बालबालिका र मोबाइल

0
651

केही दिनअघि एकजना साथीको घरमा पूजा थियो । उनले साथीभाइलाई प्रसाद ग्रहणका लागि निमन्त्रणा दिएकी थिइन् । प्रसाद लिनेक्रममा पुरुषहरु एक–आपसमा गफ गर्न थाले । महिला साथीहरु प्रसाद वितरण व्यवस्थापन र सहजीकरणमा थिए भने स–साना बालबालिका आफ्ना आमाबुवाको मोबाइल लिएर कार्टुन हेर्नमा व्यस्त थिए ।

आजभोलि सबैको घरमा यस्तै हुन्छ । विकास र औद्योगिकको युगमा मोबाइल आज मानव जीवनका लागि अति नै आवश्यक भएको छ । कुनै पनि मानिस आफूलाई मोबाइलबाट एक मिनेट पनि टाढा राख्न चाहँदैन । यहाँसम्मकी बाथरुममा पनि कसै–कसैले मोबाइलको प्रयोग गर्छन् । सायद यही कारण होला कि आफ्नो अभिभावकको देखासिकी स–साना बालबालिकाहरुले पनि मोबाइललाई नशाका रुपमा लिन थालिसके ।

डा. रिंकु गौतमका अनुसार छ महिनाको नवजात शिशु विभिन्नखालको रंग, चित्र देखेर मोबाइलतिर आकर्षित हुन्छन् । मोबाइलबाट निस्कने उज्यालो र रंगी–विरंगी चित्रले शिशुलाई आकर्षित गर्छ । सोही कारण शिशु मोबाइल हेरेर रमाउन चाहन्छ । आमाहरु पनि आफ्ना काममा वाधा नहोस् भन्दै बच्चाहरुलाई मोबाइल हातमा राखिदिएर काम गर्न थाल्छन् । तर, आमाहरु वा जानी–नजाति आफ्ना बच्चालाई कुलतको बाटोतिर आफै पुर्याउँछन् । आफ्नो काममा नल्झाउन भन्दै मोबाइल दिने प्रवृत्तिले बच्चालाई मोबाइल दिँदा उनीहरुको मोबाइलप्रति लत नै बसेको हुन्छ । हामी मोबाइल चलाउँदै गरेको बच्चाको हँसिलो अनुहार हेरेर मख्ख पर्छौं । तर, यही मोबाइलका कारण बालबालिकाको स्वास्थ्यमा कस्तो असर पर्दछ भन्ने बुझेका हुँदैनन् । यो बुझ्न जरुरी छ ।

मोबाइल फोनबाट निस्कने रेडिएशन बालबालिकाका लागि धेरै हानिकारक हुन्छ । यसको दुष्प्रभावले बच्चाहरुमा बोल्ने, श्वासप्रश्वास, खाने र सिक्ने क्षमतामा कमी आउँछ । रक्सीको नशा जस्तो मोबाइल फोनको पनि नशा हुँदोरहेछ । मोबाइलको तल लागेपछि जबसम्म हातमा फोन हुँदैन बच्चालाई बेचैन र आक्रामक पनि हुन्छन् । बच्चाहरु मोबाइल चलाउँदा एकै ठाउँमा धेरैबेरसम्म बस्ने, एउटै शारीरिक अवस्थामा धेरैबेर बस्दा उनीहरुलाई खान, खेल्न, पढ्न, सुत्न होससम्म रहँदैन । मोबाइलले गर्दा बालबालिकाको मानसिक विकासमा बाधा भइरहेको छ । मोबाइलले गर्दा उनीहरु अन्य कार्यमा ध्यान दिँदैनन् । उनीहरु पारिवारिक, सामाजिक घुलमिल हुन चाहँदैनन् । उनीहरु एक्लै बस्न मन पराउन थाल्छन् । गेम, कार्टुनको अगाडि आफ्नो सभ्यता, संस्कृति र सदाचारलाई उनीहरु बिस्तारै–बिस्तारै बिर्सन थाल्छन् । अभिभावकले केही राम्रो कुरा गर्दा पनि झर्किने, अटेरी गर्न थाल्छन् । अभिभावकको राम्रो कुरा पनि अप्रिय लाग्छ थाल्छ र अभिभावक प्रति नकारात्मक भाव पैदा हुन थाल्छ । अभिभावक उनीहरुका लागि दुश्मन सरह देख्न थाल्छन् ।

नेत्र रोग विशेषज्ञ पुरुषोत्तम जोशी भन्नुहन्छ– ‘मोबाइलको अत्यधिक प्रयोगले शारीरिक गतिविधिमा कमी, बाहिरी खेल खेल्नु मन नलाग्ने, ताजा हावामा ननिस्कने, एकै ठाउँमा धेरैबेर बस्नाले गर्दा बालबालिकामा मोटोपनका कारण मधुमेह, हाइपरटेन्शन र आँखा सम्बन्धी रोग देखा परेको छ । एक तथ्यांक अनुसार १२ देखि १८ महिनाका बच्चाहरु मोबाइलतिर बढी आकर्षित हुन्छन् । उनीहरु आँखाको नजिक मोबाइल ल्याउँछन्, जुन आँखाको लागि हानिकारक छ । आँखा सिँधै प्रभावित हुने कारणले आँखामा जलन, थकाई, सुख्खापन जस्तो समस्याका साथ आँखाको पावर बढ्छ र चश्माको आवश्यकता पर्न थाल्छ । यस्तै फोन चलाउँदै बालबालिकाले आँखा कम झिम्क्याउने गर्दछन् । जसका कारण कम्प्युटर विजन सिन्ड्रोम हुन थाल्छ । उनीहरु कार्टुनको नक्कल गर्न थाल्छन् । कहिलेकाहीँ हिंस्रक र आक्रामक पनि हुन थाल्छन् । पबजी गेम खेल्दाखेल्दै कति बच्चाहरुलाई असर परेको सुनिँदै आएको छ ।

तर, के गर्ने मोबाइलबाट हामी टाढा पनि हुन सक्दैनौं । किनभने यो आजको आवश्यकता पनि हो । त्यसकारण समयको माग अनुसार चल्नुपर्छ । हामी एकपटक सोचौं कि हाम्रो बच्चा मोबाइल न चलाओस्, पढाईमा मात्र ध्यान लगाउन तर त्यो कठिन छ । त्यसकारण मातापिता दुबै सल्लाह गरेर दिनमा दुई–तीन घण्टा मोबाइल चलाउन दियो भने केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर, हाम्रो परिवारमा के हुन्छ भने आमाले मोबाइल नदिएमा बुवाले दिने र बुवाले नदिएमा आमाले दिने गरिन्छ । त्यसो नगरी दुबैले दिनु हुँदैन । बालबालिकाको भावनात्मक नाटकलाई सहनु हुँदैन । जस्तो रुनु, खाना न खानु, निराश भएर एक्लै बस्नु जस्तो कुरामा धेरै ध्यान दिनुहुँदैन ।

बालबालिकालाई बाहिरी क्रियाकलापमा सक्रिय गराउनु पर्दछ । उनीहरुलाई बाहिरी खेल खेल्न प्रेरित गनुपर्दछ । बच्चाहरुको रुची अनुसार कुनै बाद्ययन्त्र सिक्न प्रेरित गर्नुपर्दछ । मायाप्रेम र नम्र तरिकाले बोल्नु पर्दछ । राम्रा–राम्रा चित्रकथाका किताब पढ्नका लागि प्रेरित गर्नुपर्दछ । सबैभन्दा अहम् कुरा हामी स्वयम् आफ्नो व्यवहार निहाल्नु पर्दछ । हामी बच्चाहरु पढ्नका लागि भन्छौ र स्वयम् टिभी हेरेर मोबाइल चलाएर बस्छौं जुन ठीक छैन । त्यसकारण बालबालिकासँगै आफूलाई पनि नियन्त्रण जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here