भाइबहिनीहरु ! माथिल्लो कक्षा यसरी पढ्न थालौँ

१६ बैशाख २०७७, मंगलवार मा प्रकाशित

भुवन तामाङ,

कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वभरीकै मानव समुदाय यत्तिखेर लकडाउनको अवस्थामा छन् । सामान्य अवस्थामा जस्तो गतिशील हुन पाइरहेका छैनन् । जीवनयापनका विविध गतिविधिहरु गर्न पाइरहेका छैनन् । त्यस्तैगरी विश्वभरीका विद्यालयहरुपनि बन्द गरिएका छन् । विद्यार्थीहरु विद्यालयहरुमा गएर पढ्न पाएका छैनन् ।

नेपालमा पनि लकडाउन शुरुभएको वैशाख ११ गते एकमहिना बितिसकेरपनि सरकारले बैशाख २५ गतेसम्मकालागि लकडाउन अवधि थप गरेको छ । लकडाउनको अवधिमा विद्यार्थीहरु घरमै रहन बाध्य बनेका छन् । विद्यार्थीहरु घरमा टेलिभिजनमा विभिन्न कार्यक्रम विशेषगरी बालमैत्री कार्यक्रम जस्तै, कार्टुनजन्य सिरियलहरु हेरेर समय व्यतित् गरिरहेका छन् । यस बाहेक मोबायल या ट्याबमा विभिन्न गेम खेलेर पनि समय विताइरहेका छन् । घर नजिकका चउर या खेतबारीमै किन नहोस् विभिन्न खेल खेलेर समय कटाइरहेका छन् ।

यस्तो अवस्थामा विद्यार्थीहरुको पढाई के हुने हो ? भन्ने चिन्ता बढेर गएको छ ? यतिखेर विद्यार्थीहरु नयाँ अर्थात माथिल्लो कक्षामा नयाँ किताब खोलेर रमाइलो मान्दै नयाँनयाँ पाठ पढ्दै गरेका अवस्थामा हुनेथिए । तर, लकडाउनले विद्यालय संचालन नहुँदा विद्यार्थीहरुको पढाई चौपट हुने सम्भावना बढेर गएको छ ।

कतिपय विद्यालयहरुले सबै विषयका अन्तिम परीक्षा सम्पन्न गर्न भ्याए भने कतिपयका एकदुई विषय बाँकी नै थिए । त्यसरी बाँकी हुनेहरुले अघिल्लो टर्मको नतिजाका आधारमा मूल्याङ्कन गरि रिजल्ट तयार गर्न सक्छन् । तर, सरकारले पुनः लकडाउनको अवधी बढाएको अवस्थामा रिजल्ट भएपनि विद्यालय संचालन हुन पाउँदैनन् । यतिमात्र होइन कि बजार नखुल्नाले नयाँ किताबहरु किन्न पाइदैन । लकडाउन खुलेपनि यसपालि नयाँ किताब बजारमा आइपुग्न निकै समय लाग्ने देखिन्छ । किनकि लकडाउनले गर्दा प्रकाशक तथा व्यापारीहरुले पुस्तक सप्लाईको तयारी गर्न पाएका छैनन् । त्यसो भए के विद्यार्थीहरुले नपढेरै बस्नु पर्ने हो त ? सरकार र विद्यालय सम्बद्ध संघसंगठनहरुले समेत कुनै उपयुक्त उपाय सुझाएको पाइएको छैन ।

नेपाली भनाई नै छ नि, जहाँ इच्छा त्यहाँ उपाय । नयाँ कक्षा अर्थात माथिल्लो कक्षा पढ्न, शुरुगर्न सजिलो उपाय पनि छ । घरमै बसेर माथिल्लो कक्षाको पढाइ सजिलै शुरुगर्न सकिन्छ । पुरानै किताब भएपनि पढ्दै गर्न सकिन्छ । घरमा, छरछिमेकमा, टोलमा पक्कै पनि ती किताबहरु अबश्य छन् नै । घरमा दाजु दिदीका किताब हुन्छन् । छिमेकका दाजु दिदीहरुका किताब होलान् । नातेदार दाजु दिदीहरुका किताब हुन्छन् । ती किताबहरु जसजसको माथिल्लो कक्षासँग मेलखान्छन् पढ्दैगर्दा हुन्छ । सबै किताब नपाइएला तर जति पाइन्छन् त्यति नै भएपनि पढ्दै गर्न सकिन्छ ।

कोर्स चेन्ज हुनसक्छ भन्ने प्रश्न उठ्नसक्छ तर कोर्स सबैका सबै त चेन्ज हुनेहोइनन् । चेन्ज भएपनि सिद्धान्त उस्तै हुन् । कोर्सका स्तर र पाठ्य विषय उस्तै हुन् । केवल अघिल्लो पानाको पछिल्लो पानामा छापिँदा हुन् । एउटा पाठका कुरा अर्का पाठमा पारिएका हुँदा हुन् । एकखालको नक्सा भएको ठाउँमा अर्र्को प्रकारका नक्सा छापिँदा हुन् । पढाई समय र अंक भिन्न होलान् तर समग्रमा ज्ञान र स्तर उस्तै नै हुन्छन् । त्यसैले कुनै चिन्ता नलिइकन माथिल्ला कक्षाका किताब जेजस्ता र जति भेटिन्छन् पालोपिलो पढ्न शुरुगरे पढाईको ग्याप हुनेछैन ।

त्यसैले आजैदेखि घर, छरछिमेक, टोलमा भएका माथिल्ला कक्षाका किताब खोजेर पढ्न शुरु गरिहालौँ । लकडाउन निकै लम्बिने सम्भावना छ । विद्यालय त झन् अरुभन्दा धेरै पछिमात्र खुल्ने सम्भावना छ । त्यसैले घरमै पढाइ शुरु गरिहालौँ । कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय सामाजिक दूरी कायम राख्दै, मास्क लगाएर र हात स्यानिटाइज गर्दै माथिल्ला कक्षाका किताब अध्ययन गर्न थालौँ । नजानेका कुरा दादा दिदीहरुसँग सिक्दै, पाठ पढ्दै अभ्यासहरु पनि गर्न थालिहालौँ । साना भाइबहिनीहरुलाई पनि सिकाउँदै पढाई सुचारु गरिहालौँ ।

वल्लो घर, पल्लो घरमा या टोलमा सरहरु या गुरुमाहरु हुनुहोला । उहाँहरुसँग सोध्दै, सिक्दै पढाई चालुगर्न सकिन्छ । अभिभावकहरुले पनि यसमा चासो लिइ नानीहरुलाई पुस्तक जोहो गरिदिनु र पढाइ शुरुगर्ने वातावरण बनाइदिनु निकै उत्तम उपाय हुनसक्छ ।

अनलाईनको कुरा सुनिदैछ तर यो प्रविधि उपयोग गर्न निकै तयारी गर्नुपर्ने हुन्छ । यस्तो तयारी लकडाउनका बेला सम्भव हुने सम्भावना कम छ । त्यसैले माथिल्ला कक्षाका किताबहरु घर, छिमेक र टोलमा खोजेर पढन सजिलै सकिन्छ । यही नै अहिलेको उत्तम उपाय र सजिलो विधि हुनसक्छ । विद्यार्थी भाइबहिनीहरु स्वयम्ले पनि थप मौलिक रचनात्मक तथा सिर्जनशील उपायहरु अपनाउँदै पढाई शुरुगर्न सक्दछन् । लकडाउनको समयको अधिकतम सदुपयोग गर्नसक्दछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here