स्थित देवकोटा अधारभूत विद्यालयका एक सय पन्ध्र जना विद्यार्थीलाई ती सामग्री वितरण गरिएको छ । अभियानका रुपमा शुरु भएको यो कार्यक्रमले जाडोले विद्यालय आउन नसक्ने विद्यार्थीलाई त राहत दिन्छ नै अभिभावकलाई पनि शिक्षाप्रतिको अभिरुची पनि बढाउने निश्चित छ ।
यसले अभावका कारण विद्यालय छाड्ने प्रवृत्तिलाई न्यूनीकरण गर्दै सबैका लागि शिक्षाको नारालाई सार्थक तुल्याउन सहयोग पु¥याउने छ । अभियानमा जोडिएका अविरल कृष्ण खरेल, किशोर पौडेल र संयोजक सरोज पौडेल लगायतको यो उपकारी कार्यमा जोडिएका सबै सहयोगी हातहरु स्याबासीका पात्र छन् । उनीहरुको अग्रसरतामा नगरपालिकाको आर्थिक तथा नैतिक सहयोग अपेक्षित वर्गसम्म पुगोस् । सबैको जय होस्, सबै दाताहरु यस्तै परोपकारी कार्यमा जोडियुन र वर्ग विभाजनका कारण उत्पन्न हुने मानसिक र भौतिक पीडा कम होस् । समतामूलक समाज निर्माणमा सहयोग पुगोस्, सबै दाता र उत्साही हात र मनलाई सलाम ।