संक्रमणको बढ्दो दर र सचेतना

0
889

कोरोना भाइरस संक्रमणको सिक्री जोडिएपछि विस्तारको क्रम बढ्न थालेको तस्वीर देखिन थालेको छ । विस्तारको सिक्री विच्छेद गर्न चैत दोस्रो सातादेखि गरेको बन्दाबन्दी क्रमशः खुकुलिँदै गएर असोज १ गतेदेखि पूर्णरुपले खुल्ला भएको छ । अब भोलि अर्थात् असोज ५ गतेदेखि हवाई सेवा पनि सुचारु हुने भएपछि देशका सबै अङ्गहरु पूर्णतः खुल्ला भएको मान्नुपर्नेछ । यद्यपि लामो तथा छोटो दूरीका सवारीसाधनमा जोरविजोर प्रणाली कायम छ भने सीट क्षमताको आधा मात्र उपयोग गर्नुपर्ने शर्त राखिएको छ । यस बाहेक सुरक्षाका अन्य उपाय पनि अपनाउन निर्देशन दिइएको छ । मानिसबाट मानिसमा सर्ने भएका कारण एकअर्काबीच दुई मिटरको दूरी राख्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड हाम्रो जीवनमा प्रयोग हुन्छ, अहिलेसम्मको अवस्थाले विश्वास जगाएको छैन ।

यातायात सुचारु भएसँगै कोरोनामुक्त भइयो भन्ने ठान्नु महाभुल हुनेछ । अहिलेसम्म सार्वजनिक सवारी सञ्चालन नहुँदा व्यवसायीहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । त्यसैगरी तिनमा कार्यरत मजदुरहरु वेरोजगार हुँदा मजदुरका परिवार समेत शारीरिक तथा मानसिक पीडा खप्न बाध्य हुनुप¥यो । उनीहरुलाई राहत दिने कुनै पनि प्रकारका कार्यक्रमहरु ल्याउन नसकेको सरकारका अघि बन्दाबन्दी खोल्नुको विकल्प पनि थिएन । व्यवसायी तथा मजदुर वर्गबाट हुनसक्ने सरकारी निर्देशनको अवज्ञाबाट जोगिन सरकारले बन्दाबन्दी त खोल्यो, तर निर्देशनको पालना भए÷नभएको अनुगमन गर्न सकेन भने ठूलो मूल्य चुकाउन सबै तयार भएर बस्नु पर्छ ।

संक्रमित खुट्याउन गरिँदै आएको पीसीआर परीक्षण संख्याको वृद्धिसँगै पुष्टि हुनेक्रम पनि बढेको छ । जेठ महिनामा पाँच हजार चार सय सतहत्तर जनामा पुष्टि भएको संक्रमण असारमा एघार हजार पुगेको थियो भने साउनमा करिब दुई हजार घटेको थियो । त्यस्तै भदौमा साढे तीन गुणा बढेर संक्रमितको संख्या एकतीस हजार नाघ्यो । असोजको दोस्रो दिन मात्रै सर्वाधिक अर्थात् दुई हजार बीस जनामा संक्रमण पुष्टि भयो । बन्दाबन्दीको समयमा पनि संक्रमणको दर जसरी उच्च भइरहेको थियो त्यसले खुल्ला पछिको नतिजाको अनुमान गर्नैै सकिँदैन । संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं उपत्यकामा यतिबेला दिनहुँ भइरहेको जुलुस, प्रदर्शनले भयावहता बढाएको छ भने छेउमा आइपुगेको दशैं, तिहार जस्ता चाडपर्वले आवागमन झनै बढ्ने निश्चित छ । त्यसैले यात्रु, व्यवसायी, कर्मचारी र आम जनताले सुरक्षाका मापदण्डका विषयमा सचेत हुनै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here