बन्दुके साइलाले पार्टी बनाए तर आफूलाई बनाएनन्

0
1081

अर्जुनधारा,
राज्य व्यवस्था परिवर्तनका लागि यो मुलुकमा धेरै आन्दोलनहरु भए । यसैक्रममा धेरैले शाहदत प्राप्त गरे । थुप्रै अङ्गभङ्ग भएर जीवनभर अपाङ्ग शरीर लिएर अझै पनि बाँच्न बाध्य छन् । कतिले प्रजातन्त्र पुनस्र्थापनाको संघर्षकालमा देशभित्र तथा निर्वासनमा अनेकौं कष्ट भोग्न बाध्य भए । यस्तै परिवर्तनका लागि जीवनभर आफ्नो उर्वर उमेर पार्टी भनेर दीलोज्यान दिने थुप्रै नेता कार्यकर्ताहरु अहिले पनि निक्कै कष्टकर जीवन बिताउन बाध्य छन् । उनीहरुतर्फ न आफ्नै दलका नेता कार्यकर्ताको नजर पुगेको छ न राज्य कै ? यस्तै मध्येका एकजना पात्र हुन्– धीरेन्द्रविक्रम चेम्जोङ ‘बन्दुके साहिँला ’।


उनी सँगैका थुप्रै समकक्षीहरुले पटक–पटक सत्ताको बागडोर सम्हाले, धेरैजना मन्त्रीदेखि पार्टीकै नेतृत्वमा पुगे । तर, देश र जनताका लागि निरंकुश राज्य व्यवस्था परिवर्तनका लागि ज्यानको बाजी लगाएर शिरमा कात्रो बाँधेर अहोरात्र प्रजातन्त्र प्राप्तिका लागि खट्ने धीरेन्द्रविक्रम चेम्जोङ ‘बन्दुके साहिँला’ले देशमा थुप्रै व्यवस्थामा परिवर्तन आए पनि आफ्नो जीवनमा कहिल्यै परिवर्तनको अनुभव गर्न पाएका छैनन् । जन्मजात आफूलाई नेपाली कांग्रेसको योद्घा भन्न रुचाउने उनी २०१७ सालदेखि प्रजातन्त्र सेनानी स्वर्गीय भूविक्रम नेम्बाङको प्रेरणाले राजनीति यात्रामा प्रवेश गरे
स्वर्गीय भूविक्रम नेम्बाङका हातबाट नेपाली कांग्रेसको साधारण सदस्यकोे प्रमाण पत्र प्राप्त गरेका ‘बन्दुके साहिँला’लाई सुवर्ण शमशेरका हातबाट पार्टीको क्रियाशील सदस्यको प्रमाण पत्र प्राप्त गरेको स्मरण ताजै छ । आजभन्दा ७५ वर्षअघि कांग्र्रेसको गढ मानिने पाँचथर जिल्लाको तात्कालीन पौवासारताप–३ हाल फाल्गुनन्द गाउँपालिका–१ मा जन्मिएका उनी अहिले झापाको अर्जुनधारा–१० चुथाईमा निक्कै कष्टकर रुपमा जीवन बिताइरहेका छन् । खिया लागिसकेको टिनले च्यापेको छानो, वरिपरि भाटा लगाएर माटोले लिपेको टाटी अनि घरभित्र प्रवेश गर्न पनि समस्या हुने न पानी न घामबाट बच्न सकिने सानो झुपडीमा कान्छा छोरा बिर्जाहाङ्ग चेम्जोङ बुहारीसहित छ जनाको परिवारसँग उनी बस्दै आएका छन् । कमाउने बेलाको उमेर सबै पार्टीका लागि सुम्पिने चेम्जोङ ‘बन्दुके साहिँला’को त्याग र लगानीले यो देशको धेरै राज्य व्यवस्था परिवर्तन गर्न सके पनि अहिलेसम्म आफ्नै घरको खिया लागेको टिनको छानो र माटोेले लिपेको बाँसको भाटाको टाँटीलाई परिवर्तन गर्न चाहीँ उनले सकेका छैनन् ।
पूर्व मन्त्रीहरु नरेन्द्रविक्रम नेम्वाङ, सूर्यमान गुरुङ, केवी गुरुङमात्र होइन पार्टीकोे शीर्षस्थ ठाउँमा पुगेका स्वर्गीय भूविक्रम नेम्वाङ, मच्छिन्द्र केरुङ लगायतका नेपाली कांग्रेसका नेताहरु उनका समकक्षी हुुन् । तर, उनी कहिल्यै पार्टीको क्रियाशील सदस्यभन्दा माथि उक्लिन सकेनन् । २०१७ सालकोे आन्दोेलनको क्रान्तिको सम्झाना उनमा आलै छ । लेखक कृष्णविक्रम नेम्वाङको ‘सत्र सालकोे क्रान्तिको सम्झना’को दोस्रो संस्करणमा २०१७ सालमा मेची अञ्चलमा सक्रिय सबै मुक्तियोद्घाका र तीसँग सम्बन्धित तस्वीरहरु राख्ने क्रममा धीरेन्द्रविक्रम चेम्जोङ ‘बन्दुके साहिँला’को तस्वीर समेत समावेश छ । उसबेला उनको पार्टीप्रतिकोे लगानी, बल, तागत र जोश जाँगर देखेर पार्टीले निकै कठिन जिम्मेवारी दिइएको थियोे ।
पञ्चायती विरोधी आन्दोलनमा आवश्यक पर्ने हातहतियार उनले भारत लगायतका विभिन्न ठाउँबाट ल्याउँथे । निकै अत्याधुनिक हातहतियार ओसार्न ‘मायर’ उनले आफ्नै घरमा हातहतियार ल्याएर भण्डारण गरेका कारण सबैले उनको उपनाम ‘बन्दुके साहिँला’ राखेका रहेछन् । ‘हातहतियार ओसार्नु कुुनै चानचुने कुरा थिएन्’ उसबेलाको सम्झना गर्दै उनले भने– ‘रातरात जंगलको बाटो भएर ल्याउनु पर्दथ्यो । मर्ने बाँच्ने कुनै टुङ्गो हँुदैन थियो । कहिलेकाहीँ त बाटो बिर्सेर रातभरि जंगलकै बास हुन्थ्यो ।’ त्यसबेलाको राज्यसत्ताले उनलाई पक्राउ गर्न ठूलो सुुरक्षा संयन्त्र परिचालन गरे पनि उनी भागेरै र लुकेरै तथा सुरक्षा फौजको आँखाबाट टाढै रहन सफल भए । उनलाई पक्राउ गर्न त्यसबेलाको सुरक्षा प्रशासन पटक–पटक असफल हुुन्थ्यो । उनीसँगै धेरै पक्राउ पर्दथे । तर, उनी कहिल्यै प्रहरीको फन्दामा परेनन् ।
पार्टीले भारतको पश्चिम बंगाल राज्यकोे बतासी भन्ने ठाउँबाट १८ नाल अत्याधुनिक हातहतियार ल्याउने जिम्मेवारी उनलाई सुम्पिएको थियो । तर, उनले आठ थानभन्दा बढी नेपाल छिराउन सकेनन् । ‘मार्क थ्री’ र ‘मार्क फोर’ हतियार ल्याएर पार्टीका नेता कृष्णप्रसाद मिश्रलाई जिम्मा लगाए । बाँकी १० थान ल्याएपछि मात्र कमाण्डर भूविक्रम नेम्बाङकोे नेतृत्वमा रहेको टिमले तात्कालीन शाही नेपाली सेनाको ब्यारेक चारआलीमा आक्रमण गर्ने योजना बनाएको सुनाउँदै उनले भने– ‘दशनाल हतियार नेपाल छिराउन अनेकौ जुक्ति लगाइयो तर सकिएन । त्यसैैका कारण पनि तात्कालीन शाही नेपाली सेनाको ब्यारेक चारआलीमा आक्रमण गर्ने योजना समेत विफल भयो ।’
त्यसरी लडेका योद्घा धीरेन्द्रलाई अहिले सिङ्गो नेपाली कांग्र्रेसले बिर्सेकोे हो कि भन्ने कता–कता लागेको छ । ‘उसबेला ममा धेरै जोस–जाँगर बल थियो पार्टीले सधैँ सम्झियो ।’ उनले भने– ‘अहिले म बृद्घ अवस्थामा पुगे, आर्थिक अवस्था निकै कमजोर भयो, धन–दौलत कमाउन सकिन यसकारण मलाई अहिले मन्त्रीदेखि पार्टीको माथिल्लो नेतृत्वमा पुगेका नेता कार्याकर्ताको त कुुरै छाडौ जिल्ला तहका नेताले समेत चिन्नै छाडे ।’ यतिमात्र होइन दम, मधुमेह, पायल्स, ग्याष्ट्रिक लगायतका विभिन्न रोगले थलिएका चेम्जोङ्गको स्वास्थ्य अवस्थाका बारेमा पार्टीका कुनै नेता कार्यकर्ताले न चासो राखेका छन्, न दुई वर्षअघि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्दा अस्पतालमा भेट्न नै पुगे । यसले आफूलाई ज्याँदै नरमाइलो लागेको उनको भनाई छ ।
‘देशमा जुनसुकै राज्य व्यवस्था परिवर्तन भएपनि सामान्य मानिसलाई कुनै उपलब्धि चाहिँ नहुँदो रहेछ’ –अवरुद्घ गलामा उनले भने– ‘दल र दलका नेतालाई सत्ता र पद बाहेक अरु केही नचाहिने रहेछ ।’ वीपी आन्दोलनका क्रममा उनी भारतमा निर्वासित भए । भारतको पश्चिम बंगाल राज्यकोे बतासी भन्ने ठाउँमा डेढ महिना जति निर्वासित जीवन बिताए उनले त्यसपछि त्यहाँ पनि बस्न गाह्रो भएपछि आसामतर्फ हानिए । लामो समय आसाममा निकै कष्टकर र संघर्षपूर्ण जीवन बिताएपछि वि.सं.२०३६ सालको जनमत संग्रहको समयमा उनी नेपाल फर्किए । त्यसबेला देशमा थुुप्रै अप्रिय घटनाहरु भए । बहुदलबादीको आमसभा निर्दलबादीले बिथोल्ने हुँदा पाँचथरमा ठूलो दंगाफसाद भयो । त्यो पनि उनको मानसपटलमा ताजै छ ।
तर, नेपाली कांग्रेस तरुण दल विभागीय केन्द्रीय सदस्य मदनबहादुर बुढाथोकी पञ्चायतकालमा खोसिएको चेम्जोङ्ग सम्पत्ति फिर्ता गर्न पटक–पटक पहल गरेको बताउँछन्् । नेपाली कांग्रेसले आफ्ना अग्रज र पार्टीका लागि सबै उमेर खर्चेर योगदान दिने नेता कार्यकर्तालाई सहजरुपमा जीवनयापनको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । चेम्जोङ्गको बाँकी जीवन सरल र सुविधारुपमा अघि बढोस् भन्ने उद्देश्यले अढाई लाख रुपैयाँको अक्षयकोष खडा गर्ने योजना रहेको उनले बताए । उनलाई औषधि उपचारका लागि स्वास्थय बीमा लगायतका सुविधा प्रदान गर्न आफ्नोतर्फबाट पहल गरिएको नेता बुढाथोकीले बताए । चेम्जोङ्ग सानैदेखि निडर र हक्की स्वभावको भएको बताउँदै नेपाली कांग्रेस महासमिति सदस्य मोहन सुब्बा अब पार्टीले उनका बारेमा सोच्ने बेला आएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here